धनगढी ५ हसनपुरमा श्री सिद्धि विनायक गणेश मन्दिरको अनावरण

धनगढी ५ हसनपुरमा श्री सिद्धि विनायक गणेश मन्दिरको अनावरण

धनगढी । धनगढी उप-महानगरपालिकाको वडा नं. ५ मा श्री सिद्धि विनायक गणेश मन्दिर अनावरण गरिएको छ । बुधवार गणेश चतुर्थीको अवसरमा विभिन्न धार्मिक अनुष्ठान र विधि विधान सहित धनगढी उप-महानगरपालिका ५, हसनपुर स्थित पन्चोदय मा.वि. को पश्चिम गेट नजिक श्री सिद्धि विनायक गणेश मन्दिरको शुभारम्भ अर्थात् अनावरण गरिएको हो । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुबेर बहादुर शाहीका अनुसार गणेश पाञ्चायन देवी देवताको मूर्तिको प्राण प्रतिष्ठा तथा अनावरण गरी विधिवत् रूपमा मन्दिरको पूजा अर्चना साथमा मन्दिरको शुभारम्भ गरिएको थियो । 

उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, स्थानीय श्रद्धालु भक्तजनहरू, हरितालिका तिज र गणेश चतुर्थीका व्रतालुहरू लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

यस अवसरमा स्वस्ति वाचन, रुद्राष्टाध्यायी, श्री सप्तशती, शान्तिकाध्याय, श्री गणेशको महामन्त्र जप, शंखध्वनी सहित विभिन्न धार्मिक विधि विधान अनुसार मूर्तिको प्राण प्रतिष्ठा गरिएको साहित्यकार एवं धार्मिक व्यक्तित्व वासुदेव पाण्डेले बताए   ।

विभिन्न भजन कीर्तन, आरती, प्रसाद वितरण सहित नित्य, नैमित्य पूजा हुने गरी सबै आम सर्वसाधारण श्रद्धालु भक्तजनहरूका लागी नियमित पूजा शुभारम्भ गरिएको मन्दिर समितिका सचिव बहादुर सिंह कार्कीले बताए ।

यस्तै, श्री सिद्धि विनायक गणेश मन्दिरमा भोलि बिहीबार ऋषि पञ्चमीको अवसरमा बर्तालु भक्तजनहरूका लागी विशेष पूजा, अनुष्ठानको व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।