भीम रावललाई टिकट नदिएको भन्दै अछाम एमाले क्षेत्रीय निर्वाचन कमिटी संयोजक शाहद्वारा राजीनामा

भीम रावललाई टिकट नदिएको भन्दै अछाम एमाले क्षेत्रीय निर्वाचन कमिटी संयोजक शाहद्वारा राजीनामा

धनगढी । नेकपा एमालेका अछाम क्षेत्र नं. १ का क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । शाहले शनिवार एमाले जिल्ला कमिटी अछामलाई राजीनामा पत्र लेख्दै आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् । 

शाहले नेता डा. भीम रावल लाई अछाम क्षेत्र नं. १ बाट सर्वसम्मतिले प्रतिनिधि सभाका लागी एकल उम्मेदवारका रूपमा सिफारिस गर्दा पनि केन्द्रीय कमिटीले जिल्लाको सिफारिस विपरीत निर्णय गरेको हुँदा आफूले राजीनामा दिएको उनले उक्त राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

शुक्रवार मात्रै एमालेले रावलको ठाउँमा अछाम–१ बाट झपट बोहरालाई अघि बढाएको छ । 

एमालेको टिकट वितरणको अधिकारसमेत पाएका पार्टी अध्यक्ष केपी ओलीले बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेका थिए । नेकपा माओवादी केन्द्र छोडेर एमालेमा आएका बोहरा एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज छन् । 

अछाम जिल्ला कमिटीले भीम रावललाई सर्व सहमत एकल सिफारिस गरेको भए पनि ओलीको रोजाइमा भने बोहरा परेका हुन् ।