बिपी र गणेशमानको तस्बिरमुनि प्रचण्डको प्रशिक्षण

बिपी र गणेशमानको तस्बिरमुनि प्रचण्डको प्रशिक्षण

नेपाली कांग्रेस गोरखाको तीनधारेस्थित पार्टी कार्यालयमा शनिबार फरक दृश्य देखियो। यो कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता मात्र होइन, सत्ता गठबन्धनका अन्य दलका नेता, कार्यकर्ता पनि थिए।

कांग्रेस कार्यालयमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्‍ठ पनि बोलेका थिए।

गोरखामा सत्ता गठबन्धनबाट १ नम्बर क्षेत्रमा कांग्रेस राजेन्द्र बजगाईं उम्मेदवार छन् भने प्रदेश सभा क्षेत्र (क) मा माओवादीका कृष्ण धिताल र (ख) मा कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपाने उम्मेदवार छन्।

गोरखा-२ मा भने प्रतिनिधि सभातर्फ माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार छन्। प्रदेश सभा क्षेत्र (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र (ख) मा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे उम्मेदवार छन्।

यी दुबै प्रतिनिधि सभा क्षेत्र र चारवटै प्रदेश सभा क्षेत्रका कांग्रेस र माओवादीका अगुवा नेता तथा कार्यकर्ता शनिबार कांग्रेस कार्यालयमा भेला भई प्रशिक्षण लिएका थिए।

सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल हुँदा गोरखाका कांग्रेस, माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उम्मेदवार मैदानमा छन्। भट्टराई नेतृत्वको समाजवादीले माओवादीकै चुनाव चिन्हमा आफ्ना उम्मेदवार उठाएको छ।

दलहरूबीच केन्द्रमा सहमति भई चुनावी तालमेल गर्ने निर्णय भएको थियो। दलहरू एक्लाएक्लै चुनाव नलडेको भन्दै चुनावी तालमेलबारे कार्यकर्ताहरूबाटै आलोचना पनि सुनिन्छन्।

गोरखामा झन् अवस्था अन्यत्रभन्दा भिन्न छ। तालमेल गर्दा गोरखा १ को (ख) मा माओवादी समर्थकले प्रदेश र केन्द्रका गरी दुइटै मतपत्रमा प्रत्यक्षतर्फ हँसिया हतौडामा भोट हाल्न पाउँदैनन् किनकी यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार छन्।

यस्तै गोरखा क्षेत्र नम्बर २ को (क) का कांग्रेसी मतदाताले पनि प्रदेश र केन्द्र दुई मतपत्रमै प्रत्यक्षतर्फ कांग्रेसलाई भोट दिन पाउँदैनन् किनभने यहाँ माओवादीका उम्मेदवार छन्।

गठबन्धन गर्दा फरक पार्टीबाट उम्मेदवारी परेका क्षेत्रहरूमा मतदान गर्न नेता तथा कार्यकर्ता जाँदैनन् कि भन्ने चिन्ताले अहिले गोरखाका दलहरूलाई सताएको छ। त्यसैले उनीहरूले शतप्रतिशत मत ‘ट्रान्सफर’ गर्न एकअर्का पार्टी कार्यालयमा कार्यक्रम गर्नेजस्ता गतिविधि अगाडि बढाएका छन्।

माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ मा गोरखामा मुख्यतया कांग्रेस-माओवादीबीच सम्बन्ध राम्रो थिएन। द्वन्द्वका बेला कांग्रेस र माओवादीतर्फका समर्थकहरू सुराकीका आधारमा मारिएका र बेपत्ता भएका थिए।

त्यसबेलाका प्रमुख दुश्मन शक्तिहरू अहिले काँधमा काँध मिलाएर एकै गठबन्धन गरी चुनावमा होमिएका छन्। तर द्वन्द्वका बेला दु:ख पाएकाहरूले विगत सम्झँदै मतदानमा आनाकानी गरिरहेका छन्, यसले गठबन्धनका उम्मेदवारलाई मत ट्रान्सफर हुन्न कि भन्ने चिन्ता थपिएको छ।

गोरखाका सत्ता गठबन्धनका उम्मेदवारहरूले कांग्रेस र माओवादीका नेता तथा कार्यकर्तासँग राजनीतिक र भावनात्मक सम्बन्ध सुधारका लागि कार्यक्रमहरू गरिरहेका छन्।

शनिबार कांग्रेस कार्यालयमा प्रचण्डसहित उपस्थित भएर गरिएको अभिमुखीकरण त्यसैको सिलसिलामा भएको हो। कार्यक्रममा बोल्दै प्रचण्डले विशेष गरी कांग्रेस र माओवादीभित्र नेता र कार्यकर्ताबीच भावनात्मक र राजनीतिक सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन यस्तो कार्यक्रम गरिएको बताए। -सेतोपाटी