खेलकुदका नाममा बजारमा बदनाम गर्ने र पैसा कमाउने धन्दा बनाउने क्लबलाई कारबाही गर्छौ: सिंह

खेलकुदका नाममा बजारमा बदनाम गर्ने र पैसा कमाउने धन्दा बनाउने क्लबलाई कारबाही गर्छौ: सिंह

धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक ब.सिंहले  खेलकुदका नाममा बजारमा बदनाम गर्ने र पैसा कमाउने धन्दा बनाउने क्लबलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सिंहले पि.एफ.ए स्पोटर्स क्लबले धनगढीमा सुदूरपश्चिम प्रदेश राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना बारे जानकारी दिन गरेको पत्रकार सम्मेलन मार्फत खेलकुद सफलताका साथ सम्पन्न गर्न शुभकामना दिँदै यस्तो चेतावनी दिएका हुन् । 

उनले अहिले नाम नलिए पनि केही क्लबहरूले खेलकुदका नाममा पैसा उठाउने तर उक्त प्रतियोगिता आयोजना गर्दा होटेलमा खाएको खानाको पैसा समेत नतिर्ने प्रवृत्तिले आफू कहाँ गुनासो आएको बताएका छन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले खेल क्षेत्र र खेलाडीको वृद्धि, विकास तथा मनोबल बढाउन उक्त क्लबहरूलाई खेलकुद प्रतियोगिता आयोजना गर्न रकमको व्यवस्था गर्ने गरेको भए पनि केही क्लबहरूले पैसा कमाउने धन्दा मात्रै बनाएको र बजारमा बेइज्जत गर्ने काम मात्रै गरेको प्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

सदस्य सचिव सिंहले खेलकुद क्षेत्रमा बेथिति मच्चाउने त्यस्ता क्लबहरूलाई गल्ती सुधार्न दुई महिनाको समय दिने र त्यति गर्दा पनि अटेरी गरे क्लबको आबद्धता खारेज हुने गरी जिल्ला फुटबल सङ्घ कैलाली र केन्द्रलाई चिठी लेखी पठाउने चेतावनी दिएका छन् ।

उनले भने, "खेलकुद परिषद्ले जुन क्लब तथा संस्थाहरू सँग सहकार्य अथवा सहयोग गरेको छ त्यो नितान्त खेलकुद क्षेत्रको वृद्धि विकासको लागी हो । खेलाडीको मनोबल बढाउनको लागी हो । अहिले केही क्लबहरू परिषद्को उद्देश्य विपरीतका कार्यहरू गरिरहेका छन् । दुई महिनाको टाइम दिन्छौँ । सुधारको लागी । भएन भने त्यस्ता गलत गर्ने क्लबहरूलाई कडा कारबाही गर्छौ । आबद्धता खारेज हुने गरी जिल्ला फुटबल सङ्घ कैलाली र केन्द्रलाई चिठी लेखी पठाऊँ छौँ । कडा कारबाही मा उत्रिन्छौँ । आर्थिक उपार्जनका लागी क्लबहरूले बजारमा गरिएका गतिविधिहरू कदापि सह्य हुँदैनन् ।"