बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै चुनावी प्रचारप्रसार गर्न पाइने

बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै चुनावी प्रचारप्रसार गर्न पाइने

काठमाडौं ।  यही मङ्सिर ४ गते सोमबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागु भएको छ। आचारसंहिताअनुसार एकभन्दा बढी दल वा उम्मेदवारले एकै दिन एकै समयमा कुनै एक स्थानमा कार्यक्रम वा सभा गर्न नपाइने भएको छ। त्यसै गरी चुनाव प्रचारको समय पनि बिहान ७ देखि साँझ ७ बजेसम्म अर्थात् १२ घण्टाका लागि तोकिएको छ। निर्वाचनको प्रचार–प्रसार वा जुलुसमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ।

निर्वाचन आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक, सञ्चारकर्मी, स्थानीय तहका जनप्रतिनिधिलगायत व्यक्ति, संघसंस्था र अधिकारी गरी २४ पक्षले पालना गर्नुपर्ने विषयलाई समेटेर आचारसंहिता जारी गरेको हो। आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ। आयोगले गत भदौ १३ गते नै निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशन गरेको थियो।