कैलाली-कञ्चनपुरमा २१ हजार बढी नयाँ मतदाता थपिए

कैलाली-कञ्चनपुरमा २१ हजार बढी नयाँ मतदाता थपिए

धनगढी । सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली कञ्चनपुरमा २१ हजार बढी नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मुलुकभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यबाट कैलालीमा  ११ हजार ४ सय ३० नयाँ मतदाता थपिएका हुन् ।

यस्तै उता कञ्चनपुरमा ९ हजार ८ सय २८ गरी २१ हजार २ सय ५८ नयाँ मतदाता थपिएका हुन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा ती मतदाता थपिएका हुन् ।

कैलालीमा एक मतदान स्थल पनि थप गरिएको छ भने तीन मतदान स्थल सारिएका छन्। अब मंसिर ४ गते हुने निर्वाचनको तयारीमा आयोग रहेको प्रदेश निर्वाचन आयोगका निमित्त प्रमुख प्रेम भट्टले बताए। जिल्लामा एक मतदान स्थल थपिएपछि कैलालीमा २ सय ३७ मतदान स्थल हुनेछन्।

जिल्लामा ३० राजनीतिक दल दर्ता रहेकाले उनीहरूका उम्मेदवारहरू हुनेछन्। तर सत्तारुढ दलले गठबन्धन गरेकाले उम्मेदवारको सङ्ख्या कम हुने देखिएको आङ्कलन गरिएको छ। अब कैलालीमा मतदाताको सङ्ख्या  ५ लाख ३६ हजार ५ सय ५५  पुगेको छ भने कञ्चनपुरमा ३ लाख ५१ हजार ८२ मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए।