दार्चुलाका अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण

दार्चुलाका अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण

दार्चुला ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्धन केन्द्रको सहयोगमा दार्चुलाका अल्लो उद्यमीहरुलाई प्रविधि सहयोग गरिएको छ । जिल्लामा अल्लो उद्योग संचालन गरी व्यवसाय गर्दै आएका तीन जना उद्यमीहरुलाई प्रविधि सहयोग गरिएको हो । 

आइतबार नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले जिल्लाका अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्नुभएको छ । उहाँले जिल्लाको महाकाली नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका तीन जना अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण गर्नुभएको हो । 

कार्याक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले ग्रामिण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुलाई प्रवद्धन गर्नु जरुरी रहेको बताउनुभयो । साना, घरेलु तथा मझौला उद्योग भनेका ठूला उद्योगका निम्ति मेरुदण्ड भएको बताउँदै उहाँले सरकारले साना उद्योगहरुलाई पनि प्रोत्साहन गर्दै राष्ट्रिय उत्पादन र प्रतिष्पर्धामा जोड दिएको बताए ।
व्यापार तथा निकासी प्रवद्धन केन्द्रले करिब ७ लाख लागत बराबरका मेशिनरी सामाग्री हस्तान्तरण गरेको हो । उद्यमीहरुले ग्रामिण क्षेत्रमा साना उद्योग खोलेर व्यवसाय गरेको भएपनि प्रविधि नहुदाँ उत्पादन बढाउन नसकेको बताएका छन् । सरकारको प्रविधि सहयोगले व्यवसाय सञ्चालनमा सहजता हुने भन्दै उद्यमीहरु खुसी भएका छन् ।