जयपृथ्वी नगरपालिकामा पुल हुदाँ हुदै पनि स्थानिय जाखिम मोलेर खोला तर्न बाध्य

जयपृथ्वी नगरपालिकामा पुल हुदाँ हुदै पनि स्थानिय जाखिम मोलेर खोला तर्न बाध्य

बझाङ। बझाङको जयपृथ्वी नगरपालिकामा पुल हुदाँ हुदै पनि स्थानिय जाखिम मोलेर खोला तर्न बाध्य छन । जिल्लाको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ।

पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ ।  करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य छन् ।

सडक कटानपछि वर्षैपिच्छे पुल अगाडि पहिराले क्षति गरेर जाने बाटो नभएकाले स्थानीयले पुल उपयोग गर्न  नपाएको स्थानीय खडक विष्टले बताए। पुल सञ्चालनमा ल्याउनुभन्दा पनि पुललाई स्थान्तरण गर्नुपर्ने स्थानीयको माग छ । उक्त पुल स्थान्तरण भएमा भण्डारका स्थानीयलाई सहजरुपमा अन्य वडा तथा सदरमुकाममा जान र अन्य वडाका स्थानीयलाई भण्डार क्षेत्रमा आउन सहज हुने जनाइएको छ ।

जयपृथ्वी नगरपालिका–३ पडेससँग प्रत्यक्ष सम्बन्ध भएको भण्डारका स्थानीयलाई उक्त पुल स्थान्तरण गरेमा सहज हुने देखिन्छ । जोखिम मोलेर खोला तर्दा दिनहुँ आफूहरुलाई समस्या हुने गरेको र धेरै वर्षा भएर खोला बढेको दिनमासमेत विद्यालय छुट्ने गरेको पाण्डु माध्यमिक विद्यालय पडेसमा कक्षा १० मा अध्यनरत छात्र विजय विष्टले बताए ।

भण्डार गाउँबाट हामी करिब ४० जना पढ्नका लागि खोला तरेर जान्छौँ । बर्खाको दुई, तीन महिना त हामीलाई साह्रै अप्ठ्यारो हुन्छ विष्टले बताए ।।” त्यस्तै सोही विद्यालयमा अध्ययनरत छात्रा समिता थापाले भने, “खोला तर्दा पोशाक, झोला, कापी, किताब सबै भिज्छन् अनि विद्यालय जानुभन्दा घरमै बस्छौँ । छोराछोरी विद्यालयबाट घर नफर्केसम्म बाटो हेरेर बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

बिहान विद्यालय जाने बेला र बेलुका विद्यालयबाट आउने बेलामा खोला तार्न एक जनाले दैनिक जानुपर्ने बाध्यता रहेको स्थानीय उकेश विष्टले बताए । वडाध्यक्ष डम्बरबहादुर सिंहले आफूलाई त्यो विषयमा स्थानीयले कुनै कुरा नगरेको र आफूलाई जानकारी नभएको जानकारी दिए । स्थानीयले आफूकहाँ माग लिएर आए उक्त विषयमा छलफल गरिनेसमेत उनको भनाइ छ ।