कैलाली क्षेत्र नम्बर ४ मा आएका योजना जनतामाझ छर्लङ्ग छ: मन्त्री सोडारी

कैलाली क्षेत्र नम्बर ४ मा आएका योजना जनतामाझ छर्लङ्ग छ: मन्त्री सोडारी

चौमाला– प्रदेश सरकार गठन भएपछिको पाँच वर्षमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा उम्मेदवार दीर्घ बहादुर सोडारीले बताएका छन् । गौरीगंगा नगरपालिका– ३, कुचैनीमा भएको चुनावी भेलामा बोल्दै मन्त्री सोडारीले समानुपातिक ढङ्गबाट निर्वाचन क्षेत्रमा करोडौँका बहुवर्षिय योजनाहरू सुचारु भइरहेको बताएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रमा के कति योजनाहरू आएका छन्, ती बारे यहीँका जनतालाई छर्लङ्गै भएको बताउँदै उनले भने,‘कति योजनाहरू निर्माण सम्पन्न भइसकेका छन् भने कति योजनाहरू ठेक्का प्रक्रियामै छन् ।’

चौमालाको पुरानो बजार जोड्न पक्की पुलदेखि ग्रामीण सडक कालोपत्रे जस्ता तमामै विकासे योजना निरन्तर अगाडि बढिरहेको उनले बताए । उनले भने,‘मैले अघिल्लो निर्वाचनमा चुरे क्षेत्रका मतदातासँग मत माग्दै गर्दा अर्को निर्वाचनमा गाडी चढेरै आउने भनेको थिएँ, सोही अनुरूप चुरे र मोहन्यालका गाउँ गाउँमा सडक सञ्जाल जोडिसकेको छ । यस निर्वाचनमा म ती दुर्गम गाउँमा गाडी लिएरै आउँदै छु ।’ 

चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री सोडारीले यो निर्वाचन अहिले अतिवादी केपी ओली प्रवृत्तिका विरुद्ध भएको बताउँदै भने,‘हाम्रो लडाइँ भनेको ओली प्रवृत्तिका विरुद्ध हो । ओली प्रवृत्ति देशमा हाबी भएमा प्रतिगमन बढ्ने खतरा भएकाले बाम–लोकतान्त्रिक गठबन्धन देशको रक्षार्थ एक ठाउँमा उभिएको हो ।’ ओलीले राष्ट्रपतिसँग मिलेर संविधानमाथि हमला गरेको बताउँदै उनले भने,‘तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विघटन गर्न तत्कालीन प्रधानन्यायाधीश चन्द्रशमशेर जबरासँग सेटिङ गरेर पार्टी अलग्याएका हुन् ।’