सुदूरपश्चिममा प्रतिनिधि ४ र प्रदेश सभाका १२ सिटमा माओवादी केन्द्रको उम्मेदवारी, कहाँ को भिड्दै ?

सुदूरपश्चिममा प्रतिनिधि ४ र प्रदेश सभाका १२ सिटमा माओवादी केन्द्रको उम्मेदवारी, कहाँ को भिड्दै ?

मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका लागी बिभिन्न राजनितीक दल तथा स्वतन्त्र उम्मेदवारहरु निर्वाचनमा होमीएका छन्। निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेसँगै उनीहरुले आफ्ना चुनावी एजेन्डा तथा घोषणापत्र लिएर मतदाता कहाँ तथा घरदैलोमा बेस्त देखीएका छन् ।

यसैबिच सत्तारुढ गठबन्धनमा तालमेल हुँदा सुदूरपश्चिममा प्रतिनिधिसभाका १६ क्षेत्रमध्ये नेकपा माओवादी केन्द्र लाई ४ सिट भागमा उम्मेदवार उठाएको छ। चुनावी तालमेलअनुसार कैलाली–२ र ३, कञ्चनपुर–१, र बैतडीमा उम्मेदवार उठाएको छ । यी क्षेत्रमा उम्मेदवार रहेकाहरु अधिकांश यसअघि संसद छिरेका र प्रतिस्पर्धामा पराजित भएकालाई टिकट दिइएको छ। निवर्तमान प्रतिनिधिसभा सदस्यमध्ये केही दोहोरिएर चुनाव लड्दैछन्। कतिपय भने संघबाट प्रदेशमा झरेर निर्वाचनमा होमीएका छन् ।

कैलाली–२ मा पूर्वसांसद तथा संविधान सभा सदस्य भगत बडुवाल (मुक्ति) प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित बडुवाल दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा नेकपा एमालेबाट झपटबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतसिंह बिसी (बुढाक्षेत्री), नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावलले प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट कमलेशकुमार चौधरी, नेकपा माओवादी समाजवादीबाट शेखर शर्मा, मंगोल नेशनल अर्गनाइजेशनबाट पदमबहादुर बुढामगर, देशराज चौधरी उम्मेदवार छन् । यसक्षेत्रमा ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ सत्ता गठबन्धनका बडुवाल, एमालेका रावल र नागरिक उन्मुक्तिका चौधरीबीच त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यसक्षेत्रमा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवारले १७ हजार ८३४, कांग्रेसको १३ हजार ८२०, माओवादीले ८ हजार ७२४ मत ल्याएका छन् भने, नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३, राप्रपाले २ हजार ४०७ र एकीकृत समाजवादीले २ हजार ३०६ मत ल्याएका थिए । यहाँ सत्ता गठबन्धन अघि छ भने, एमाले दोस्रो छ ।

त्यस्तै, कैलाली–३ बाट माओवादी केन्द्रले कृष्णकुमार चौधरी ९कुन्दन० लाई उम्मेदवार बनाएको छ । चौधरी पनि यसअघि ०६४ मा माओवादीबाट निर्वाचित संविधानसभा सदस्य हुन् । पार्टी विभाजनपछि बाबुराम भट्टराईलाई साथ दिएका उनी केही महिनाअघि माओवादी केन्द्रमा फर्किएका थिए । माओवादी केन्द्रीय सदस्यसमेत रहेका चौधरी र माओवादी छोडेर एमाले प्रवेश गरेका गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा हुनेछ ।

जनयुद्धकालदेखिका यी दुई पूर्वसहकर्मी आमने–सामने हुन लागेका हुन् । यसक्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीलाई पनि बलियो दाबेदारका रुपमा हेरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८ जनाको उम्मेदवारी परेको थियो । जसमा २ स्वतन्त्र र ६ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् । गत बैशाखमा सम्पन्न मतभारलाई हेर्दा यहाँ कांग्रेसले १९ हजार ९९२, माओवादीले ११ हजार ७१६, एमालेले ११ हजार २५७, राप्रपा ६ हजार ६९९ मत ल्याएको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४७, जसपा २ हजार ८५९ र एकीकृत समाजवादी पार्टीले १ हजार ९७८ मत ल्याएका थिए । यहाँ वडाअध्यक्षका उम्मेदवारले पाएको मतपरिणामलाई नियाल्दा लोकतान्त्रिक–बाम गठबन्धनमा अगाडि देखिन्छ ।

उता, कञ्चनपुर–१ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य बीना मगर दोहोरिएकी छन् । बीना यसअघि सोही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद एवं पूर्वमन्त्री हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० जनाको उम्मेदवारी परेको थियो । जसमा ३ स्वतन्त्र र ७ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पूर्व खानेपानीमन्त्री समेत बनेकी बीनासँग नेकपा एमालेका तारा लामा तामाङ चुनावी मैदानमा भिड्दै छन् । ०७४ मा एमालेबाट कञ्चनपुर–१ (क) मा प्रदेश सभामा निर्वाचित तामाङ यसपटक संघमा उक्लिएका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट सारथी बनेका नै यसपटक प्रतिस्पर्धामा उत्रिएपछि यहाँको निर्वाचन रोचक र पेचिलो हुने देखिएको छ । यहाँ गठबन्धनमा रहेको माओवादीसँग एमालेकै टक्कर हुनेछ । तर, सहजै जित निकाल्न स्वतन्त्र उम्मेदवार भारी पर्ने देखिन्छ । 

यसक्षेत्रमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारले पाएको मतपरिणामले लोकतान्त्रिक–बाम गठबन्धनमा अगाडि देखिन्छ । एमालेले १८ हजार ७७३, कांग्रेसले १८ हजार ७३२, माओवादीले १५ हजार २८९ मत ल्याएका छन् भने, एकीकृत समाजवादीले ३ हजार ५२१ र राप्रपाले २ हजार ६९२ मत ल्याएका छन् ।

त्यस्तै, बैतडीबाट नरेन्द्रबहादुर कुँवरले प्रतिनिधि सभामा टिकट पाएका छन् । कुँवर ०६४ को संविधानसभा निर्वाचनमा निर्वाचित सांसद हुन् । नेकपा एमालेका दामोदर भण्डारीसँग सत्ता गठबन्धनका कुँवरको प्रतिस्पर्धा हुनेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ११ जनाको उम्मेदवारी परेको थियो । जसमा ३ स्वतन्त्र र ८ राजनीतिक दलका उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार नै मुख्य प्रतिस्पर्धी राजनीतिक दलका उम्मेवारलाई चुनौती हुने देखिएको छ ।

यहाँ जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवबहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाईँ, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका हिम्मतबहादुर चन्द, नेश्नलिष्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, स्वतन्त्र उम्मेदवार त्रिलोकबहादुर चन्द, मानसिंह विष्ट र केशवबहादुर चन्द प्रतिस्पर्धामा छन् । बैतडीमा गत स्थानीय तहमा मत परिणामअनुसार एमालेले ३५ हजार ४८, कांग्रेसले ३३ हजार ६८३, माओवादीले १४ हजार ९९८, एकीकृत समाजवादी ३ हजार १४० र राप्रपाले २ हजार ४ मत ल्याएका छन् ।

माओवादीको प्रदेश सभाको १२ सिटमा प्रतिस्पर्धा :

नेकपा (माओवादी केन्द्र) का नेता एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट प्रदेशसभामा झरेका छन् । भट्टले डडेलधुरा (क) बाट सुदूरपश्चिम प्रदेशसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका हुन् । ०७४ को निर्वाचनमा उनले डडेलधुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट भट्ट यसपटक प्रदेश सभामा ओर्लिएका हुन् ।

त्यस्तै, डोटी (ख) बाट माओवादीले शिवसिंह ओलीलाई उम्मेदवार बनाएको छ । ओली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव हुन् । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं डोटी जिल्ला इञ्चार्जसमेत हुन् । ओली प्रदेश सभामा पहिलोपटक होमिएका हुन् । डोटीमा गठबन्धनमा रहेको दल कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएपछि मत विभाजन हुने देखिएको छ ।

कैलाली–१ (क) मा माओवादी केन्द्रले दिर्घराज बिनाडीलाई उम्मेदवार बनाएको छ । बिनाडी पनि नयाँ प्रतिस्पर्धी हुन् । कैलाली–२ (ख) बाट माओवादी केन्द्रका प्रदेश सभा सदस्यसमेत रहेका नन्दबहादुर साउँद ९राजेन्द्र० चुनावी मैदानमा छन् । ०७४ मा साउँद सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी यसपटक फेरि दोहोरिएका हुन् । कैलाली–५ (क) मा माओवादी केन्द्रबाट रमेशसिंह धामीले उम्मेदवारी दिएका छन् । ०७४ को निर्वाचनमा उनी सुदूपश्चिम प्रदेश सभामा पराजित भएका थिए । नेपाली कांग्रेसका डिल्लीराज पन्तसँग पराजित उनी प्रदेश सभामा फेरि दोहोरिएका हुन् ।

दार्चुला–१ (ख) मा मानबहादुर धामी (सन्तोष) चुनावी प्रतिस्पर्धामा छन् । ०७४ मा सोही क्षेत्रबाट निर्वाचित धामी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत हुन् । उनी दोस्रोपटक प्रदेश सभामा उम्मेदवार बनेका छन् । कञ्चनपुर–२ (क) मा नेकपा माओवादी केन्द्रबाट ओमविक्रम भाटले उम्मेदवारी दिएका छन् । प्रदेश सभामा उनी पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । कञ्चनपुर–३ (क) मा पूर्वसांसद तथा संविधान सभा सदस्य टेकेन्द्रप्रसाद भट्टले टिकट पाएका छन् । उनी संघबाट प्रदेशमा झरेका छन् । बाजुरा–१ (क)नेकपा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्मालाई अघि सारेको छ । उनी यसपटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।

अछाम–१ (ख) माओवादी केन्द्रका झपटबहादुर साउँद उम्मेदवार छन् । उनी नयाँ उम्मेदवार हुन् । अछाम–२ (क) मा माओवादी केन्द्रका अक्कलबहादुर रावलले उम्मेदवारी दिएका छन् । ०७४ मा रावल सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए भने, माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश संसदीय दलका सचेतकसमेत हुन् । रावल फेरिपनि प्रदेशमा दोहोरिएका हुन् । त्यस्तै, बझाङ–१ (ख) बाट माओवादी केन्द्रले भीमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । उनी पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् । सत्ता गठबन्धनबाट अघि बढेको माओवादीलाई आगामी संसदीय यात्रा भने के होला भन्ने चाँसो बढेको छ ।