डाक्टर केसी अनशनको त्यो २७औ दिन

डाक्टर केसी अनशनको त्यो २७औ दिन

भाद्र २९ गते जुम्लाको बाबिरामस्ट मन्दिरमा अनसन शुरु गरेका डाक्टर केसीलाई छैटौं रात प्रहरीले अपहरण र हातपात गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर छोड्यो l आफ्नो अनुमति बिना जबरजस्ती गरेको कारण केसीले आफू शारीरिक रुपमा कम्जोर भए पनि उपचार लिन मानेनन् l उसै प्रतिष्ठानको बेडमा क्षुब्ध भएर पल्टिरहे l तर सरकार केसीलाई जसरी पनि काठमाण्डौ ल्याउन चाहन्थ्यो l अत्याधुनिक उपकरण र जनशक्तिको अभावमा जुम्लामा केसी बसिरहे भने उनको ज्यान जोखिम पर्ने सम्भावना धेरै रहन्थ्यो अत लोकलाजमा छोपो टालो हाल्न सरकारको प्रयास केसीलाई काठमाडौँ ल्याउनु थियो l तर केसी सरकारीस्तरबाट गरिने आफ्नो उद्दार सहने पक्षमा थिएनन् l उनलाई यो चै हेक्का थियो विगतमा झैँ सरकारले गोली चलाएर,लाठीचार्ज गरेर, अश्रुग्यास हानेर समर्थकमाथि दमन गरेर भए पनि यो पालि पनि सरकारले जुम्लाबाट काठमाडौँ नलगि छोड्दैन l आफ्नो माग पुरा गरेमा आफ्नो उपचार आफै गर्ने र अनसन एक मिनेट पनि नबस्ने केसीको अडान थियो यद्दपि सरकार माग पुरा गर्ने होइन गलाएर, थकाएर, थर्काएर,उपेक्षा गरेर केसीले आफै अनसन त्याग गरेको हेर्न चाहन्थ्यो तर केसीको दृढता ,संकल्प ज्यान गुमाउनमन्जुरी गर्दै नझुक्ने अठोटका साथ अनशन शुरु भएको थियो l तर जुम्लामा बस्दा सरकारले गर्ने ज्यादती पुन दोहोरिएर आफ्ना समर्थक डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी लगायत सर्वसाधारणलाई गर्ने सम्भावित दमनले केसीलाई जुम्ला बस्दा हुने हानीबारे ख्याल थियो तसर्थ पारिवारिक सल्लाह बमोजिम केसी काठमाडौँ आउन राजी बने l

जुम्ला काठमाडौं सिधै हवाई सेवा उपलब्ध नभएकोले नेपालगंज हुदै काठमाडौँ आउने योजना बन्यो र उनलाई लिन पारिवारिक सदस्य हिमालय कार्कीलाइ असोज ६ गते नेपालगन्ज पठाइयो l जुम्लाबाट डाक्टर प्रविन गिरीको साथमा गोविन्द केसी अनशनको आठौं दिन अर्थात असोज ६गते नेपालगन्ज आएर भेरी अस्पतालमा बसे त्यसको भोलिपल्ट असोज ७ गते १२ बजेको उडानबाट काठमाडौँ एयरपोर्ट झरे l सरकारले उनको चाहना बमोजिम शिक्षण अस्पताल जानबाट बन्चित गरेर अपहरण र धरपकड गर्दै एक कुख्यात अपराधीलाई गर्ने झैँ ब्यबहार गरेर हातपात गर्दै,घोक्र्याउदै मुन्टयाउदै ट्रमा सेन्टर लग्यो l उनलाई गरिएको प्रहरी दुर्व्यहार हिमालय कार्कीले भिडियो खिचेको कारण पलभरमा नै संचार माध्यममा भाइरल बन्यो जसको कारण सरकारमाथि देश विदेशबाट निर्मम आलोचना र मानवता बिरोधि हर्कत एक सत्याग्राहीलाई गरेको दुर्व्यहारको चर्को निन्दा भयो अत सरकार ट्रमामा केसीलाई छोडेपछि बेखबर बन्यो l

उनको शिक्षण अस्पताल जाने चाहनालाई छेकबार गर्ने स्थितिमा रहेन l डाक्टर केसी सोही बेलुका अर्थात असोज ७ गते स्वेच्छाले डिस्चार्ज लिएर शिक्षण अस्पताल महाराजगंज पुगे l देश बिदेस चिनिएको सत्याग्रही परोपकारी, प्राध्यापक डाक्टर , हाडजोर्नीको नामुद विशेषज्ञ एक नागरिकको माग र पुकार सुन्न सरकार थोरै पनि तयार देखिएन  l केसीको पक्षमा पहिले झैँ सडकमा ठूलठूला प्रदर्शन पनि कोरोनाको कारण सम्भव भएन l विगतमा झैँ भव्य बिरोध र प्रदर्शन हुन सकेन जति गरे केही निष्ठावान मान्छेहरु र युवाहरुले माइतिघर मण्डलमा गरे l तर सामाजिक,भौतिक दुरी र स्वास्थ्य सुरक्षाका सबै उपाय अबलम्बन गरेर प्रदर्शन गरे पनि सरकारलाई त्यो सह्य भएन कयौ पटक प्रहरीले गिरफ्तार गर्यो l प्रदर्शनमा अबरोध गर्यो l

यद्दपि आफ्नो आचार संहिता जारी गरेर सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सको अगुवाइमा प्रितम सुबेदीले कार्यक्रम संयोजन दिनदिनै गरिरहेl जसमा सहभागिता विवेकशील दल,साझा पार्टी ,युथ काँग्रेस, नेबिसंघ र स्वतन्त्र व्यक्तिहरु अनि गोविन्दलाई माया गर्ने उनको माग आफ्ना सन्ततिको लागि सम्झने आम मान्छेहरु प्रदर्शनमा निस्किए l सरकारको र आम नेपालीको ध्यान आकर्षण गर्ने कार्यक्रम बनिरहे l तर सरकार गोविन्द केसीको अनसनलाई उपेक्षा गर्दै रह्यो l गोविन्द केसीसँग भेट गर्न त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजकी डीन प्राध्यापक डाक्टर दिव्या सिंह शाह केसी आएको भोलिपल्ट असोज ९ गते पुगिन् l उनको भेट व्यक्तिगत हो या सरकारीस्तरबाट हो त्यो बुझ्न सकिएन तर पनि प्रधानमन्त्रीकि निजि चिकित्सक र गोविन्द केसी सत्याग्रहको पूर्व अभियन्ता भएको कारण उनको आगमनलाई आशाको नजरले हेरिएको थियो l गोविन्द केसीले उनलाई आफ्नो माग तपाईको राजिनामा समेत रहेको र त्यो ब्यानरमा पढन र प्रेस नोटमा हेर्न आग्रह गरेर प्रेस नोट थमाएर पठाए l दुर्भाग्य केसीलाई भेट गरेर गएको दुई दिन पछि उनलाई कोरोना संक्रमण देखियो उनी आइसोलेसनमा बसिन्l उनले कुनै गतिबिधि देखिने गरि गर्न सम्भव भएन l

शाहको उपस्थिति शिष्टचार भेट मात्रै रहेछ भनेर बुझ्न थालियो जब केसीको स्थिति दिन प्रतिदिन नाजुक बन्दै गयो तब उपचाररत डाक्टरलाई केसीको पनि कोरोना टेस्ट गर्नु पर्ने र उनका सहयोगीको समेत टेस्ट गर्ने दबाब रह्यो तब केसीको उनलाई नेपाल गंजबाट साथ लिएर आउने हिमालय कार्कीको अनि सहयोगी भूमिकामा बस्ने मेरो र उनका केही सहयोगी आफन्तको परिक्षण गरियो सौभाग्य संक्रमण कसैलाई देखिएन l कथं डाक्टर केसी संक्रमित भएको भए उनले आफ्नो अनशन स्थगित गरेर कोरोनाको लागि सम्भव हुने सम्मको उपचार लिनु पर्ने स्थिति सिर्जना हुन्थ्यो र सरकारलाई हाइ सन्चो बन्थ्यो केही समयको लागि l यतिन्जेल सरकार चुँ सम्म बोलेन l मानौ उसलाई गोविन्द केसीको आमरण अनसन थाहा छैन यी सबबाट ऊ बेखबर छ l सरकारी देखावटि उदासीनता र लापरवाही हेर्दा लाग्थ्यो गोविन्द केसी भन्ने एक हठी पागल तुच्छ माग राखेर लम्पसार परेको छ l उसका माग र चाहना नितान्त व्यक्तिगत श्रीवृदी, निजि आकांक्षा र चाहनाका प्रतिबिम्बन हुन् l स्वार्थका घैला भर्न थोपरिएका तगारा हुन् l

सरकारको समाजवादमा पुग्ने लक्ष्यको विरुद्दका अबरोध हुन् तसर्थ सरकार हेय पूर्वक उनका सनक र लहडलाई अस्विकार गर्दछ l उनको मरण केवल आत्महत्या नै हुनेछ भन्ने सरकारी अन्तर्य बुझ्न कठिन थिएन ? 

आम मान्छेह्हरु सडकमा निस्किएन् तर बोल्न लेख्न र चिन्ता जाहेर गर्न छोडेनन् l गोविन्दको चासो र चिन्तामा आवाजहरु सोसियल मिडिया मार्फत बुलन्द बनिरहे l आजको प्रविधिको चरम विकास भएको दुनियाँमा पिपुल्स भ्वाइस र च्वाइस सुन्न देख्न डाइरेक्ट डेमोक्रेसी अर्थात सामाजिक संजाल नियाले पुग्छ l गोविन्द केसीको सत्याग्रहको पक्षमा देश बिदेसबाट लेख्न बोल्न र बहस पैरवी गर्न थालियो l जिल्ला जिल्लामा पर्दर्शन पोस्टर ब्यानरमा मान्छेहरु उत्रन थाले , रिले अनसन लगायत अनसनलाई बल पुग्ने नैतिक र भौतिक समर्थन बल र तागत यत्रतत्र देखिन लाग्यो l जिल्ला जिल्लामा रहेका डाक्टर , नर्स र स्वास्थ्यकर्मीको सोलिडारिटी प्रकट हुन् थाल्यो l नागरिक समाजका प्रबुद्द व्यक्तिहरु बोल्न र लेख्न थाले l अखबारका पानाहरु प्रिन्ट मिडियादेखि अन लाइनका छापाहरू ,रडियो एफ एम, टेलिभिजन, चिया पसलदेखि जताततै सत्याग्रहले ठाउँ लियो l गोविन्द केसीको गिर्दो स्वास्थ्य र प्राण पखेरु उड़छ भनेर सर्वत्र चिन्ता छरियो तब सरकार लजाएर सरकारका प्रबक्ता मार्फत अनसनको १८औ दिन प्रदीप ज्ञवाली बोले l ‘’सरकार गोविन्द केसीका माग पुरा गर्दैछ र कतिपय पुरा हुने क्रममा छ तपाई अनसन छोड्नुस यो प्रतिकुल अवस्था हो l यस्तो बेला पनि अनसन बस्ने हो सालिन प्रदीप गोविन्दको विषयमा झर्को र झिँजो मानेर बोले l’’ गोविन्द केसी बरु प्राण त्याग्ने तर माग सम्बोधन नभए सम्म अनसन नछोड्ने प्रतिबद्धतामा अडिग रहे l गोविन्द गलेनन मानसिक रुपमा तर शारीरिक रुपमा भने कम्जोर बन्दै रहे l उनको शरीर जति जति गल्थ्यो उनको आत्मवल त्यति नै मजबूत भएको पाइन्थ्यो l आफ्नो अठोट र दृढतामा केसी खरो देखिन्थे l यता केसी मरणासन्न थिए भने शिक्षण अस्पतालमा केसीको फोटो खिच्न र समचार सम्प्रेषण गर्न आउने पत्रकार तिनका क्यामेरा सबैलाई अस्पताल प्रशासनले बन्देज गरेको थियो l तथापि अनेकन उपाय र बहानामा उनका फोटो र भिडियो सार्वजनिक भै रहे l केसीको सहयोगीको भूमिकामा रहेको कारण थुप्रै भिडियो र फोटो मैले पनि खिचेर सार्वजनिक गरे, कति फोटो र भिडियो प्रितम सुबेदी मार्फत बाहिरिए भने कति डाक्टर तोशिमा कार्कीले बाहिर पठाइन् l क्यामेरा बोकेर जाने पत्रकारको ब्याग केसीको घरबाट सामान ल्याएको बहाना गरेर सुरक्षाकर्मीलाई छल्दै झुक्याउदै पनि भिडियो क्यामेरा र क्यामेरा अनसनस्थल पुर्याएर समाचार प्रसारण गर्न भिडियो फोटो खिच्न मदत गरियो l अरु कति केसीको सहयोगी भूमिकामा बस्ने नातेदारले खिचेर प्रेशलाई उपलब्ध गराउनु भयो l कति जुम मिटिंङमा केसीलाई प्रत्यक्ष हेर्ने चाहनालाई पुरा गरिदिने अवसर मिल्यो l आफूले खिचेका थुप्रै फोटा,भिडियोहरु सार्वजनिक भएर भाइरल बन्दा अनुपम खुशी लाग्दो रैछ l डाक्टर केसीसँग हरेक दिन र थुप्रै रातहरु संगै काट्नु परेकोले उनका दैनिकी दिनचर्या र पिडा दुख आक्रोस र आशा सबै सबै नजिकबाट नियाल्ने अवसर मिल्यो l उनका पिडा जब देखिन्थ्यो मध्ये रातमा केसी यदाकदा निन्द्रामा मरे नि आमा ! भनेर कराउथे त्यो बेला जुरुक्क उठेर छेउमा जाँदा उनी सपनामा बोले होला म ठिकै छु, कुनै पिडा नभएको भन्थे l बरु आफ्नो कारण मध्य रातमा मस्त निन्द्रामा सुतेको सहयोगीलाई डिस्ट्रब भएकोमा खिन्न मान्थे l

केसीले नर्मल स्लाईन लिएको कारण राती सहयोग गर्ने मान्छेले हेर्नु पर्थ्यो तर कहिलेकाँही बेजोड निन्द्रामा परेको कारण स्लाइन सकिएर हातबाट रगत बगिरहेको हुन्थ्यो तर सुतेको मान्छेलाई बोलाउनुको सट्टा केसी त्यो हातमा समाएर बसिरहेका हुन्थे l अनि रुंगालु बिम्झे पछिमात्र नर्स बोलाउन लगाउथे l आफ्नो पिडा दिनमा होस् या रातमा केसी हमेशा नदेखियोस भन्न चाहन्थे l दिनमा पनि पिडा छोप्न घोप्टो परेर छातीमा हात राखेर निदाउन खोज्थे l उनका पिडा बोल्ने तस्बिर अनेकन आयामबाट मैले खिच्थे l उनका छटपटी कस्ट र दुख देख्दा मन दुख्थ्यो तर गर्न सकिने केही होइन न पिडा बाँडनै सकिन्थ्यो l तर दुख देखाउदा कम्जोर ठान्छन भन्ने आम मान्छेको सोचाई हुन्छ तर गोविन्दको पिडा दुख र छटपटी बाहिर ल्याइदिन पाए मान्छेहरुले हेर्थे र उनको बारे जानकारी र कतिपय भ्रम हटाउन सजिलो हुन्थ्यो भनेर हामी यथासम्भव फोटोहरु राख्थ्यौ l दुख्यो, पोल्यो होला भनेर यसो मसाज गरिदिन मन लाग्थ्यो तर खुट्टा, हात मुसार्दा नै खै के सोच्थे भयो पुग्यो भनेर एकैछिनमा सुत्न खोज्थे मानौ मेरो कारण यिनलाई अनावश्यक दुख र मेरो हातपाउ छुन दिदा पाप लाग्छ पो सम्झन्थे कि ? पिसाब फेर्न उठाउदा कतिबेला सम्म रिंगटा लागेर बोल्न र संकेत गर्न सक्दैनथे l यदाकदा ढाड सोझ्याएर सिधा बस्न मन गर्थे तर सहयोगीको हातलाई धेरैबेर दुख दिन मन गर्दैनथे l 

उसै त् कमजोर मान्छे झन् कोरोना संक्रमणको कारण बाहिरि मान्छेको आगमन र भेटघाटले उनको रोगप्रतिरोधात्मक क्षमता दुर्वल हुन्छ भनेर काठमाडौँ आएको एक हप्तापछि अरु मान्छेसँगको भेट घाट बन्द गरियो l सँगैबस्दा हामीलाई तिर्खा लाग्थ्यो तर उनका अघि सहज भएर पानि पिउन पनि धक र लाज लाग्थ्यो l उनी अन्नपानी सब त्यागेर सबल छन् हामी सर्वहारा भएर पनि निर्बल र भुत्ते लाग्थ्यौ l

डाक्टर केसीलाई भेट्न को को अस्पताल पुगे, के भने ?

पूर्व राष्ट्रपति रामबरण यादव देखि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसम्म ,विभिन्न पार्टीका संसद नेताहरु देखि बिद्यार्थी संघ संगठनका प्रतिनिधिहरु डाक्टर केसीलाई भेट्न पुगे भने सत्तासिन पार्टीको तर्फबाट भेटने एकमात्र  संसद भए रामकुमार शर्मा l आफै पनि विगतमा दुई पटक आमरण अनसन बसेको भएर होला नेकपाका यी संसदले भोकको पीडा बुझ्न सकेका l रामकुमारले आफू सरकारलाई दबाब दिने र अन्यथा भएमा सडकमा पनि निस्कने प्रतिवद्दता केसी सामु राखेका थिए l तर विद्यार्थी आन्दोलनको त्यति ठूलो र एतिहासिक भूमिका भएको अनेरास्ववियु र तिनका कुनैपनि प्रतिनिधि बिद्यार्थी हकहित र जनपक्षीय माग राखेर सुतेका केसीको मागमा समर्थन जनाउन भेट्न र बक्तव्य मार्फत ध्यान आकर्षित गर्नबाट पन्छियो l ताजुब त्यतिबेला लाग्यो अनेरास्ववियु जस्तो लोकप्रिय बिद्यार्थी संगठन सरकारको तावेदारीमा लाग्यो बृहत हितको लागी लडेका केसीको पक्षमा बोल्न , लेख्न र एक्यबद्धता जनाउन सकेन l 

जुम्ला,नेपालगंज र काठमाडौँमा गरि केसी २८ दिन निर्जल निराहार सुते l डाक्टर केसीलाई भेट्न थुप्रै मान्छे र व्यक्ति विशेष आए l कतिले गोविन्दको अनशनको मर्म नै नबुझेर र गलत बुझेर आए l कति चै भगवान नै डाक्टर केसीमा अवतरित भएको निष्ठा र विश्वास बोकेर आए l एक ब्यापारी बताउने मान्छे गोविन्द केसीको लागि अस्पताल खोलिंदिने र उनको सबै व्यक्तिगत प्रबन्ध गरिदिने आश्वाशन लिएर समेत आए l आफूलाई जसरी पनि केसी भेट्न अनुरोध गरेर भेट्न पाए केसीलाई मनाएर नै छोड्ने विश्वास र दृढता प्रकट गरे तर गोविन्द केसी उनीसँग भेट गरेर बोल्ने अबस्थामा थिएनन तसर्थ उनको अनुरोधलाई कुनैबेला सुनाइयो केसी मुसुक्क हाँसे मात्र l कतिपय युवाहरु केसी सरले जुस त खानुहुन्छ भनेर जुस बोकेर आउने देखि अरु बिरामी भेट्न आए झैँ फलफूल बोकेर आउनेहरु पनि थिए l ती फलफूल जुस हामीले डियुटीमा रहेका प्रहरी र सुरक्षाकर्मीलाई दियौ l कतिपय व्यक्ति अचानक राती ११ बजे तिर सरकारको प्रतिनिधि र फलानो मन्त्रीले पठाउनु भएको डाक्टर केसीसँग माग र मुद्दा  बारे छलफल गर्न आएको भनेर पनि आए l यद्दपि ती व्यक्तिहरु केवल सुराक र केसीको अवस्था बुझ्न आएका हुन भनेर चिन्न गाह्रो पर्दैनथ्यो l

थुप्रै धार्मिक सामाजिक , राजनीतिक, सामाजिक संघ संगठन क्लब , साहित्यकार कलाकार र समाजका विविध आयाम र पाटोलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुले भेट गरे l भेट कै शिलशिलामा सरकारको तर्फबाट शिक्षा सचिव गोपी मैनाली आफ्ना तीन सहकर्मी सहित शिक्षण अस्पताल आए र सरकारको अनुरोध भनेर प्रतिकुल अबस्थामा अनशन त्याग्न अनुरोध गरे l उनीसँग पनि केसीले सदासयताको लागि धन्यवाद तर आफू अनशन नछोड्ने बरु माग पुरा गर्न चुनौती दिए l यो असोज २३ गतेको कुरा हो l शिक्षा सचिव मैनाली फर्केर गएपछि सरकार मौन रह्यो l यसै बीच गोविन्द केसीको समर्थनमा देश बिदेसबाट थुप्रै व्यक्ति संस्था र राजनीतिक व्यक्ति स्वतन्त्र नागरिकहरु बोल्न थाले l केसीको समर्थनमा एक दिने अनसन कार्यकर्म गरेर बिदेशी शुभेच्छुकहरु पनि समर्थनमा उत्रिए l जुम मिटिंग र छलफलका धेरै कार्यक्रम सर्वत्र गरिन थाल्यो l

केसीको स्वास्थ्य स्थितिमा खतराको संकेत देखिन थालेकोले उपचारमा संलग्न डाक्टरहरु डराएर आइसीयूमा केसीलाई लानुपर्ने कुरामा जोड गर्न थाले तर केसी आफू होशमा भए सम्म अतिरिक्त उपचार नलिने र स्थान परिवर्तन गरेर आइसीयूमा नजाने अडानमा रहे l पूर्व रास्ट्रपतिले र बाबुराम भट्टराईले पनि घुमाउरो शैलीमा अनशन त्याग्न सुझाए र नैतिक लडाई नैतिकता हुनेसँग लडिन्छ नैतिकता च्युत भएकाहरुसँग लड्दा ज्यान जान सक्छ बाँचेर नै लडौ भन्ने आशयका कुरा राखे भने अरु थुप्रै सुभेच्छुकहरुले बाच्न अनुरोध गरे l प्रायजसो आफन्त र नातागोताका मान्छेले उनकी बृद्द आमालाई अनुरोध गर्न लगाएर अनशन छोड्न आग्रह गरे l तर केसीको आत्मबल गलेंन l ६४ वर्षको बृद्द शरीर जरा जीर्ण देखिन्थ्यो l

शरीर हाड छालमा परिवर्तन भै सकेको थियो l जिउमा मासु काँही छामेर पाउन मुश्किल थियो तर उनको आत्मवल र मुहारको आभा भने चम्किलो र दरिलो हुन्थ्यो l कतिपय साथीहरु निराशाका कुरा गर्थे,सडकमा मान्छे ननिस्केको कुरा सुनाउथे, कतिपयले परिस्थिति अनुकुल छैन अनशन स्थगित गर्नुस भन्थे तर केसी यी सब निराशाका कुरा सुनेर पनि दुख मनाउ गर्दैनथे बरु भन्थे हेर्दै जानुस मान्छे निस्कन्छन,बोल्छन किनकि यी सब मेरा निजि स्वार्थका लागि होइन आम मान्छेको लागि हो l बुझाउन सम्झाउन सक्नुपर्छ l अरु मान्छेको जस्तै शरीर हाड,छाला,मासुले बनेको भए पनि यिनको आत्मा इस्पातले बनेको हुनुपर्छ l यिनको शरीरमा विशेष धातु रहेको हुनुपर्छ l यिनको भोक, तिर्खा र पीडा खप्ने शक्ति पनि बेजोड नै छ त्यही भएर आज सम्म २५० दिन डाक्टर केसी भोकै बस्न सके l हामी एक छाक र एक दिन आफ्ना लागि भोको बस्न सक्दैनौ तर केसी दुनियाँको भलाईको लागि भनेर भोक तिर्खा,पिडा अपमान , सास्ती  र ज्यादती सहेर निष्ठाको भोकमा साधना गर्छन l आफू लमतन्न भोकै छन तर उनी हाम्रो भोक,तिर्खा, निन्द्रा ,सुख दुख बारे पनि सोधी रहन्छन l राती कहिलेकाँही छटपटी गरेको देखेर जाडो भयो कि लामखुट्टेले टोक्यो कि सिरानी मिलेन कि जस्ता सहयोगीहरुका असहजताबारे सोध खोज गर्छन l भात पानी र खाजा खाओ भनेर संकेत र इशारा गर्छन l

आफ्नो पारिवारिक सदस्य विरामी भएर बसे झैँ दिनरात पिर चिन्ता र सेवा गरेर बस्ने डाक्टर तोशिमा कार्कीको सेवाभाव र समर्पणले केसी छक्क छन् l उनको भोक तिर्खा बारे सोधिरहन्छन l थुप्रै अभियन्ता र अभियानकर्ताको दौडधूप चिन्ता चासो र सहयोगप्रति केसी नतमस्तक छन् l आम मान्छेले देखाएको सहानुभूति ,माया र श्रद्दमा केसी अनुगृहित बनेको भाव व्यक्त गर्छन l यी सब उनको समिप बसेर भेट्न आएका मान्छे तिनको प्रतिक्रिया सन्देस सुनाउदा भन्दा केसीको भाव भंगीबाट अनुभव र अनुभूत गरिएका कुरा हुन् l जुम्लामा आफूलाई सहयोग गर्ने महेन्द्र कार्की ,प्रज्ज्वल महत लगायत थुप्रै युवा अभियन्ता र जुम्लेलीको सहयोग र समर्थनप्रति जुम्लाबाट आएको केही दिन सम्म चर्चा गरिरहन्थे l काठमाडौँ आएको शुरुवाती दिन सम्म केही दिन बोले बिभिन्न घटनाक्रम, रुकुमको दलित हत्या प्रकरण , बाढी पहिरो बर्षाको कारण धनजनको क्षति अनि क्षति पुग्ने सीमान्तकृत वर्ग समुदाय दलित र उत्पीडित नै भएको आर्थिक र सामाजिक पक्ष यावत विषयमा केसीले जिज्ञासा राख्दै जानकारी दिन्थे l

देशभरका भिर पाखाका बस्ति तिनमा बसोबास गर्ने समुदाय र तिनको आर्थिक स्थितिबारे केसी कतिपय घटना र बस्तीको अवस्थिति,खतरनाक भिर पहरो र नदिछेउको बस्ति बारे हामीलाई सुनाउथे l देसको हरेक भूगोल समुदाय अनि तिनको रहनसहन सामाजिक जीवन आर्थिक स्तर र शैक्षिक स्थितिबारे केसीलाई भरपुर जानकारी भएको देख्दा लाग्थ्यो यिनले बिरामीको मात्रै होइन यो देसको हरक्षेत्रको नाडी छामेका छन् l हुन् पनि देसको सबै जिल्लामा कम्तिमा पनि दुई पटक पुगेको यिनको अनुभव छ l दुर्गम गाउँ बस्तीमा हिडेर पुग्नुपर्ने बाध्यता र जति हिड्न पायो त्यतिधेरै नजिकबाट नेपालीहरुको सामाजिक जीवन देखिने र अप्ठ्यारोमा परेका बिरामी कोही भेटियो भने हिडदा हिड्दै पनि सहयोग गर्न पाउदाको खुशी र आत्मसन्तुष्टि केसीको धेयरहेको पाइन्छ l तसर्थ केसी हिडन मन पराउछन l फोटोग्राफी यिनको सौख हो यिनले काठमाडौँ र पोखरामा गरि दुई पटक फोटो प्रदर्शनी समेत गरेका छन् l 

सरकारको वार्ताटोली गठन देखि केसीसँग सम्झौता नभए सम्मका दिन र रातहरू

 बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षा बारे चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको जवाफ २३औ दिन दिएका हुन् । नेकपा नेताहरुमा पनि सरकारको केसी प्रतिको रवैयामा बिमति रह्यो l कदाचित केसी तलमाथि भए भने त्यो अपजसको भारी प्रधानमन्त्री ओलीको मात्रै हुदैन थ्यो अन्य नेताको भागमा पनि अपयस र कलंकको कालो टीका निधारमा पोतिने र केसीको मृत्युको हिस्सेदार बन्नुपर्ने भय थियो त्यसैले अनसनको तेश्रो हप्तातिर नेकपा सचिवालयका सबैजसो प्रभावशाली नेताहरु बोल्न थाले,सरकारलाई गोविन्द बचाउन आग्रह गर्न थाले lआफ्नो पार्टीमा पनि केसीको माग र अनशन बारे प्रश्न उठे पछि ओलीले असोज २५ गते बार्ताको लागि शिक्षा सचिव गोपी मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली गठन गरे जसका सदस्यहरुमा स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलिप शर्मा थिए भने डाक्टर केसीको तर्फबाट पनि सोलिडारिटी फरडाक्टर के सी अलायन्सका प्रमुख केसीका थिंक ट्यांक भनेर चिनिने डाक्टर जीवन क्षत्रीको संयोजकत्वमा ,नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की, डाक्टर अन्जनी कुमार झा र युवा तथा चर्चित अधिबक्ता ओमप्रकास अर्याल सम्मलित टोलि गठन गरेर जबाफी वार्ताको फायर खोलियो l

वार्ताटोली गठन भएको भोलोपल्ट बिहान २२ गते वार्ता सिंह दरबारमा शिक्षा सचिवको चेम्बरमा शुरु भयो l वार्ता सौहाद्रपूर्ण र निकास निस्कने कुरामा दुवैतर्फ ढुक्क थिए त्यो दिन बिहान ११ बजे शुरु भएको वार्ता राती १० बजेसम्म चल्यो र अर्कोदिन निर्णायक वार्ता हुने निस्कर्ष सहित वार्ता टोलि छुट्टियो आ आफ्नो सरोकारवालासँग कुरा गरेर २३ गते पुन बस्ने सहमति भयो l वार्तामा बस्न शिक्षण अस्पतालमा नै आउने निर्णायक बार्ता गर्ने आश्वासन दिएको सरकारी टोलि दिन भर कता हरायो सम्पर्कमा खासै रहेन बरु हामी आउदैछौ बस्दै गर्नुहोला भन्ने सन्देस दिंदै बस्यो तर ८ बजेसम्म कुनै ठोस निर्णय नदिएपछि डाक्टर केसी पक्षले आफूले अब कडा आन्दोलन घोषणा गर्ने र सबै शक्ति र सामर्थ्य परिचालन गर्ने वक्तव्य निकाल्यो तत्काल सरकारी टोलीले वार्ताको लागि ९ बजे भित्र सिंहदरवार आउन निम्ता दियो l केसी पक्ष सिंह दरवार त पुग्यो तर सरकारी वार्ता टोलि अघिल्लो दिनको सहमति भन्दा पछि फर्केर आफ्नो पूर्व अडान र प्रतिबद्दता भन्दा पर पुग्यो तब केसी पक्ष आक्रोशित बन्यो र वार्ता करिब करिब भंग भएको स्थिति तयार भयो l थुप्रै संचार माध्यमले डीन दिव्या शाहको बर्खास्तगीमा पुगेर वार्ता अड्किएको समाचार प्रशारण गरे त्यो विल्कुल असत्य थियो l एक महिला त्यसमाथि सार्वजानिक छवि र व्यक्तिगत क्षमता अब्बल भएको कारण उनलाई राख्ने सहमति वार्ताको क्रममा भै सकेको थियो तर संचार माध्यममा भ्रम पूर्ण समाचार छापिए,लेखिए र प्रशारण भए l  केसी पक्ष केसीलाई भेट्न शिक्षण अस्पताल आयो र आफ्नो तर्फबाट अडान कायमै राखेको र सरकार पूर्व अडानबाट पछि हटे सम्झौता हुन नसक्ने बरु आन्दोलन र बिरोधको कार्यक्रम सामना गर्नुपर्ने चेतावनी दिएर बस्यो l सरकार प्रतिक्रिया विहीन भयो २४ गते दिउसो सम्म कुनै वार्ताको छाँट काँट देखिएन l

२४ गते नेपाल चिकित्सक संघले पनि शसक्त आन्दोलन गर्ने घोषणा गर्यो भने देश भर केसीको जीवन रक्षाको लागि दवाबका बक्तब्यहरु आए l विभिन्न तह र तप्काका मान्छेहरु बोल्न थाले,मौन रहेकाहरु पनि कराउन थाले l देशका नामी डाक्टरहरु अरु थुप्रै पेशा ब्यबसायमा अब्बल नाम चलेकाहरू बोल्ने र सरकारलाई दबाब दिने गर्न थाले तर सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीको तर्फबाट अनसन तोडन आग्रह सहितको वक्तब्य आयो वार्ता र संझौता बारे उल्लेख नै नगरी अनसन तोडन र सरकारलाई सघाउन अनुरोध गरिएको करिब करिब वार्ता भंग भएको कुटनैतिक र रणनैतिक सन्देस प्राप्त भयो l यो सब घटनाक्रमले केसी पक्षमा सबै निराश, हताश र अब के गर्ने कसरी जाने अन्योलको स्थितिमा पुगे तर केसी किन्चित पनि विचलित भएको देखिएन बरु म अरु थुप्रै दिन कस्ट खप्न र मर्न राजी छु तर यो पटक छोड्दिन भन्ने दृढतामा रहे यही संदेश र केसीको पोजिसन बार्ता टोलीले पनि सार्वजनिक गर्यो l

हामी सबैले आ आफ्नो भित्तो केसी नगलेको र सम्झौता बिना नछोडने अडानमा रहेको कुरा लेखेर भर्यौ l सरकारको आलोचना र केसीको समर्थनमा सामाजिक संजालका भित्ताहरु पुन भरिए l त्यहीबेला डाक्टर दिव्यालाई फोन गरेर स्थिति अवगत गराउन केसीलाई जीवन क्षत्री र ओम अर्यालले सुझाए l केसीलाई दिव्या शाहको फोन लगाई दिएर उनको कानमा राखिदियौ केसीले मसिनो स्वरमा वार्ता लगभग भाडिएको र सरकार आफ्नो प्रतिबद्दताबाट पछि हटेको जानकारी सहित आफू कुनैपनि हालतमा अनशन फिर्ता नलिने जानकारी दिए l तब शाहाले केसीको पोजिसन स्पस्ट पार्न भनिन तब अघिल्लो दिन सरकारी वार्ता टोलि र केसी पक्ष बीच भएको सहमतिको खेस्रा शाहाको म्यासेन्जरमा राखिदियौ भने खेस्रा प्रिन्ट गरेर उनको घरमा पुर्याउन पठाइयो l पहिलोदिनको सहमतिमा सरकार अडिए वार्ताले निस्कर्ष निस्कन्छ भन्नेमा सबै ढुक्क थिए दिव्याले केही बेरमा नै यो सहमति मान्ने भए आफू पहलगर्न तयार भएको फोनमा केसीलाई जानकारी गराइन l

केही छिनको प्रतिक्षा पछि दिब्याको फोन केसीलाई आयो तयार भएर बस्नु अस्तिकै सहमति अनुसार सरकारी वार्ताटोली सम्झौता गर्न आधा घण्टा भित्र आइपुग्छ l लगभग वार्ता भंग नै भएको स्थिति देखिए पनि सरकार सम्झौता गर्न हतारिएको बुझ्न सकिन्थ्यो l दिव्याको संकेत प्राप्त हुनसाथ सरकारी टोलि अस्पताल आइपुग्यो त्यतिबेला रातको ११.३० बजिसकेको थियो l सरकारी टोलि आएर केसीसँग औपचारिक भेट गर्यो र दुई वार्ताटोली करिब पाँच मिनेट एकान्त बसेर पुन ११. ५५ मा अनशन स्थल सहमतिको पहिले नै तयार संझौता पत्र लिएर पस्यो र सो ८ बुंदे सम्झौता पत्र जीवन क्षेत्रीले पढेर सुनाए l त्यसपछि हस्ताक्षर गर्ने कार्यक्रम भयो यतिबेला रातको १२.५ बजेको थियोअर्को नयाँ दिन शुरुवात भै सकेको थियो l गोविन्द केसीले बहुत अप्ठेरोसंग कलम समाएर ह्सताक्षर गरे कारण उनको दाहिने हातमा क्यानुल थियो हात सुन्निएर ब्यान्डेज गरिएको थियो l

तत्पश्चात गोपी मैनालीले सरकारी वार्ताटोलीको संयोजकको हस्ताक्षर गरे l केसीले शिक्षा सचिव लगायत सबैलाई धन्यवाद दिए भने मैनालीले केसीको प्रशंसा गरेर धन्यवाद भने l डाक्टर केसीले त्यही रात अनसन तोडन चै मन गरेनन उनको इच्छा बमोजिम भोलिपल्ट बिहान मात्रै सबै मिडिया र सुभेच्छुक बोलाएर अनसन तोडे l उनी आफ्नो अनसन तोड्ने पात्रको छनौट गरेर केही संदेश दिन खोज्छन l

सबै ठूला र भव्य काम सुभारम्भ र अन्त्य ठूला भनिएका ,पद पैसा र पावर भएका मान्छेबाट सम्पन्न गराउनु पर्छ । शक्तिशाली र सान मान देखिनेबाट हुनुपर्छ, भन्ने आम मान्यता छ । तर यी सबको बाबजुद सामान्य मान्छेसँग असमान्य लगाव राखेर क्रम भङ्ग गर्ने शिलशिला डाक्टर गोविन्द के सीले आफ्नो प्रारम्भिक अनशन देखि नै गराउदै आएका छ्न । उनले कहिले सफाइ कर्मचारी , कहिले बाटोमा जुत्ता सिलाइ रहेका मान्छे, कहिले आफ्ना बिरामी बालबालिका , यस्तै, अनेकन सामान्य जनजीवनका पात्रबाट आफ्नो अनशन तोडेर जुश खाएका छ्न् । २८ गते पनि उनले एक साथ थुप्रै सन्देश प्रवाह गर्न युवा बिकास नेपालीको हात रोजे ।

युवा विकास नेपाली त्यस्ता प्रतिनिधि हुन् ।
कथित अछुत,
सफाइ कर्मचारी ,

सामान्य दर्जाका कर्मचारी, कोरोना संक्रमित भएर निको भएका ब्यक्ति हुन । युवा हुन ।

एक कर्म साथ थुप्रै सन्देश र दर्शन प्रतिबिम्बित गरेर प्रतिकात्मक अर्थ दिन खोजेका छ्न । गोविन्द आफ्नो जीवन दर्शन र उदेश्य कसका लागि समर्पण गर्न चाहन्छ्न यो एक दृष्टान्त हो । आफ्नो सिद्धान्तको व्यवहारिक प्रयोग हो । यसरी २८ दिन लामो निष्ठा र समर्पणको युद्दमा सरकार केसीसँग बाध्य भएर सम्झौतामा आइपुग्यो l यसरी सरकार र केसी पक्षका बीच वार्ताहुन अनेकन पहल र प्रयास व्यक्तिगत सम्बन्ध र पहुचको प्रयोग भयो l दुर्भाग्य मैले गरेको प्रयास र भूमिकाले भने सार्थकता पाउन सकेन l यद्दपि म यो उल्लेख गर्न चाहन्छु l

मैले प्रधानमन्त्री पत्नी राधिका शाक्य मार्फत आफ्नो कुरा राख्न चाहेको थिए l मलाई प्रधानमन्त्री भेटाउने वाचा समेत गरेर आफ्नो सम्पर्क दिनु भएको फस्ट लेडी राधिका म्यामाले मेरो मेसजको रेस्पोन्स मात्रै गर्नु भएन होइन कि फोन समेत उठाउनु भएन जबकी प्रधानमन्त्रीलाई भेट गराई दिन आफूलाई फलो गर्न र सम्झाउन उहाले भन्नु भएको थियो l मोबाइल नम्बर दिनु भएको थियो l तर यो असहज स्थितिमा म केवल केसीको माग सुन्न दवाब दिन उहालाई आग्रह गर्न चाहन्थे l मैले केसीको अनसन र जुम्लामा दिएको अल्टिमेटम बारे भनेको थिए आफ्नो आर्टिकलमा स्वास्थ्य सेवामा ओलीले आफ्नो कार्यकालमा गर्नुपर्ने कुरा उल्लेख गरेको थिए जुन आर्टिकलको प्रसंग पढेर मलाई राधिका म्यामले धन्यवाद भन्न दुई महिना अघि फोन गर्नु भएको थियो l

मेरो कुरा राख्दा म तपाईको कुरा प्रधानमन्त्रीलाई पुन सम्झाउछु र अनुकुल स्थितिमा प्रधानमन्त्री भेटाउछु भन्नु भएको थियो शायद प्रतिकुल परिस्थिति भएर नै मेरो फोन उठाउने कस्ट गर्नु भएन या चिन्नु भएन या म्यासेज बुझ्नु भएन ? यदि बुझ्नु हुन्थ्यो भने आफ्नो वचन र प्रतिवद्दता उहाँले भुल्नु नपर्ने हो l मलाई उहाँ जस्तो सालिन र सिम्पल मान्छेले आफ्नो कबुल भुल्नु हुन्छ भन्ने विश्वास आज पर्यन्त छैन l