आज सकिँदै नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा

आज सकिँदै नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा आज सकिँदैछ।सभामुख अग्निप्रसाद सापकोटाले गत भदौ २० गते नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएका थिए।

संघीय संसद्बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ।जसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजसम्ममा नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ।

प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकबाट पारित गरी सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकतासम्बन्धी विधेयक गत साउन २९ गते आठ बुँदे सन्देशसहित राष्ट्रपति कार्यालयबाट अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनःविचार गरियोस् भनी सदनमा फिर्ता पठाइएको थियो।

सन्देशसहित फिर्ता आएको विधेयकलाई सरकार र सदनले स्वभाविकरुपमा लिई प्रतिनिधिसभा, राष्ट्रियसभा र विधायन समितिमा आवश्यक छलफलपछि पुनःपारित गरी राष्ट्रपति समक्ष दोस्रोपटक भदौ २० गते प्रमाणीकरणका लागि पठाइएको थियो।

राष्ट्रपति भण्डारीले विधेयकका सम्बन्धमा उठेका विभिन्न प्रश्नका बारेमा समाजका विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग राय परामर्श लिइसकेकी छन्। पहिलोपटक फिर्ता पठाएकी भण्डारीले दोस्रोपटक नागरिकता विधेयक के गर्लिन भन्ने चासो सर्वत्र छ।