जसपासँग एमालेले गर्‍यो गठबन्धन, प्रतिनिधि सभामा दियो १७ सिट

जसपासँग एमालेले गर्‍यो गठबन्धन, प्रतिनिधि सभामा दियो १७ सिट

 आसन्न निवार्चनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा बीच तालमेलको सहमति भएको छ। शनिबार एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच भएको सहमति पत्र राख्दै यसबारे जानकारी दिएका हुन्।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कैलाली, मोरङ र सुनसरीमा गरी प्रतिनिधि सभाका लागि जसपाले १७ सिट पाउने भएको छ।

एमालेले भने ३५ सिट लिने सहमति भएको छ।

प्रदेशसभातर्फ भने एमालेले ७० सिट र जसपाले ४२ सिट लिने गरी सहमति भएको छ। जसपाले सत्ता गठबन्धनसँग सिट बाँडफाँटको कुरा नमिलेपछि एमालेसँग सहमति गरेको हो। जसपाले सत्ता गठबन्धनसँग आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने अडान लिइराखेको थियो। सत्ता गठबन्धनले दिने सिटले नपुग्ने भन्दै जसले धेरै सिट दिन्छ, उतै जाने भन्दै आएको थियो।

जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको गठबन्धन बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए।

बिहीबारदेखि जसपाले एमालेसँग चुनावी तालमेलको प्रयास गरिरहेको थियो। शनिबार भने दुई पार्टीबीच सहमति भएको हो।