मोबाइल दर्ता गर्ने प्राधिकरणको वेबसाइटमै समस्या

मोबाइल दर्ता गर्ने प्राधिकरणको वेबसाइटमै समस्या

काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको छ। हालै प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस पनि लागू गरेको छ। प्राधिकरणमा आइएमइआई दर्ता भएका नम्बर मात्रै एमडिएमएसमा पनि दर्ता हुने व्यवस्था छ। 

यसो हुँदा प्राधिकरणले पटकपटक आइएमइआई दर्ता नभएका मोबाइल दर्ता गर्न निर्देशन दिइरहेको छ। आइएमइआई नम्बर प्राधिकरणको https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ।

तर यति बेला प्राधिकरणको यो वेबसाइटमै समस्या देखिएको छ। दर्ता गर्न व्यक्तिको नाम, आइएमइआई, मोबाइलको ब्रान्ड, मोडल नम्बर, ठेगाना, सम्पर्क नम्बर, इमेल आइडी र नागरिकता, पासपोर्ट वा व्यक्तिको पहिचान खुल्ने परिचय पत्रको नम्बर भरेर यसको फोटो समेत अपलोड गर्नुपर्ने हुन्छ। यो सबै गरेर सबमिटु गर्दा वेबसाइटले कुनै संकेत नदिएको सेवाग्राहीहरूको गुनासो छ। 

मलाई बहिनीले विदेशबाट फोन पठाएकी थिइन्। गत शुक्रबार मात्रै सिम हालेँ। आइएमइआई नम्बर दर्ता भएको थिएन, वेबसाइट नचलेको गुनासोमा एक सेवाग्राहीले भने, शुक्रबारदेखि नै नम्बर दर्ता गर्न खोजिरहेको छु। भइरहेको छैन। 

प्राधिकरणको वेबसाइटले राम्ररी काम नगरेका अन्य गुनासो पनि आइरहेका छन्। यसबारे हामीले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सोध्यौं।

उनले भने, देशभरका थुप्रै सेवाग्राहीले एकैपटक वेबसाइट चलाइरहनुभएको छ। नम्बर दर्ता गर्ने प्रयास गरिरहनुभएको छ। त्यसैले सिस्टममा समस्या आएको हो। यसबारे हाम्रो प्राविधिक समूहले काम गर्दै हुनुहुन्छ। दुई तीन दिनमा समस्या समाधान गर्नेछौं।

भदौ ३० गतेपछि प्राधिकरणले अवैध रूपमा वा विदेशबाट पठाइएकोरभित्र्याइएको फोन एमडिएमएस प्रणालीमा दर्ता गर्न १५ दिनको समयसीमा तोकेको छ। तर आइएमइआई नम्बर नै दर्ता नभई उक्त अवधिमा फोन एमडिएमएस प्रणालीमा कसरी दर्ता होला

यो प्रश्नमा प्राधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेले भने, हामी केही दिनमै समस्याको समाधान गर्नेछौं। आज नभए भोलिसम्म हुन्छ।

उनका अनुसार थुप्रै सेवाग्राहीहरूले आफ्नो आइएमइआई नम्बर दर्ता गरेर प्राधिकरणलाई जानकारी समेत गराइसकेका छन्। 

यो समस्या नसल्टिए विदेशबाट पठाइएका फोन एक्कासि ब्लक नहोलान् भन्न सकिन्न। यसो भए सेवाग्राहीले अर्को समस्या झेल्नुपर्ने हुन्छ। तर दर्ता भएपछि फेरि फोन चलिहाल्ने लामिछाने बताउँछन्।

फोन दर्ता गरेपछि प्रयोग गर्न सकिन्छ। ब्लकको अर्थ त्यो फोनमा सिम नचल्ने बनाउनु हो। फोन एमडिएमएसमा दर्ता भएपछि सिम चलिहाल्छ, सूचना अधिकारी लामिछानेले भने। 

एमडिएमएस लागू भएसँगै अब भन्सार छलेर, गैरकानुनी वा अवैध रूपमा भित्र्याइएका मोबाइल ब्लक गरिने भएको हो। प्राधिकरणले नेपालमा अनधिकृत रूपमा वा गैरकानुनी रूपमा मोबाइल फोनहरू आयात हुने समस्यालाई नियन्त्रण गर्न एमडिएमएस लागू गरेको हो। 

वैध रूपमा भित्रिएका फोनहरूको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। आइएमइआई नम्बर दर्ता हुनु भनेको एमडिएमएसमा फोन दर्ता हुनु हो। प्राधिकरणले भदौ ३० गतेसम्म जुनसुकै प्रकारले भित्रिएका र सिम हालेर चलाइएको फोनलाई ह्वाइट लिस्टमा राखेको छ। अर्थात् ती फोनहरू एमडिएमएसमा दर्ता भइसके। 

तर उक्त दिनपछि नेपालमा अवैध रूपमा भित्रिएका, विदेशबाट कसैले सँगै ल्याएको वा विदेशबाट पठाइएको फोनहरू भने दर्ता गर्न आवश्यक छ। यसको लागि सुरूमा व्यक्तिले आफ्नो फोनको आइएमइआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ। सिम प्रयोग हुने हरेक उपकरणमा १५ अंकको आइएमइआई नम्बर हुन्छ। यो नम्बर एकअर्कासँग मिल्दैन। 

तपाईंको फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल  https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ।