कैलाललीमा आहारा नपाएर मर्दै कान्जी हाउसका गाई

कैलाललीमा आहारा नपाएर मर्दै कान्जी हाउसका गाई

धनगढी  । धनगढी उपमहानगरपालिका–७, देवहरियास्थित कान्जी हाउस छाडा पशुचौपायले भरिभराउ छ। खुल्ला मैदानभित्र तारजाली र पर्खाल तथा टिनको टहराभित्र पशुचौपायाहरू राखिएका छन्। त्यसको केही पर जाँदा सामुदायिक वनको किनारमा लोपोन्मुख गिद्धको हुल देखिन्छ।

कान्जी हाउसमा मरेका गाईलाई त्यहाँ फालेपछि गिद्धहरूले सिनो खाइरहेका थिए। कान्जी हाउसमा गाईगोरुलाई उचित आहारा नभएपछि कमजोर हुँदै मर्ने गरेको जनाइएको छ। गाई हेरालु पृथ्वी रानाले भने, ‘यहाँ गाईहरूलाई खुवाउन भुस्सा र चोकर मात्र छ। घाँस नपाएपछि गाईहरू कमजोर बनिरहेका छन्।’

उनका अनुसार गाईलाई उचित संरक्षण गर्न चुनौति छ। आइतबार मात्र दुईवटा गाई मरेको उनले जानकारी दिए। दुई गाई मरेपछि सामुदायिक वन छेउमा राखिएको थियो। जहाँ गिद्धहरू गाईका सिनो लुछाचुँडी गरिरहेका थिए। गिद्धले सिनो लुछाचुँडी गरिरहेका ठाउँभरी मरेका गाईको हड्डी देखिन्थे।

उनले उपमहानगरपालिकाले धमाधम छाडा पशुचौपायालाई कान्जी हाउसमा ल्याउँदा बचाउन समस्या भइरहेको बताए। ‘पहिला यहाँ १८० मात्र थिए। जेठयता धमाधम गाईलाई यहाँ ल्याउने गरिएको छ। कहिले २० वटा, कहिले २५ गरि अहिले यहाँ ४०० गाई छन्’, रानाले भने, ‘चरिचरण गराउन लाँदा जंगलबाटै भाग्ने डर छ। हरियो घाँस काटेर ल्याउन सकिने अवस्था छैन। अहिले यहाँ भएको भुस्सा र चोकर दिइरहेका छौं। घाँस नपाएपछि गाई कमजोर भइहाल्छन्।’

आइतबार पनि धनगढी उपमहानगरपालिकाभित्र रहेका छाडा गाईलाई सो गौशालामा लगिएको छ। हरियाली मौसममा पनि गाईगोरुलाई खुल्ला आकाशमा तारजालीभित्र थुनिएको भन्दै स्थानीयबासीले चिन्ता व्यक्त गरेका छन्। स्थानीय रोहित गिरीले भने, ‘घाँस नपाएर गाईहरू मर्दा समेत उपमहानगरपालिकाले गौ संरक्षणमा ध्यान दिन सकेको छैन। हरियो घाँसको सट्टा थुनेर भुस्सा र चोकरमात्र खुवाइरहेको छ।’

गाई हेरालु राना गाईहरूलाई चरिचरण गराउन ठाउँ र जनशक्ति अभाव भइरहेको बताउँछन्। ‘सामुदायिक वनले आफ्नो क्षेत्रभित्र चरिचरण गराउन दिँदैन। यहीँ रहेको देवहरिया वनस्पति उद्यान क्षेत्रमा चरिचरण गराइरहेका छौं’, उनले भने। ४०० गाई भएपनि आफूले एक सय गाईलाई मात्र चरिचरण गराउन लग्ने गरेको राना बताउँछन्।

उनका अनुसार अन्य गाईहरू भुस्सा र चोकरकै भरमा थुनेर राखिएको छ। भुस्सा र चोकर पनि अभाव भइरहेको छ। यही चैतमा उपमहानगरपालिकाले पाँच डल्लप आठ ट्रली र मारवाडी सेवा समाजले सात ट्रली भुस्सा तथा सात कठ्ठा चोकर उपलब्ध गराएको थियो। त्यसयता गौशालामा गाई थप्ने काम मात्र भयो। गाईलाई चाहिने स्रोत साधनको व्यवस्थापनमा कसैको ध्यान नपुगेको उनले गुनासो गरे।

आइतबार गाई चराएर फर्किएका राना अन्य गाईलाई सोही भुस्सा र चोकर दिने तयारी गरिरहेका थिए। उनले भने, ‘पहिला यहाँ आठ जना हेरालु थिए। अहिले छ जना मात्र छौं। सबै गाइलाई जंगल चराउन लग्न बढी हेरालु राख्नुपर्ने देखिन्छ। नत्र चरिचरण गर्न नपाएका गाईहरू मर्ने जोखिम बढेको छ।’

२०७४ सालमा अस्थायी रुपमा सञ्चालनमा ल्याइएको सो कान्जी हाउसलाई हटाउन वनस्पति अनुसन्धान केन्द्रले पटक–पटक पत्राचार गरिरहेको छ। केन्द्रका प्रमुख गंगा दत्त भट्टले गौशालाका कारण देवहरिया वनस्पति उद्यान केन्द्रमा असर परिरहेको बताए।

‘छाडा पशुचौपायाको अस्थायी रुपमा व्यवस्थापन गर्न सहज होस् भनेर उपमहानगरपालिकालाई केही वर्षका लागि सहमति जनाई कान्जी हाउस सञ्चालन गर्न दिइयो’, उनले भने, ‘सम्झौता सकिएपनि उपमहानगरपालिकाले कान्जी हाउसको स्थायी समाधान भने निकाल्न सकेको छैन।’ उनले कान्जी हाउसमा रहेका गाईगोरुलाई उद्यानमा ल्याएर चरिचरण गराउँदा संरक्षित वनस्पतिहरू मासिन थालेको बताए।

भट्टले कान्जी हाउसमा रहेका गाईगोरुलाई सामुदायिक वन वा अन्य क्षेत्रमा चरिचरण गराउनुपर्ने बताए। ‘सामुदायिक वनले आफ्नो क्षेत्रमा चरिचरण गर्न दिँदैन। अनि त्यहाँ भएका हेरालुले उद्यानमा चरिचरण गराउँछन्। हामीसँग त्यति जनशक्ति पनि भएन। कर्मचारी अभावकै कारण रोक्न समस्या भएको छ’, भट्टले सुनाए। उनले काञ्जी हाउसका कारण त्यहाँका स्थानीयहरूले पनि उद्यान क्षेत्रमा चरिचरण गराइरहेको बताए।

रकम असुलेर गाई संरक्षण गर्ने संस्थालाई सेवा सुविधा
‘धनगढी उपमहानगरपालिकाबाट जेठ महिनामा ९२३ दिन० को सेवा सुविधाबापत प्राप्त भएको रकम ५५ हजार छ सय ८७ रुपैयाँ ८३ पैसा धनगढी उपमहानगरपालिका–३ स्थित गौ संरक्षण सेवा समितिलाई प्रदान गरियो। साथै प्रत्येक महिना सेवा सुविधामार्फत् आएको रकम सामाजिक संघ सस्थालाई हस्तान्तरण गरिने छ’, उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले पहिलो सेवा सुविधा पाएपछि दिइएको प्रतिक्रिया हो।

सरकारबाट सञ्चालित गौशालालाई जनशक्ति, स्रोत साधन अभाव झेलिरहेका बेला नगर प्रमुख हमालले घरभित्रका गाईलाई संरक्षण गर्ने संस्थालाई रकम सहयोग गरेकोमा गर्व व्यक्त गरे। सो संरक्षण समितिले सडकमा रहेका छाडा पशुचौपायालाई संरक्षण गरेर राख्ने भन्दै घर–घरबाट मुठ्ठीदान, उपमहानगरपालिका, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट रकम संकलन गरि भौतिक संरचना तयार गरेको थियो।

तर, अहिले सो समितिले सडकभन्दा पनि घरमा रहेका गाईलाई घरधनीबाट रकम लिएर संरक्षण गरिरहेको छ। सो समितिले गाई तथा बाच्छा राखेबापत प्रतिघरधनी वार्षिक चार हजार रकम लिने गरेको जनाइएको छ। नगर प्रमुख हमालले पहिलो सेवा सुविधा सो समितिलाई प्रदान गरेपनि अहिले उपमहानगरपालिकाले सडकमा रहेका गाईलाई समात्दै वडा नम्बर ७ स्थित देवहरिया पुर्‍याउने गरेको छ।

‘आइतबार साउन २२ गते सडकमा रहेका छाडा गाई एवं चौपायाहरूलाई देवहरियामा रहेको गौशालामा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी र सफाई कर्मचारीद्वारा पुर्‍याइयो’, नगर प्रमुख हमाललको सचिवालयले भनेको छ। नगर प्रमुखले नाफाजनक संस्थालाई सेवा सुविधावापतको रकम सहयोग गर्ने तर, सरकारले सञ्चालन गरेको गौशाला व्यवस्थापनमा ध्यान नदिएको स्थानीयबासीहरूको आरोप छ।