आयल निगमको मासिक नाफा २ अर्ब नाघ्ने प्रक्षेपण, घटाइएन मूल्य

आयल निगमको मासिक नाफा २ अर्ब नाघ्ने प्रक्षेपण, घटाइएन मूल्य

काठमाडौं । नेपाल आयल निगमले मासिक २ अर्ब रुपैयाँ भन्दा बढी नाफा गर्ने प्रक्षेपण गरेको छ । १५ असोजमा भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार इन्धनको खरिद लागत मूल्यमा भारी गिरावट आउनु र उपभोक्ता मूल्य नघटाएपछि निगमको नाफा बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण अघिल्लो पटक भन्दा घेटेर आईओसीबाट नयाँ मूल्य निगमलाई प्राप्त भएको थियो । नयाँ मूल्यअनुसार पेट्रोलको लागत मूल्य प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा, डिजेलमा १४ रुपैयाँ र हवाई इन्धन १६ रुपैयाँले मूल्य घटेको छ ।

यस्तै खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ५२ रुपैयाँले घटेर नयाँ मूल्य प्राप्त भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । ‘१५ असोजमा आएको नयाँ मूल्यपछि निगम मासिक २ अर्ब २८ करोड रुपैयाँ नाफामा जाने प्रक्षेपण छ,’ प्रवक्ता उपाध्ययले थपे, ‘पहिले अन्तर्राष्ट्रिय मूल्य घटेको थियो तर अब फेरि प्रति ब्यारल एक सय डलर हाराहारी मूल्य पुगेको छ, निगमको नाफा निरन्तर रहने अवस्था छैन ।’

निगमका अनुसार नयाँ मूल्यपछि अहिले निगमलाई पेट्रोलमा १६ रुपैयाँ, डिजेल ९ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५१ रुपैयाँ नाफा छ । यस्तै ग्याँसको घाटा घटेर प्रतिसिलिण्डर ३२५ रुपैयाँमा झरेको छ ।

मूल्य समायोजनबारे निगमले कुनै निर्णय नगरेको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । निगम केही नाफामा गएको देखिए पनि तत्काल यो दीगो हुने अवस्था नरहेको उनले बताए । ‘एक सातादेखि निगम नाफामा छ, तर फेरि अन्तर्राष्ट्रिय मूल्य बढेको छ । यो नाफा दीगो हुने अवस्था छैन,’ थानीले थपे, ‘आईओसीको २१ अर्ब बक्यौता र १० अर्ब ऋणको अवस्थामा निगम रहेका कारण पनि तत्काल मूल्य घटाउने विषयमा छलफल नै भएको छैन ।’

निगम सञ्चालक समिति अध्यक्ष रहने वाणिज्य तथा आपूर्ति सचिव तोयम राय भर्खरै मन्त्रालयको जिम्मेवारीमा आएको र निगम बोर्ड बैठक समेत नबसेको थानीको भनाइ छ । मूल्य समायोजनबारे अब बस्ने बोर्ड बैठकले नै तय गर्ने उनको भनाइ छ ।

विगतको बक्यौता र अहिलेको खरिद बिक्री समेत गरेर एक महिनामा भारतीय आयल कर्पोरेसनलाई ४३ अर्ब रुपैयाँ भुक्तानी गर्नु पर्ने निगमको दाबी छ ।