प्रदेश सभाको बैठकमा सुदूरपश्चिम लोकमार्ग विधेयक माथि समान्य छलफल

प्रदेश सभाको बैठकमा सुदूरपश्चिम लोकमार्ग विधेयक माथि समान्य छलफल

धनगढी : प्रदेश सभाको आजको बैठकमा सुदूरपश्चिम लोकमार्ग विधेयक माथि समान्य छलफल भएको छ । सभामुखको अनुमतिपछि भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले विधेयक माथि सामान्य छलफल होस भनि राखेको प्रस्ताव पारित भएपछि विधेयक माथि सामान्य छलफल भएको हो ।

विधेयक माथिको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सासंद भरत बहादुर खड्काले प्रदेशमा हाल सम्म बनिसकेका सडकहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौति रहेको बताउनुभयो । उहाँले हाल सम्म स्थानीय तहमा विना योजना बनेका सडकहरुले बिनास निम्त्याएकोले प्राविधिकको डिजाइन विना बन्ने सडकहरुलाई निरुत्साहित गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

विधेयक माथिको सामान्य छलफलमा भाग लिँदै नेकपाका सासंद लिलाधार भट्टले विधेयक पारित गरेर चाँडै राजपत्रमा प्रकाशित गर्नुपर्ने बताउनुभयो । उहाँले विधेयकले प्रदेश भित्रका सडकहरुका एउटै सडककमा सबै तहका सरकारले बजेट बिनियोजन गर्ने परिपाटीको अन्त्य गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

यस्तै नेकपाका सासंद महेशदत्त जोशीले प्रदेशमा सडक बनाउँदा जलविद्युत आयोजनाहरुलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउनुभयो । उहाँले आज सडक निर्माण गरेर भोली त्यसलाई भत्काउनुपर्ने अवस्था आएर लगानी खेर फाल्ने गरी निर्माण गरिने कुरालाई विधेयकले निरुत्साहित गरेकको बताउनुभयो ।

लोकमार्ग विधेयक माथि प्रदेश सभाको चैत २५ गते बस्ने अर्को बैठकमा बाँकी छलफल हुने सभामुख अर्जुन बहादुर थापाले सभामा जानकारी दिनुभयो ।