मुक्तहलिया पुनःस्थापनामा ३ करोड बढी भ्रष्टाचार! राष्ट्रियसभामा उठ्यो कुरा

मुक्तहलिया पुनःस्थापनामा ३ करोड बढी भ्रष्टाचार! राष्ट्रियसभामा उठ्यो कुरा

काठमाडौंः डडेलधुरामा हलिया मुक्त पुनःस्थापना कार्यक्रमको रकममा व्यापक अनियमितता भएको भन्दै दोषीलाई कारवाही गर्नुपर्ने आवाज राष्ट्रिय सभामा उठेको छ। 

एक सांसदका अनुसार हलियालाई दिने रकमबाट प्रतिव्यक्ति २० हजारको दरले ३ करोड ३८ लाख रुपैयाँ अनियमितता भएको छ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेलधुरा मालपोत कार्यालयका सहायक दान बहादुर बिक, लेखापाल दिलबहादुर ऐर र मुक्त हलियाका जिल्ला अध्यक्ष तुलाराम सार्कीले हलिया पुनःस्थापना कार्यक्रमको रकममा अनियमितता गरेको आरोप लगाए। 

उनीहरुले प्रतिव्यक्ति २० हजारको दरले ३ करोड ३८ लाख रुपैयाँ घुस लिएको प्रमाणित भइसकेको भन्दै कडा कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराए।

घुस लिएको प्रमाणित भएपछि केही रकम उनीहरुले फिर्ता गरेको बताउँदै उनले भने, ‘त्यही बहानामा छुट दिने काम नहोस्।’

डडेलधुरामा १ हजार ५ सय ५८ जना हलिया पुनःस्थापित भइसकेका छन् भने २ हजार ५ सय ५१ जना हलिया सरकारको हलिया पुनःस्थापना कार्यक्रम अन्तर्गत सेवा लिने क्रममा छन्। 

सो कार्यक्रम अन्तर्गत सरकारले घर निर्माणका लागि ३ लाख २५ हजार, मर्मतका लागि १ लाख २५ हजार र जमिन खरिदका लागि २ लाख रुपैयाँ जिल्ला मालपोत कार्यालय मार्फत उपलब्ध गराउँदै आएको छ।