बझाङको  ऐतिहासिक दरबार जिर्ण  बन्दै

बझाङको  ऐतिहासिक दरबार जिर्ण  बन्दै

बझाङ। बझाङमा रहेका तत्कालीन बझाङी राजाका दरबारहरू अलपत्र छन् । जिल्लाको ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका केही दरबार जीर्ण र धेरैजसो भग्नावशेषमा परिणत भइसकेका छन् ।संरक्षणका हिसाबले महत्त्वपूर्ण दरबारहरू बेवारिसे छोडिएको प्रति स्थानीयहरू चिन्तित छन्। बझाङ राज्यको प्रादुर्भाव भएको स्थानको रूपमा परिचित व्यासीकोट दरबार यिनैमध्येको एक हो।

तत्कालीन बझाङ राज्यसम्बन्धी विभिन्न शिलालेख, प्राचीन मूर्तिलगायतका विभिन्न पुरातात्त्विक र ऐतिहासिक सामग्रीसमेत रहेको उक्त दरबार अहिले बेवारिसे छ । करिब ७ सय ७३ वर्षभन्दा पहिले ९विसं १५०२ तिर०तत्कालीन बझाङी राजा शक्ति सिंहले उक्त दरबार निर्माण गर्न लगाएको विभिन्न शिलालेखहरूमा उल्लेख छ। साविक व्यासी गाविसको चौधानपाटा नजिकैको कोट डाँडामा रहेको उक्त दरबार बझाङ जिल्लाको नामाकरण सँग पनि जोडिएको छ।

यो दरबार रहेको डाँडामा पटक–पटक बज्रपात हुने भएकाले यस ठाउँलाई बज्राङ भनिएको र कालान्तरमा यही शब्द अपभ्रंश भएर यस जिल्लाको नाम बझाङ हुन गएको विभिन्न इतिहासकारहरूले दाबी गरेका छन् । यो डाँडाको मुनि सुन, अभ्रख, सितोपल, तामा र चुम्बकीय शक्ति भएका खनिजहरू रहेकाले चट्याङ पर्ने गरेको सेती अञ्चलको इतिहासबारे पूर्णप्रकाश नेपाल ‘यात्री’ ले लेखेको पुस्तक सेती अञ्चल दिग्दर्शनमा उल्लेख छ । बझाङमै निर्मित इँटा ९स्थानीय भाषामा पउ० द्वारा बनाइएको यो दरबार सुरुमा २५ कोठाको रहेको र १९९० सालको भूकम्पले क्षति गरेपछि तत्कालीन राजा देवीजंग सिंहले पुनर्निर्माण गरी १० कोठाको बनाएको स्थानीय बुढापाकाहरूको भनाइ छ ।
२०२३ सालमा आएको भूकम्पले हल्लाएपछि १० कोठे उक्त दरबारका केही भित्ताहरू चर्किएका थिए । २०५७ मा तत्कालीन विद्रोही माओवादी दरबारमा आगजनी गरेर त्यहाँ भएका केही धातुका मूर्तिहरूसमेत लुटेर लगेको दरबारको नियमित रेखदेख गरिरहेका स्थानीय इन्द्रबहादुर सिंहले बताए । भूकम्पमा परी भत्किएको उक्त दरबार संरक्षणका लागि २०५६ सालतिर स्वर्गीय राजा वीरेन्द्रकी बहिनी तथा बझाङी राजा दीपकजंगकी धर्मपत्नी शान्ति सिंहले व्यक्तिगत रूपमा ६ लाख खर्च गरेर जीर्णोद्धार गर्न लगाएका थिए । त्यसबेला दरबारको छानामा रहेका स्लेटहरू हटाएर जस्तापाता हालिएको थियो । ‘अहिले त झ्याल ढोकाहरू पनि भत्किसकेका छन्,’ सिंहले भने, ‘बाहिर रहेका शिलालेखमा समेत लेउ लागेर पुरिने अवस्थामा पुगेका छन् । यसको संरक्षणप्रति कसैको ध्यान गएको छैन,’ दरबारको जीर्णोद्धार नभए पनि छविसपाथीभेरा गाउँपालिकाले यो दरबार रहेको क्षेत्रलाई तारबार लगाएर संरक्षणको प्रयास गरेको छ ।

औसीं पूर्णिमाको बेला कोही कोही पूजा गर्ने मानिस यहाँ आए पनि अरुवेला कसैले वास्ता नगर्ने उनले बताए । यस दरबारको चारै तिर भगवती, ब्रजेश्वर, महादेव, मष्टा, कालाढुङ्गो लगायतका विभिन्न देवी देवताको मन्दिर छन् । कोट दरबारमा प्रत्येक वर्ष चैतेदशैं, गौरापर्व र बडा दशैंमा पूजाआजा गर्ने प्रचलन छ । बझाङी राजाहरूले यही दरबारबाट करिब चार सय बर्षसम्म राज्य संचालन गरेको विभिन्न अभिलेखहरूमा उल्लेख छ । मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले समेत केही समय यही दरबारमा राज्य सञ्चालन गरेका थिए ।

उक्त कोट दरबारमा १९७० देखि १९९० सम्म राजा देवीजङ्ग बहादुर सिंहले बझाङ राज्यको राजधानी स्थापना गरी शासन गरेको अभिलेख पाइन्छ । १९९५ मा राजा देवीजङ्ग बहादुर सिंहको मृत्युपछि १९९६ मा उनका जेठा छोरा रामजङ्ग सिंहले सोही दरबारमा मालपोत, कारागार, अदालत स्थापना गरी राज्य सञ्चालन गरेको ७५ वर्षीया स्थानीय प्रेम बहादुर सिंहले बताए । अग्लो ठाँउमा रहेको यो दरबार पाथिभेरे हिमाल, सुर्मालेक, नाम्पा हिमाल लगायतका हिमश्रृङखलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । हालको छबिसपाथिभेरा, दुर्गाथली, थलारा, सुर्मा गाँउपालिका र जयपृथ्वी नगरपालिकाको दृश्य समेत देखिने डाँडामा रहेको यो दरबारको जिर्णोद्धार गरि संरक्षण गर्न सके पर्यटनको केन्द्रको रुपमा पनि विकास गर्न सकिने स्थानीय बताउछन ।

भग्नावशेष बन्दै भोपुर दरबार

हाल अस्तित्त्वमा रहेको र संरक्षण नगरिए केही बर्ष भित्रै भग्नावशेष हुन लागेको अर्कार् ेपुरातात्त्विक महत्त्वको दरबार हो भोपुर दरबार । केही बर्ष अघिसम्म नेपाली सेनाले प्रयोग गर्दै आएको उक्त दरबार छोडेर सेनाको टुकडी नयाँ भवनमा सरेपछि दरवार अलपत्र परेको हो । मानिस बस्न छोडेपछि दरबार भित्रका कोठा, खोपी र बैठक कक्षको सिलिङका काठ खसिसकेका छन् । ग्यालरी र बरण्डामा ठूलाठूला भ्वाङ परेका छन । भित्ताहरू खुइलिएर दरबारको स्वरुप नै विग्रने अवस्थामा पुगेको छ । झ्यालको काठहरू पनि कुहिन लागेको छ । विभिन्न ठाउँमा लगाएको गारो खसेको छ । छाना चुहिने भएका कारण यो दरवार भत्किने अवस्थामा पुगेको छ ।