बैतडीका सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना

बैतडीका सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना

बैतडी –दशैं तिहारलाई लक्षित गरेर बैतडीका सात ठाउँमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैंको बेला यात्रुहरुलाई गन्त्व्यमा पुर्याउनका लागि सहज होस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक रामसिंह भण्डारीले बताए । 

दशैंको समयमा भीडभाड हुने भएकाले यात्रुहरुलाई परेको समस्या समाधानका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको भण्डारीले बताए । जिल्ला सदरमुकाम गोठलापानी, झुलाघाट सतबाँझ, पाटन, खोचलेक, गोकुलेश्वर र खोड्पेमा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी प्रमुख भण्डारीले बताए । उनले भने ‘चाडपर्वका बेला यात्रुहरुलाई झन्झट नहोस भनेर सहयोग पुर्याउन यात्रु सहायता कक्ष स्थापना गरेका हौं । समस्यामा परेका नागरिकलाई सहायता कक्षबाट आवश्यक सेवा दिनेछौं ।’

क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तोकिएको भाडाभन्दा बढी भाडा लिन नदिन र यात्रुहरुलाई सहजताका साथ गन्त्व्यमा पुर्याउनका लागि यात्रु सहायता कक्ष मार्फत काम हुने बताइएको छ । यात्रु सहायता कक्षबाट ट्राफिक प्रहरी साथै नेपाल प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिहरुले सेवा दिने भण्डारीले बताए । 

दशैंको लागि भारतबाट फर्कने नागरिक, जिल्लाबाट बाहिर जाने र आउने नागरिकको संख्या बढेकाले यात्रुहरुलाई कुनै समस्या नहोस भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

छठ पर्व सम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । यात्राका क्रममा कुनै समस्या परेमा नजिकका सहायता कक्षमा सम्पर्क राख्न समेत प्रहरी प्रवक्ता जोशीले आग्रह गरे ।