वंशज नागरिकता उपलब्ध गराउन ७७ वटै जिल्लालाई गृहको निर्देशन

वंशज नागरिकता उपलब्ध गराउन ७७ वटै जिल्लालाई गृहको निर्देशन

गृह मन्त्रालयले जन्म (वंशज) का आधारमा नेपाली नागरिकता प्राप्त गरेका सन्तानलाई तिनका बुबा र आमाको नागरिकताको आधारमा नागरिकता प्रमाणपत्र प्रदान गर्न निर्देशन दिएको छ ।

मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरी बुबा र आमाको नागरिकता प्रमाणपत्रको आधारमा नागरिकता प्रमाणपत्र पाऊँ भनी निवेदन दिएमा नागरिकता उपलब्ध गराउन निर्देशन दिएको मन्त्रालयद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न पेश भएको विधेयक विगत लामो समयदेखि संघीय संसद्मा विचाराधीन अवस्थामा छ तर पनि सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई कानुन बमोजिम नागरिकता प्रमाणपत्र प्रदान गर्न आदेश दिएको थियो ।

त्यस्तो निर्देशन मङ्गलबार गृह मन्त्रिस्तरीय निर्णयले नेपालको संविधानको धारा ११ को उपधारा (३) को व्यवस्था बमोजिम जन्मको आधारमा नागरिकताप्राप्त नागरिकका सन्तानले बुबा र आमाको नागरिकता राखी निवेदन दिएमा आवश्यक प्रक्रिया अपनाई नागरिकता प्रदान गर्न निर्देशन दिएको छ ।

नागरिकता प्रमाणपत्र लिन योग्य तथा उमेर पुगेका बालिगले नागरिकता नपाएर शैक्षिक वृत्ति विकास तथा रोजगारीमा समस्या झेली रहनुपरेको जनगुनासो आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव गंगाप्रसाद न्यौपानेका अनुसार जे जो बुझ्न पर्छ बुझी उपयुक्त देखिएमा वंशजको आधारमा नागरिकता उपलब्ध हुने व्यवस्था गरिएको छ ।

नेपाल नागरिकता ऐन २०६३, नागरिकता नियमावली २०६३ र नागरिकता कार्यविधि सम्बन्धी निर्देशिका २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनुपर्ने सम्पूर्ण कार्यविधि अपनाउन निर्देशन दिएको छ ।