डडेल्धुरामा स्नेही, पाल, जोशी र अवस्थीले  गरे मनोनयन फिर्ता

डडेल्धुरामा स्नेही, पाल, जोशी र अवस्थीले  गरे मनोनयन फिर्ता

डडेल्धुरा । आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागी डडेल्धुराबाट उम्मेदवारी दिएका पाँच जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।  जस अन्तरगत प्रदेशसभातर्फका दुई र प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । 

प्रतिनिधिसभातर्फ एक र प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ एमालेबाट उम्मेदवार बनेका चक्रप्रसाद स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका छन् । 

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार प्रदेशसभा १ मा नेपाली काँग्रेस (बिपी) का गणेशप्रसाद जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। 

प्रतिनिधिसभाका तीन जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब सङ्घमा ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिने छन् । भने प्रदेशसभामा १२ जना उम्मेदवार बिच प्रतिस्पर्धा हुने भएको छ।
 
जस अन्तरगत प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेस (बिपी) का कर्णबहादुर मल्ल, एमालेका बागी विक्रम शाही, राप्रपाका गोविन्द खडायत, जनता समाजवादी पार्टीका श्याम सिनाल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल  ‘मम्याल बाजे’ र लालबहादुर कठायतबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

यस्तै,  सत्ता गठबन्धन दलबाट डडेल्धुरामा प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र प्रदेशसभा २ मा नेपाली काँग्रेसका गोविन्दराज बोहराले उम्मेदवारी दिएका छन्।

प्रदेशसभा १ मा नेकपा एमालेबाट पठानसिंह बोहरा र प्रदेशसभा २ मा गजेन्द्र शाही, प्रदेशसभा २ मै स्वतन्त्र डा. तारा जोशीको उम्मेदवारी छ। 

प्रदेश २ बाट राप्रपाबाट पदमराज जोशी तथा स्वतन्त्र महेश धामी र धनबहादुर बोहराको उम्मेदवारी छ। 

प्रदेशसभा २ मा राप्रपाबाट खेमराज पनेरु, जसपा बाट नर भान पार्की, स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धिक्त पनि चुनावी मैदानमा उत्रिएका छन् ।