सुदूरपश्चिमका अधिक क्षेत्रमा सत्ता गठबन्धनविरुद्ध एमाले एक्लै चुनावी मैदानमा, यी हुन् उम्मेदवार ?

सुदूरपश्चिमका अधिक क्षेत्रमा सत्ता गठबन्धनविरुद्ध एमाले एक्लै चुनावी मैदानमा, यी हुन् उम्मेदवार ?

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनविरुद्ध विभिन्न पार्टीसँग तालमेल गर्ने प्रयत्न गरेको नेकपा (एमाले) अन्ततः झण्डै एक्लै चुनावमा होमिएको छ। एमालेले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस (बीपी) र राप्रपासित चुनावी तालमेल गर्ने प्रयास गरे पनि सफलता नभएपछि एक्लै भएको हो ।

डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध भण्डै भइसकेको तालमेल बिग्रेको छ। त्यसअघि रेशम चौधरीको नागरिक उन्मुक्तिसँग तालमेलको प्रयास भए पनि सो पार्टीले धेरै सिट मागेपछि एमालेले तालमेलको प्रयास छाडेको थियो ।

राप्रपासित पनि तालमेल गर्ने प्रयास गरेको एमालेले बढी क्षेत्र माग गरेपछि पूर्णरुपमा तालमेल हुन नसकेको सो दलले जनाएको छ। यद्यपि कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा एमालेले राप्रपालाई र राप्रपाले क्षेत्र नम्बर ३ को प्रतिनिधि र प्रदेश ‘ख’ मा एमालेलाई सहयोग गर्ने सहमति भएको एमालेले जनाएको छ।

यस्तै, कैलाली क्षेत्र नम्बर १ को ‘क’ मा जनता समाजवादी पार्टीलाई एमालेले सघाउने भएको छ । त्यसको बदलामा जसपाले क्षेत्र नम्बर १ ‘ख’ मा सहयोग गर्ने सहमति भएको छ । एमालेको स्थानीय नेतृत्वले प्रदेशको ‘क’ मा राप्रपासँग सहमति गर्न खोजेको थियो । सो क्षेत्रमा जसपाको तुलनामा राप्रपा बलियो देखिएको छ ।

अघिल्लो चुनावमा नेकपा माओवादी केन्द्र सँग तालमेल हुँदा प्रतिनिधि सभाका १६ मध्ये १३ क्षेत्र र प्रदेशका ३२ मा २० क्षेत्रमा उम्मेदवारी दिएको एमालेले यस पटक प्रतिनिधि सभाका १५ वटा र प्रदेशका ३० क्षेत्रमा उम्मेदवार उठाएको छ । डडेल्धुरामा भने प्रतिनिधि सभातर्फ एमालेको उम्मेदवारी खाली भएको छ ।

कांग्रेस बीपीसँग सहमति भएपछि प्रतिनिधि सभाका उम्मेदवार चक्र स्नेहीले उम्मेदवारी फिर्ता सलएका छन् । तर बीपीसँग सहमति टुटेपछि एमाले उम्मेदवारविहीन बनेको छ। यद्यपि त्यहाँ एमालेकै विक्रम शाही स्वतन्त्रबाट उम्मेदवार छन्। वाम गठबन्धनका कारण २०७४ मा एमालेले प्रतिनिधि सभामा १६ मध्ये १२ र प्रदेशका ३२ मध्ये १७ क्षेत्रमा विजय हासिल गरेको थियो । यस पटक एमालेले बाजुरामा कर्णबहादुर थापा,दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, बझाङमा ऐन महर, डोटीमा गौरीकुमारी ओलीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।

यसैगरी, अछाम क्षेत्र नम्बर १ मा झपटबहादुर बोहरा, क्षेत्र नम्बर २ मा यज्ञ बोगटी, कञ्चनपुर क्षेत्र नम्बर १ मा तारा लामा तामाङ, क्षेत्र नम्बर २ मा नरबहादुर धामी, क्षेत्र नम्बर ३ मा निरुदेवी पाल, कैलाली क्षेत्र नम्बर १ मा तपेन्द्रबहादुर रावल, क्षेत्र नम्बर २ झपटबहादुर रावल, क्षेत्र नम्बर ३ मा गौरीशंकर चौधरी, क्षेत्र नं. ४ मा लेखराज भट्ट र क्षेत्र नम्बर ५ मा नारदमुनी राना प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । एमालेले उम्मेदवार बनाएकामध्ये बझाङका महर र क्षेत्र नम्बर १ का रावल पहिलो पटक संसदीय चुनावमा उत्रिएका छन्। यद्यपि रावल ०७४ मा टीकापुर नगरपालिकाका प्रमुखमा निर्वाचित भएका थिए ।

प्रदेश सभाका प्रत्यक्षतर्फका ३२ मध्ये एमालेले कैलाली क्षेत्र नम्बर १ ‘ख’ द्वारिकाप्रसाद न्यौपाने, कैलाली २ ‘क’ मा कमलाकुमारी ओली, ‘ख’ मा डेजी पाण्डे, कैलाली क्षेत्र नम्बर ३ ‘क’ मा राजबहादुर बुढा, ‘ख’ मा जयनारायण जोशी, कैलाली क्षेत्र नम्बर ४ ‘क’ मा भीमबहादुर देउवा, ‘ख’ मा हरिसिंह साउद, कैलाली क्षेत्र नम्बर ५ ‘क’ मा नेपालु चौधरी र ‘ख’ मा दुर्गा जोशीलाई उम्मेदवार बनाएको छ ।

सोहीअनुसार कञ्चनपुर क्षेत्र नम्बर १ ‘क’ बाट वीरबहादुर थापा, ‘ख’ बाट पल्लभराज भट्ट, कञ्चनपुर क्षेत्र नम्बर २ ‘क’ बाट वचनबहादुर सिंह, ‘ख’ बाट कृपाराम राना, कञ्चनपुर क्षेत्र नम्बर ३ ‘ख’ बाट सुरेन्द्र विष्ट प्रदेश सभा सदस्यका उम्मेदवारी दिएका छन् ।

सोहीअनुसार डडेल्धुरा ‘क’ बाट पठानसिंह बोहरा, ‘ख’ बाट गजेन्द्रबहादुर शाही, डोटी क्षेत्र नम्बर १ ‘क’ बाट चक्रबहादुर मल्ल, ‘ख’ बाट टेकबहादुर वम, बाजुरा ‘क’ बाट बलदेव रेग्मी, ख बाट लालबहादुर थापा, बझाङ ‘क’ बाट अफिलाल ओखेडा, ‘ख’ बाट एलबी रावल, अछाम क्षेत्र नम्बर १ ‘क’ बाट देवबहादुर कुँवर, ‘ख’ बाट कृष्णप्रसाद जैंशी, अछाम क्षेत्र नम्बर २ ‘क’ बाट भीमबहादुर विष्ट, ‘ख’ बाट शिवप्रसाद उपाध्यायले उम्मेदवारी दिएका छन्।

त्यस्तै, बैतडी ‘क’ बाट सुरेन्द्रबहादुर पाल, ‘ख’ बाट लिलाधर भट्ट, दार्चुला ‘क’ बाट हरदेव जोशी, ‘ख’ बाट रामदत्त जोशी उम्मेदवार बनेका छन्। एमालेले कञ्चनपुर क्षेत्र नम्बर ३ को ‘क’ राप्रपाका धर्मराज जोशी र कैलाली क्षेत्र नम्बर १ को ‘क’ मा जसपाका भगतराम चौधरीलाई समर्थन गरेको छ । -गोरखापत्र