कैलालीका बाढी पीडितको माग, घर आँगन ओभानो बनाएर जीवन कटाउन दीर्घकालीन समाधान

कैलालीका बाढी पीडितको माग, घर आँगन ओभानो बनाएर जीवन कटाउन दीर्घकालीन समाधान

भजनी । बाँसको चोयाले बारेर माटोले पोतेका कच्ची घर । बाढीले भत्काएका घरका भित्ता । हिलाम्मे घरका आँगन । बाढी पसेपछि हिलाम्मे भएका घरमा गहुँको भुसले ओभानो बनाएर जीवन कटाउनुपर्ने बाढी पीडितको बाध्यता । कैलालीको भजनी नगरपालिका ८ गोरचौराका सन्तराम चौधरीको जनजीवन यस्तै छ । घरको आगनमा बस्न सक्ने अवस्था छैन । कच्ची माटोले बनाएका घर बाढीले छियाछिया बनाएको छ । घरभित्र बाढीसँगै आएको लेदो सुकेको छैन । घरका कोठा सुक्खा बनाउन, चौपायालाई खुवाउनका लागि राखेको गहुँको भुसले घर ओभानो बनाउने प्रयास गरिएको छ ।

‘तीन रात खुला आकाशमुनि बिताएर घर फर्किएका छौँ । घरको अवस्था तपाईले देखिहाल्नुभयो ।’ सन्तरामले भने, ‘खुला आकाशको असुरक्षित बसाइँ । निकै अप्ठ्यारो भयो । घरमा भएपछि आफ्नो सुरक्षा र घरको सुरक्षा होला भनेर पनि घर फर्किनुपर्यो ।’

सन्तरामजस्तै सयौँ घरको अवस्था उस्तै छ । घरका आँगन कसैका सुख्खा छैनन् । घर वरिपरि हिलाम्मे छ । आवतजावतमा निकै समस्या छ । घरभित्र पनि सुरक्षित हुने वातावरण छैन । घर सुक्खा बनाउनको लागि स्थानीयले हर प्रयास गर्दै आएका छन् । ‘किरा फट्याङ्ग्राको जोखिम छ । काठका घरमा बस्दा कतैबाट किरा फट्याङ्ग्राको आक्रमण हुन्छ कि भन्ने त्रासले रातदिन सताइरहन्छ ।’ भजनी नगरपालिका ८ कि सम्झना विकले भनिन्, ‘आफुभन्दा पनि बालबालिकालाई सुरक्षित राख्न कठिन भएको छ । खानलाई अन्न छैन । पिउनलाई पानी । बालबालिका छैन भने मान्दैनन् ।’

बाढीका कारण घरमा पानी पस्दा अधिकांशको घरमा भएको अन्नपात बगेको छ । बचेको अन्नपात पनि उम्रन थाएको छ । सुकाउनको लागि कपडा छैन । आगन ओभानो छैन । भजनी नगरपालिका ८ की रामकृष्णी चौधरीले बाढीका कारण श्रीमान् गुमाइन् । असोज १ गतेको बाढीमा बेपत्ता भएका रामकृष्णीका ६० वर्षीय कालुराम डगौंरा थारुको दुई दिनपछि शव भेटिएको थियो ।

श्रीमान्को बाढीले ज्यान लिएपछि आफूहरु पनि बाढीबाट सुरक्षित नरहेको रामकृष्णीले बताइन् । ‘जुन कुराको त्रास वर्षौंदेखि मनमा थियो, आज हाम्रा लागि त्यहीँ भयो ।’ उनले भनिन्, ‘भोलि अरुलाई पनि हुनसक्छ । बर्सातको समय भजनीका लागि निकै कष्टकर हुन्छ । यो सबैलाई थाहा छ तर समाधान कतैबाट हुँदैन ।’

भजनीमा बाढी, डुबान र कटानका कारण सयौँ बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ । चारैतिरबाट नदीले घेरिएको भजनीमा नदीको कटान र डुबानका कारण सयौँ बिघा नष्ट भएको छ । विशेष गरी कान्द्रा, काँढा र पथरैया नदीका कारण नढी क्षति भएको स्थानीय गणेश बोहराले बताए ।

धानबाली नगरपालिकाले धानबालीमा भएको क्षतिको विवरण सङ्कलनको काम सुरु गरेको छ । नगरपालिकाका कृषि शाखाका प्रमुख हरिलाल जोशीका अनुसार वडा नं ३, ५, ७ र ८ का अधिकांश क्षेत्रमा लगाएको धानबाली पूर्णरुपमा नष्ट भएको छ ।

बर्सेनि स्थानीय नागरिक बाढी र डुबानको समस्या झेल्दै आएको भन्दै प्रदेश र सङ्घीय सरकारलाई दीर्घकालीन नदी नियन्त्रणमा सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नदी नियन्त्रणका लागि काम नभएसम्म भजनीका नागरिकले बाढी र डुबानको समस्याबाट छुटकारा पाउन नसक्ने बताए ।

‘भजनी डुबानको मुख्य कारण कान्द्रा, काँढा र पथरैया नदी हुन र अर्को कारण भारतक कैलाश बाध पनि हो’ नगर प्रमुख चौधरीले भने, ‘नदीमा पानीको सतह बढेपछि भारतले कैलाश बाधका ढोका बन्द गरेपछि भजनी डुबानमा पर्ने गरेको छ । यसको समाधानका लागि सङ्घीय सरकारले गम्भीरताका साथ लिनुपर्छ ।’

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले भजनीको दीर्घकालीन समाधानका लागि तीनै तहको सरकरको समन्वय हुन आवश्यक रहेको बताए । बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा सङ्घीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताउँदै प्रदेशले गर्ने कामका लागि आफूले मातहतका मन्त्रालयसँग समन्वय गर्ने बताएका छन् ।

‘हामीले देख्दै, सुन्दै र समाचार माध्यममा पढ्दै पनि आएका छौँ, भजनीको अवस्था बर्सेनि कस्तो हुन्छ भन्ने कुरा’ मन्त्री रावलले भने, ‘सानोतिनो योजनाले भजनीलाई बाढी र डुबानको जोखिमबाट बचाउन सकिँदैन । त्यसका लागि तिनै तहको सरकार सकारात्मक भएर समन्वय र सहयोग हुन आवश्यक छ ।’