धनगढीमा २५ सय बढी इ-रिक्सा सञ्चालनमा, नेपाल बन्दको दिन एक 'अटो'लाई आठ सय बढी घाटा

धनगढीमा २५ सय बढी इ-रिक्सा सञ्चालनमा, नेपाल बन्दको दिन एक 'अटो'लाई आठ सय बढी घाटा

धनगढी । आज मंगलबार नेकपा विप्लवले विभिन्न माग राख्दै नेपाल बन्द घोषणा गरेको थियो । नेपाल बन्दको दिन सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी बजारमा सुरक्षा व्यवस्था कडा पारिएको भए पनि बजारमा भने बढी जसो सटर डाउन अर्थात् बन्द नै देखिन्थे । भने नागरिकहरूको आवतजावत पनि सामान्य मात्रै रहेको थियो ।

यही परीपेक्षमा सवारी साधन पनि न्यून चलेका थिए । भने अटो व्यवशायीहरुलाई अटो चलाउन त्यति कडाइका साथ रोक नलगाइएकाले ई-रिक्सा लगायतका रिक्साहरू सञ्चालनमा रहेका थिए । 

विगत आठ देखी नौ महिना यता विद्युतीय रिक्सा चलाउँदै आएका छन्, धनगढीका नरबहादुर बुढा । बन्दको दिन पनि उनी धनगढी स्थित पार्क मोड बाट एक जना यात्रु बोकेर चौराहा तर्फ दैनिक जसो आफ्नै चालमा हीनेका थिए । अन्य दिनको जस्तो सुरक्षित महसुस नगरेका उनले मनमा डर बोकेरै विद्युतीय रिक्सा चलाई रहेको बताए । 

नेपाल बन्द लगायतका यस्ता बन्दले विद्युतीय रिक्सा चालक तथा अन्य दिनभरि मेहनत गरेर साँझ चुलो बाल्नेहरूलाई कस्ता समस्या पर्दा रहेछन् ? नेपालीले चाड बाड जस्तै बन्द हुन लागेको टिप्पणी गर्न थालेको र नियति नै त्यस्तै बनाई सकेको बन्दले कस्तो घाटा बेहोर्नु परिरहेको छ ? भनी बुझ्दा नेपाल बन्द लगायतका अन्य बन्दको दिन धनगढीका अटो व्यवसायीलाई (न्यूनतम) कम्तीमा पनि आठ सय बढी घाटा हुने तथ्य थाहा पायौँ । 

बुढाका अनुसार दिन भरी विद्युतीय रिक्सा र पेट्रोल रिक्सा चलाएर बढी कमाउने पनि हुन्छन् अरे तर हामीले न्यूनतम एक इ-रिक्सा चालकले कति कमाऊ छ भनी जान्नु थियो । दिनभरिमा न्यूनतम (सबै भन्दा कम) कमाई हुने दिन र कम आम्दानी गर्नेहरूले कति कमाऊ छन् ? भनी बुझ्दा एक दिनमा बिहान पाँच बजे पछि र आठ बजे सम्म न्यूनतम बाह्र सय रुपैयाँ अर्थात् एक हजार दुई सय कमाई हुँदो रहेछ । 

योभन्दा पहिलेका बन्द अनुभव, यात्रुहरूको आवतजावत हेर्दा आज दिनभरि सामान्य अरू दिनको भन्दा दुई हिस्सा कम चार सयको हाराहरिमा कमाई हुने उनको आँकलन थियो । यसो हो भने सोझै आठ सय घाटा लाग्ने स्पष्ट छ । 
बुढा भन्छन्, “नेपाल बन्दको बेला कति बेला कसले के-भन्ने हो डर नै हुन्छ, मनमा । अझ यात्रु नमिले र रित्तै अटो घुमाई राख्नु पर्छ । सारै सास्ती खेप्नु पर्छ । बन्दको दिन बालबालिका पनि घरमै बस्छन् । उनीहरूको पढाइमा बाधा त पुग्ने नै भयो । झन् खर्च पनि बढ्छ । यता कमाई हुँदैन घरमा खर्च बढी हुन्छ । त्यो कसले बुझ्छ र ?”

बुढा त्यतिमै रोकिएनन् बन्द कर्तालाई आग्रह गर्दै भने,“यसरी सडक बजार बन्द गरेर कसलाई घाटा हुन्छ ? दैनिक हामी जस्तो काम गरी खाने वर्गलाई ? सडकमा आन्दोलन गर्ने नागरिकलाई सास्ती दिएर माग पुरा हुने त जनता पिडामा भएको हेर्न नसक्ने शासक सरकारका भए हुने थियो सायद, अहिलेका सरकारमा भएका नेताहरूलाई जनताले नचिनेका हुन र ? उनीहरूलाई केही फरक पर्ने वाला छैन ।  सक्नु हुन्छ ? साँच्चिकै माग पुरा गर्नकै लागी हो भने उनीहरूको कार्यालय, निवास, सरकारी कार्यालय बन्द गर्नुस् । कृपया हामीलाई भोकै राखेर केही हुनेवाला छैन । आन्दोलनको तरिका बदल्नुस् उनीहरूलाई जनकारबाही गर्नुस् । भ्रष्टाचार र बाडी चुँडी खान पल्केका नेताहरूको आँखा खुल्ने काम गर्नुस्” उनले भने । 
हामीले उनलाई आज दिनभर जसो सामाजिक सञ्जालमा चर्चामा रहेको विषय, जो बस किन चलाएको भन्दै बस रोक्ने र ढुङ्गा प्रहार गरी सिसा फुटाउने आन्दोलन, बन्दकर्तालाई  चालक तथा स्थानीय मिलेर राम धुलाई गर्नु उचित/अनुचित के लाग्यो भनी पनि प्रश्न गर्‍यौ । यसमा उनको जवाफ थियो, “स्पष्ट सूचना नदिई बाध्यता नबुझी दुःख मात्र दिनेलाई छोड्न हुन्न ठिक गर्‍यो ।”

यस्तै, अटो, ट्याम्पो तथा इ-रिक्सा चालक संघ कैलालीका अध्यक्ष मीन राज जोशीले इ-रिक्सा चालक नरबहादुर बुढाको दिन भरी  इ-रिक्सा चालकले आम्दानी गर्ने कुरामा सहमति जनाउँदै धनगढीमा सञ्चालनमा रहेका दुई हजार पाँच सय बढी ई-रिक्साहरूका चालकहरू मध्ये कयौँले अटो भाडामा लिएर चलाउने गरेकोले सबै कमाएको पैसा आफै सँग नरहने हुँदा नेपाल कन्द होस् या अन्य बेला झन् सास्ती खेप्नु परिरहेको बताए । उनले भने, “धनगढी उप-महानगरपालिकामा सञ्चालन गर्ने गरी दर्ता भएका एक हजार पाँच सय, अन्य कैलाली जिल्ला भरी टीकापुर, लम्की चौमाला लगायतका क्षेत्र र महेन्द्रनगर लगायतका अन्य क्षेत्रमा दर्ता भई धनगढीमा सञ्चालनमा आएका एक हजार बढी इ-रिक्सा गरी दुई हजार पाँच सय बढी दैनिक सञ्चालनमा रहेका छन् । कमाइको विषयमा भन्ने हो भने धेरै जसोले भाडामा लिएर अटो चलाउने गरेको हुँदा उनीहरूलाई आर्थिक समस्या अझ बढी हुन्छ ।”

त्यस्तै, कुनै पनि माग राख्दा अथवा सरकारले सम्बोधन गरोस् भन्ने हेतुले बन्द अथवा नेपाल बन्द गरिएको हो भने बजार र सवारीसाधन तथा जनतालाई दुःख नदिईकन सरकारी कार्यालय सरकारका रहेका व्यक्तिहरूका गतिविधिमा रोक आउने गरी बन्दका कार्यक्रम गरे त्यसको प्रभाव पर्ने जोशीको बुझाई छ । उनले पनि नागरिकलाई दुःख दिएर, गरिखाने व्यक्तिहरू लाई भोक(भोकै राखेर समस्या समाधान नहुने हुँदा सम्भव भए सो कार्य नगरिदिन आग्रह गरेका छन् । 
बुढा र जोशीले भनेको तथ्यलाई आधार मान्न हो भने धनगढीमा दुई हजार बढी ई-रिक्सा सञ्चालनमा रहेछन् । तिनबाट सामान्य दिनमा सबै भन्दा कम आम्दानी गर्ने एक व्यक्तिले एक हजार दुई सय नेपाली रुपैयाँ आम्दानी गर्दा रहेछन् । सामान्य हिसाब गरौँ धनगढीमा सञ्चालित दुई हजार पाँच सय अटोले दैनिक ३० लाख रुपैयाँको आम्दानी अथवा व्यापार गर्दा रहेछन् । 

यसो हो भने मात्रै आज मंगलबार नेपाल बन्दको दिन धनगढीका कयौँ इ-रिक्सा चालकहरूले अटो नै चलाएनन् । ती मध्ये सबै भन्दा कम अर्थात् औसतमा एक जनाले चार सय मात्रै कमाए छ भने १० लाख मात्रै कमाए छन् सायद । २० लाख अटो व्यवशायमा धनगढीमा मात्रै घाटा भएको छ । भने अन्य व्यापारमा कति घाटा भयो होला त्यो पनि देश भरी ? यो घाटा कसले व्यहोर्ने ? लापरवाह सरकारले अथवा बन्द कर्ता विप्लव समूह एण्ड कम्पनीले ? ....