सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत बनौ,नेपालमा साढे चार हजार बढी प्रयोगकर्ता पिडित

सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत बनौ,नेपालमा साढे चार हजार बढी प्रयोगकर्ता पिडित

काठमाडौ‌ । साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्‍यो। पीडित महिलाले आफ्नो अन्तरंगको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेकी थिइन्। 

सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘आईडी’मार्फत पीडित महिलालाई  ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। चिनजान नभए पनि महिलाले सहजै स्वीकार गरिन्। उनीहरु फेसबुकमा साथी बने। कुरा हुँदै गएपछि उनीहरु नजिकिँदै गए। सबै कुरा एकअर्कालाई शेयर गर्न थाले। उनीहरु यतिसम्म नजिक भए कि आफ्नो निजी तस्बिरएकअर्कालाई पठाउनेसम्म गर्न थाले। 

योजनाबद्धरुपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सट’ लिएर राखे। केही समयपछि युवकले ती महिलालाई उक्त सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाले। कहिले आफैँले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले। 
    
अश्लिल भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बर मानसिक यातना दिन थाले। यति गर्दासमेत आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले। 

उक्त घटनापछि पीडित महिलाले दिएको उजुरीमार्फत गत साउन २४ गते साइबर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथलालाई पक्राउ गर्‍ यो। प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर गरेको छ। 

यस्तै नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गर्यो।

‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’मार्फत अश्लीलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप उनी पक्राउ परेका हुन्। उनीलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले मुद्दा चलाएको छ। 

यी घटना प्रतिनिधिमूलक मात्रै हुन्। सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम बढेको छ। सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लीलता प्रदर्शन गर्ने, ‘बेवसाइट ह्याक’ गर्ने, अनधिकृत रूपमा नग्न तस्बिर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्यूरोमा उजुरी बढेको छ। 

फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायत थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्यूरोको तथ्यांकले देखाएको छ। साइबर ब्यूरोको तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्विर सामुन्ने आउँछ।

आर्थिक वर्ष २०७८्७९ मा मात्रै साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा चार हजार ६८६ उजुरी दर्ता भएका थिए। तीमध्ये सबैभन्दा बढी फेसबुक र म्यासेन्जरमार्फत पीडित बनेकाको छ। यो समस्या पीडित भएकाको सङ्ख्या तीन हजार ९५६ रहेको जानकारी साइबर ब्यूरोले उपलब्ध गराएको छ। 

यी दुईपछि सबैभन्दा बढी उजुरी टिकटकबाट पीडित हुनेले दिएका छन्। यसमा उजुरी दिने ३०७ छन्। यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजुरीको संख्या १२७ रहेको छ। गत आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या चार हजार ६८६छ।  
    
आव २०७७-७८ मा फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको संख्या तीन हजार४५१ रहेको छ। त्यस्तै टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको संख्या ९६ छ। उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको संख्या तीन हजार ९०६ पुगेको देखियो। 

आव २०७६÷७७ मा भने फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको संख्या दुई हजार २५० रहेको छ। त्यस्तै टिकटकमा चार, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या १५ छ। उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको संख्या दुई हजार ३०१ पुगेको साइबर ब्यूरोबाट उपलब्ध तथ्याङ्कले देखाएको छ। 

सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पीडित भएको भन्दै उजुरी परेको आधारमा सो कार्यालयले तीन आवमा २५८ मुद्दा दर्ता गरेको छ। फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट पीडित बनेको भन्दै प्रहरीमा परेको उजुरीको आधारमा साइबर ब्यूरोले आव २०७८्७९ मा १३२ मुद्दा दर्ता गरेको थियो। त्यस्तै आव २०७७्७८ मा ७६ र २०७६्७७ मा ५० वटा मुद्दा ब्यूरोले जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको हो।  

तीन आर्थिक वर्षमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ परेर मुद्दा चलाएको १८४  पुरुष र १६ जना महिला गरी २०० छन्। जसमा क्रमशः आव २०७८\७९ मा ९७ पुरुष र १५ महिला, आव २०७७्\७८ मा ५० पुरुष र आर्थिक वर्ष २०७६्\७७ मा ३७ पुरुष र एक महिला पक्राउ गरेका थिए। 

तुलनात्मकरुपमा बढेको विद्युतीय अपराधको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पशुपतिकुमार रायले नागरिकमा साइबर अपराधसम्बन्धी चेतनास्तर बढ्दै भएकाले पनि उजुरी पर्नेको क्रम बढेको बताए।  उनले साइबर अपराधबाट बच्न नागरिक सचेत र चनाखो हुनुपर्ने बताए।