महाकालीमा पुल नहुँदा जोखिमपूर्ण यात्रा

महाकालीमा पुल नहुँदा जोखिमपूर्ण यात्रा

बैतडी । महाकाली नदीमा पुल नहुँदा बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक र सीमावर्ती भारतीय नागरिक डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । विभिन्न धार्मिक कार्य र अन्य व्यक्तिगत कामका लागि दुवै देशका नागरिक एकअर्को देशमा आवतजावत गर्ने भएकाले डुंगाकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रही आएको नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउँदले बताए । 

साउनको उर्लदो महाकालीमा जोखिमपूर्ण यात्रा गरेर भारतीय दर्शनार्थीहरु बैतडीमा रहेको देवताल बाबाको दर्शनका लागि पुग्ने गरेका छन् । झुलाघाट बाहेक अन्य क्षेत्रमा झोलुंगे पुल नहुँदा सीमा क्षेत्रका नागरिकलाई समस्या हुने गरेको छ । अधिकांश भारतीयहरु धार्मिक स्थलहरुको दर्शनका लागि सीमावर्ती नेपालका गाउँ पुग्ने गरेका भएपनि महाकाली नदीमा पुल नहुँदा समस्या भएको छ । 

महाकाली नदीमा झोलुंगे पुल निर्माणका लागि दुवै देशका नागरिकले बेलाबेला आग्रह गरेको भएपनि अहिले सम्म पुल बन्ने कुनै सुरसार भएको छैन् । खास गरेर भारतले पुल निर्माणका लागि सहमति नदिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । महाकाली सीमा नदी भएकाले पुल निर्माणका लागि दुवै देशको सहमति आवश्यक हुन्छ । उनले भने ‘महाकालीमा पुल निर्माणका लागि एक पटक नेपालका तर्फबाट ठेक्का पनि भएको हो । तर भारतले सहमति नदिँदा पछि त्यो काम रोकियो ।’