दार्चुलाका एक बाढीपीडितको बयान: राज्यबाटै निरीहपनको महसुस भईरहेछ

दार्चुलाका एक बाढीपीडितको बयान: राज्यबाटै निरीहपनको महसुस भईरहेछ

-अमर महरा । शुक्रबार रातिदेखि लगातार मुसलधारे पानी परिरहेको थियो । बादलको गडगडाहट र चट्टयाङको आवाजले हामी राति डेढ बजे बिउझियौं । घरमा हामी ५ जना थियौं । 

उठेलगत्तै हामी तल नदी (लास्कु खोला) हेर्न लाग्यौं । त्यसबेलासम्म पानी बाँधभन्दा तलपट्टी नै थियो । तर हेर्दाहेर्दै पानी बढ्दै गयो । पूरै बगर पानीले भरिन लाग्यो र अब घरबाट निस्किनुपर्छ भन्दै हामी हतारहतार घरबाट निस्कियौं । 

पानी भरिएर आइसकेकाले हामीले घरबाट डक्युमेन्टबाहेक केही निकाल्न पाएनौं । आत्तिएका बेला समानभन्दा ज्यानको मायाँ बढी हुनेरैछ । एकसरो लगाएको लुगाबाहेक केहीपनि नलिईकन हामी भाग्यौं । 

खोलाले छेउका घरहरु भत्काउदै लग्यो । हेर्दाहेर्दै आखाँ अगाडि ४ बजेतिर मेरो घरपनि भत्कियो । वर्षौको मिहिनेतले बनाएको दुईतल्ले घर पानीसँगै बगेको टुलुटुलु हेर्नुभन्दा हाम्रा अगाडि केही विकल्प थिएन ।  

आपतकालिन टोलीले ढिला गर्‍यो
यो जमिन पहिले मेरा बुबाले बनाइदिनुभएको थियो । त्यसैमा मैले जेनतेन गरेर एक तल्ला घर बनाएको थियो । गत कोरोनाकाबेला मैले र श्रीमति लिएर ढुंगा, गिट्टी, बालुवा जम्मा गर्दै माथिल्लो तल्ला थपेको थिए । २०७० सालमा आएको बाढीपछि खोलामा नयाँ बाध बाधिएको थियो । नयाँ बाँध भएकाले अब खोलाले कटान गर्दैन भनेर दोस्रो तल्ला थपेका थियौं । त्यो घरबाहेक मसँग आम्दानीको अरु कुनै स्रोत छैन । 

डेढ बजे उठ्ने बित्तिकै खोला थालेकाले हामीले प्रहरीलाई फोन गरिसकेका थियौं । डिएसपी साप जिल्ला बाहिर हुनुहुँदो रहेछ । त्यसपछि १०० मा फोन गर्यौ । नदीले कटान सुरु गरेको खबर दियौं । विपद व्यावस्थापन प्रतिकार्य टोलीलाई तत्काल खबर गरिदिन भन्यौं । तर १० मिनेटमा दूरीमा रहेको टोली डेढघण्टापछि ३ बजेमात्रै आइपुग्यो । उहाँहरुलाई तयार हुन ३० मिनेट लाग्थ्यो होला । अलि चाँडो आइदिएको भए हामीले घरबाट केही सामान निकाल्न पाउँथ्यौं । १० मिनेटको बाटोमा पुग्न डेढघण्टा लगाइदिँदा हामीले थप क्षति ब्यहोर्नुपर्यो । 

यस्तो विपद्मा हामीले जसबाट आडभरोसाको अपेक्षा गरेका हुन्छौं । उहाँहरुले नै समयमा कदम नचलाउँदा हामी निराश बन्यौं । एकसरो लुगाकपडा, एकसरो ओढ्ने बिछ्याउने अनि तत्काल खानाका लागि एक जोड भाडा कुँडा निकाल्न सकिन्थ्यो । तर प्रशासनले ढिलाई गरिदिदा हामी निरीह भयौं । आखाँ अगाडि घरसँगै जयाजेथा बगिरहेको टुलुटुलु हेरिरह्यौं । घरबाट एक सिन्को पनि निकाल्न पाइएन । 

अहिलेसम्मको मिहिनेत सबै पानीमा गयो । २०७० सालकै बाढीबाट घरबार गुमाएकाले त केही पाएका छैनन । अब हामीले के आशा गर्ने ? चुनावका मुखमा मन्त्री, नेताका लागि यो एउटा मुद्दामात्रै भएको छ । 

दैनिक उपभोग्य वस्तुकै अभाव
अहिले हामी समन्वय समितिमा पालमा बसिरहेका छौं । पानीको मुहानहरु पनि बाढीले बगाएका पानीकै समस्या परेको छ । राति परेको पानी जम्मा गरेर खाने, खाना पकाउँने, ट्वाइलेटका लागि प्रयोग गरिरहेका छौं । 

यहाँ बच्चाबच्ची देखि बृद्धबृद्धा समेत छन् । सबैथोक अस्तव्यस्त छ । पहिले त दैनिक उपभोग्य वस्तुहरु चामल, पिठो, चिउरा, चाउचाउ कै व्यवस्थापन गरिदिएको भए हुन्थ्यो थियो । त्यसपछि बच्चाबच्ची र बृद्धबृद्धा भएकाले ओडने र बिछ्याउने चाहिएको छ । एकलट खाना पकाई खानका लागि भाडाकुडाको तत्काल आवश्यकता परेको छ । यति सामानको व्यवस्थापन हुन सके बरु बस्ने व्यवस्थापन, कोठाको आफै कतै जोहो गथ्र्यौ । अहिले त अत्यावश्यक समानको जोहो नगरिदिने राज्यले पछि के गर्ला भन्नेमा अपेक्षा गर्ने? 

नेपाल सरकार के नै गर्ला र? हामीले केही आशा गरेका पनि छैनौं । 

नेपालसरकारका उधोग आपुर्ती वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडु आर्मीको हेलिकोप्टरमा आउनुभएको थियो । उहाँ पनि एउटा संस्थाको राहत वितरणमा सहभागी भएर जानुभयो । उहाँ नेपाल सरकारको क्याबिनेट मन्त्री, न सरकारका तर्फबाट केही बोल्नुभयो न केही गर्नुभयो । 

हिजो रेडक्रसले एउटा त्रिपाल र ब्लांकेट दिएको छ । सिआरडिएस संस्थाले एक कट्ठा चामल, पाँच केजी दाल र २ केजी नुन दिएको छ । न नगरपालिकाबाट कोही आएका छन्, न प्रशासन न प्रदेश सरकारबाट । दुई दिन भईसक्यो प्रशासनले लगत संकलन पनि गरेको छैन । कति घरमा क्षति भयो, कुन घरको घरधनी कोहो? कोही सोध्न आएको छैन् भनेर पनि प्रशासनले एउटा पनि तथ्यांक लिएको छैन् । विपदका बेला राज्य तथा सरकार नागरिकप्रतिको यो किसिमको  गैरजिम्मेवारीले निरीह महसुस भईरहेको छ ।   

आफू बाचियो, परिवारमा मानवीय क्षति भएन । त्यसैमा चित्त बुझाई रहेको छु । सम्पत्ती त फेरि पनि जोडौंला । जिरोबाट मेहनत गरौंला । 

(दार्चुलामा आएको बाढीले ५ जना मृत्यु भईसकेको छ भने १० बेपत्ता बेपत्ता छन् । ४२ घर बगिसकेको छन् भने ४० घर उच्च जोखिममा छन् ।)