एलन मस्कले भने,ट्विटरको लागि बढी पैसा तिर्दैछौं

एलन मस्कले भने,ट्विटरको लागि बढी पैसा तिर्दैछौं

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले आफू र अन्य लगानीकर्ताहरूले सामाजिक सञ्जाल ट्विटर इंक खरिदको लागि बढी लगानी गरेको बताएका छन्।

उनले बुधबार भएको टेस्लाको त्रैमासिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन्। 
ट्विटर खरिदको लागि ठूलो लगानी हुँदैछ। तर यो उपयुक्त पनि छ, उनले भनेका छन्, भविष्यमा यसको बजार विस्तार हुने सम्भावना उच्च छ।

एलन मस्कले केही समय अघि ट्विटर खरिदको लागि ४४ बिलियन अमेरिकी डलर अर्थात् नेपाली करिब ५ खर्ब ८५ अर्ब ५८ करोड ८० लाख बढी रूपैयाँ तिर्न अस्वीकार गरेका थिए। उनले ट्विटर खरिदको सम्झौता रद्द गरेका थिए। तर अहिले उनले ट्विटरमा राम्रो सम्भावना देखेको बताएका हुन्।

यसअघि ट्विटरले आफूले मागेको सूचना नदिएको भन्दै मस्कले ट्विटर नकिन्ने बताएका थिए। ट्विटर खरिद गर्नबाट मस्क पछि हटेपछि ट्विटरले अदालतमा मुद्दा हालेको छ। पहिले सम्झौताबाट पछि हटेका भए पनि मस्क अहिले ट्विटर खरिद गर्न सम्झौता गर्न खोजिरहेका छन्।  

मस्क आफूसँग ट्विटर खरिद गर्न पर्याप्त रकम भएको बताउँदै छन्। तर बजार विशेषज्ञहरू मस्कले ट्विटर खरिद गर्न अझै ३ बिलियन अमेरिकी डलरको स्टक बिक्री गर्नुपर्ने अनुमान लगाउँछन्। 

मस्कले ट्विटर खरिद गर्दै सम्झौतामा हस्ताक्षर गर्छन् वा गर्दैनन् भन्ने यही अक्टोबरको अन्तिम सातामा निर्णय हुनेछ।