एक वर्षमा तरकारीमा मात्र १० करोड बढी राजस्व संकलन

एक वर्षमा तरकारीमा मात्र १० करोड बढी राजस्व संकलन

धनगढी । भन्सार कार्यालय कैलालीले एक वर्षमा तरकारीमा मात्र १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा आलु, प्याज, टमाटरमा मात्र भन्सार कार्यालयले उक्त परिमाणमा राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालयका अनुसार ५१ करोड २८ लाख ९८ हजार मूल्यको आलु मा ७ करोड १८ लाख ३८ हजार ३६० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, ३ करोड ८५ लाख २४ हजार ६७५ मूल्यको टमाटरमा ५३ लाख ९३ हजार ७०६ रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी अम्बिका केसीले
बताइन ।

उनका अनुसार २० करोड ६ लाख ६ हजार ७६२ मूल्यको प्याजमा २ करोड ८ लाख १२ हजार ६९९ रुपैयाँ राजस्व संकलन भएको छ । सो भन्सार कार्यालयले पेट्रोल, डिजेल, एलपीजी ग्यासमा एक वर्षमा ५ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सारको कुल राजस्वको ६१ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थबाट आउने गरेको भन्सार कार्यालयको भनाइ छ ।

यसैगरी पेपरमा २५ करोड ३३ लाख ३१ हजार ९२१, टायलमा २१ करोड १६ लाख ३१ हजार ७९४ रुपैयाँ राजस्व संकलन भएको छ । चिनीमा १७ करोड १६ लाख १२ हजार १२ रुपैयाँ, चामलमा १३ करोड ३५ लाख ७२ हजार ९१५ रुपैयाँ राजस्व संकलन भएको केसीले बताइन ।

उनका अनुसार ट्याक्टरमा १२ करोड ५२ लाख १० हजार ३९० र कम्बलमा ९ करोड २३ लाख ९० हजार २४७ रुपैया राजस्व संकलन भएको छ । सो कार्यालयले लक्ष्यको ८१.४ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । सो आर्थिक वर्षमा ११ अर्ब ८२ करोड राजश्व असुलको लक्ष्य थियो ।

सो नाकाबाट कन्था, पिना लगायतका वस्तु निर्यातसमेत भएको छ । कत्थामा ४ लाख १४ हजार ७७७, कत्था ठोसमा १९ लाख ९० हजार ५४० रुपैयाँ राजश्व संकलन भएको जनाइएको छ ।

यस्तै, पिनाबाट १५ लाख ६९ हजार ५०० र खरी ढुङ्गाबाट ४५ हजार रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।