संविधान दिवसमा कैलालीमा ८ जना कैदीको सजाय मिनाहा

संविधान दिवसमा कैलालीमा ८ जना कैदीको सजाय मिनाहा

धनगढी । संविधान दिवसको अवसरमा कैलाली कारागारका ८ जना कैदीको सजाय मिनाहा गरिएको छ ।  सोमबार कैलाली कारागारमा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका   ८ जना कैदी कैदमुक्त गरिएको हो। 

जिल्ला कारागार कैलालीका प्रमुख जेलर नरबहादुर थापाका अनुसार हत्या अभियोगमा २० वर्ष जेल सजाय भएका धनगढीका रामबहादुर खत्री, बाँकेका नृप साउँद, केशव जाखा र कैलालीको जोशीपुरका विशाल चौधरीको कैद मिनाह गरिएको हो । उनीहरु ४ जनाले ९ वर्ष कैद सजाय भोगिसकेका थिए।

यस्तै, ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका कैलालीको जानकी गाउँपालिका का धनबहादुर शाही, गौरीगंगा नगरपालिका त्रिभुवन चन्द, सवारी ज्यान उद्योगका सुवास थापा र चुरे गाउँपालिकाका दिपक अधिकारीको पनि कैद सजाय मिनाह गरिएको छ ।

उनीहरु मध्ये ज्यान मार्ने उद्योगका चन्द र शाहीले ५र५ वर्ष कैद सजाय भएकोमा ४० प्रतिशत भुक्तान गरिसकेका थिए भने सवारी ज्यानका थापा र अधिकारीलाई ३/३ वर्ष कैद सजाय भएका उनीहरुको पनि आधा कैद मिनाह गरिएको छ ।

८ औं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न अभियोग कर्तव्य ज्यान मुद्दा मा कैद सजाय पाएका कैदीको बाँकी कैद मिनाह गरेकी हुन् । 

संविधानको धारा २७६, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर कैदकट्टा नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको जनाइएको छ।