कैलालीमा किसान आन्दोलनको दोस्रो दिनः मुख्यमन्त्री कार्यालय अगाडी अण्डा र दूध

कैलालीमा किसान आन्दोलनको दोस्रो दिनः मुख्यमन्त्री कार्यालय अगाडी अण्डा र दूध

धनगढीः भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र राख्न माग गर्दै कैलालीका किसानले आज दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन्।

उनीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडी अण्डा, दूध र कुखुराका चल्ला राखेर विरोध प्रदर्शन गरेका छन्। संघीय सरकारले भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र राख्न गरेको प्रस्तावमा कैलाली छुटाएको भन्दै आपत्ति जनाउँदै आएका छन्।

कैलालीमा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापनाका लागी प्रदेश सरकारले चासो नदेखाएकाले कैलाली जिल्ला प्रस्तावमा नपरेको किसानको आरोप छ। प्रदेश सरकार किसानका समस्यामा भन्दा आफ्ना सेवा सुविधाको विषयमा मात्र केन्द्रित रहेको आरोप लगाउँदै उनीहरूले अण्डा, दूध र कुखुराका चल्ला राखेर विरोध जनाएका छन्।

कृषिमा सबल र प्रदेशलाई आत्मनिर्भर बनाउने कैलाली जिल्ला रहेको भएपनि सरकारले यहाँ पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र नराख्नु विडम्बना भएको किसानको भनाइ रहेको छ। प्रदेश ७ लाई कृषिबाटै आत्मनिर्भर बनाउने प्रदेश सरकारको योजना पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र सबै जिल्लामा राख्नु उपयुक्त हुने आन्दोलन संघर्ष समितिका संयोजक दिनेश लम्सालले बताए।

केन्द्रहरू कहाँ राख्ने भनेर प्रदेश सरकारलाई अधिकार भएपनि निर्णय गर्न ढिलाइ गरिरहेको उनको आरोप छ। कैलालीमा पनि सो केन्द्र स्थापना गर्न प्रदेश सरकारले चाँडो निर्णय गर्नु पर्ने उनले बताए। 

भेटेनरी अस्पताल तथा कृषि ज्ञान केन्द्र स्थापनाका लागी कैलालीका किसानहरूले आइतबार देखि आन्दोलन सुरु गरेका हुन। आफ्ना माग पुरा नभएसम्म उनीहरूले सरकार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।