‘बालबालिका भुल्याउने माध्यम बन्दै मोबाइल फोन’

‘बालबालिका भुल्याउने माध्यम बन्दै मोबाइल फोन’

गणेश मौनी
एक प्रकारको नसा : 
आजकाल बालबालिकाहरुले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ । अभिभावकहरुको लागि पनि बालबालिका भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरुका लागि एक प्रकारको नसा जस्तै बनेको छ । जसले गर्दा बालबालिकामा र आम वर्गमा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ । अनि अहिलेका बालबालिकाहरु मोबाइल बिना केही पनि गर्न मान्दैनन् ।  


धेरै मोबाइल चलाउदा वयस्क भन्दा बालबालिकाको शारीरिक तथा मानसिक विकास देखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यानदिनु जरुरी छ । बालबालिकाहरुले धेरै मात्रामा मोबाइल चलाउँदा बालबालिकाको बृद्धी बिकासमा असर पार्ने गरेको बताउन्छन् जिल्ला अस्पताल डोटीका मेडीकल अधिकृत डा. राजेन्द्र फुलारा उनी भन्छन् ‘ पछील्लो समयमा मोबाइल चलाउनु बालबालिकाहरुका लागि एक खालको नसा जस्तै बनेको छ । जसरी नसालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाईल चलाउदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ ।’  सुरुमा मोबाइल चलाउदा मस्तिस्कले केमिकल रिलिज गर्दा खुशी बनाउने खालको हर्माेन बनाइदिन्छ । जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउदा खुशी हुन्छन् बालबालिका तर लगातार मोबाईल चलाउदा ब्रेन सुस्त हुर्दै जान्छ । मोबाइल चलाउने नसा लागेको बालबालिकामा विभिन्न नकारात्मक असरहरु देखिन थाल्छन्। लामो समय सम्मको मोबालयको प्रयोगले बालबालिकाको मात्र नभई बयस्कहरुलाई पनि मानसिक असर देखिने गरेको समेत डा. फुलारा बताउन्छन् ।  

मानसिक समस्या 
अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई भुल्याउनको लागि मोबाइल दिने गरेको पाइन्छ । आफू काम गर्नको लागि भएपनि बालबालिकाहरुलाई मोबाईल दिने अभिभावकहरु धेरै छन् । त्यसैले जति सानो उमेरमा, जति धेरै मोबाइल चलायो त्यतिधेरै असर भइरहेको डा. फुलारा बताउन्छन् ।  निरन्तर मोबाइल हेरिरहदा आँखाको दृष्टि गुम्न सक्ने, सानै उमेरमा चस्माको प्रयोग गर्नुपर्ने, राम्रोसँग हेर्न नसक्ने हुन सक्छ ।  आँखामा मात्रै होइन ब्रेनमा पनि असर पर्छ । विस्तारै बालबालिकाको बे्रनलाई सुस्त बनाइदिन्छ, जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ । यसरी धेरै मोबाईल हेर्ने बानी भएको बालबालिकामा डिप्रेशन पनि हुनसक्ने सम्भावना हुन्छ, बालबालिकाका आफ्ना सिर्जित गतिबिधीहरु न्यून हुन्छन् जसका कारण  दिमाग तेजिलो हुन पाउन्न यस्ता थुप्रै समस्याहरु देखा पर्छन् ।  धेरै मोबाइल प्रयोगले साना बालबालिकाहरुलाई मात्र होईन ठूला उमेर समुहका बालबालिकाहरुलाई पनि समस्या देखिने गर्छ । मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसंग कुरा नगर्ने, एकहोरो सोचको हुने जस्ता समस्याहरु लामो समयसम्म देखिन सक्छन् । बालबालिकाहरु प्राय यक्लै बस्न चाहाने सामाजिक हुन नचाहनु पनि समस्या हो ।  

शारीरिक समस्या
बालबालिकाले सबै कुरा आफुले प्रत्येक्ष रुपमा गरेर अथवा आफू भन्दा ठूला व्यक्तिहरुसंग सिक्दै जाने हो । बालबालिकाको उमेर भनेको शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय हो । तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबायलको प्रयोग धेरै गर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ । बालबालिकालाई मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदैन जसले गर्दा बालबालिकामा बोलीको विकास हुँन पाउदैन् । हिँडाइमा समस्या हुन्छ  । बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन । मोबाइल दिएका बालबालिका एकै ठाँउमा बसेर हेरिरहेका हुन्छन् जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन् ।  एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा उमेर अनुसारको तौल बढी हुने अथवा कम हुने,मोटोपनको सिकार हुने, बालबालिकाहरु सामाजिक बन्न नसक्नु, समयमा खाना नखाइदिने हुँदा बालबालिकाहरु शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि हुन्छ । जुन गतिमा  बालबालिकाको विकास हुनु पर्ने हो त्यही गतिमा भएको पाईदैन् ।  

मोबायलको सही प्रयोग गर्न आवश्यक छ   
विज्ञान र प्रबिधीको बिकास संगै मोबाइल प्रयोगमा आउनु राम्रो बिकासको कुरा हो मोबाइलको सही प्रयोग कहाँ र कसरी गर्ने भन्ने विषयमा आम नागरिक जानकार हुन आवश्यक रहको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । नियमीत मोबाइल प्रयोगका कारण बालबालिकाहरुमा पनि नकारात्मक असर पर्ने गर्छ । अहिलेको बालबालिकाहरु मोबायल बिना केही गर्न नसक्ने भएका छन् । धेरै मोबाइल प्रयोगका कारणले गर्दा बालबालिकाहरुमा शारिरीक, मानसिक असर पर्नुका साथै सामाजिक बिकृती बढ्न सक्ने सम्भावना एकातिर छ भने मोबायलको प्रयोग नै गर्न नदिदाँ अन्य बाह्य सामाजिक संजालबाट सिकीने नयाँ कुराको बिकासमा बाधा पुग्ने अर्को तिर देखिन्छ त्यसैले मोबायललाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन जान्छ । 
मोबाइलको सही प्रयोग गर्न सके फाईदै फाईदा छन् त्यसैले मोबाइल कुन उमेर समुह सम्म लाई चलाउन दिने आवश्यक छ की छैन्, सामाजिक संजालमा मार्फत के के कुराहरु हेर्न लगाउने, सामाजिक संजालमा के के कुरा लेख्न वा नपाउने, मोबायल कसरी के प्रयोजनको लागि प्रयोग गर्ने भन्ने विषयमा आम नागरिक अभिभावक सचेत र जानकार हुन आवश्यक रहेको बताए ।  लामो समय सम्म मोबाइल फोनको प्रयोगले बालवालिका मात्र नभई अन्य  पुस्तामा पनि दिनानु दिन समस्या देखिने गरेको समेत प्रजिअ श्रेष्ठले बताईन् ।  

बाल सृजनशिलता नाश हुदै 
धेरै मोबाइलको प्रयोग गर्दा बालबालिकाहरुको आफ्नो सृजनशिलता नास भइरहेको डोटी बहुमुखि क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले बताए । बालबालिकाहरुलाई खुवाउन, भुल्याउन, होमओर्क गराउन निउमा बार्गेनिङ गरि मोबाइल प्रयोगले बालबालिकाको जिन्दगी बबार्द भईरहेको छ ।  सानो उमेरको बालबालिका मात्र होईन क्याम्पस स्तरमा अध्ययनरत केटाकेटीहरु पनि मोबायल बिना एक पटक पनि बस्न नसक्ने कक्षाकोठामा नै मोबाइलको प्रयोग गरिरहेका देखिने गरेको बताए । 
मोबालयको प्रयोग गर्नु नराम्रो बानी होईन मोबायलमा धेरै राम्रा कुराहरु,विषयबस्तुहरु जानकारीहरु,नयाँ खोजमुलक कुराहरु पनि छन तर राम्रो काम भन्दा अनाआवश्यक कुराहरु फेसबुक च्याट गर्ने, तास खेल्ने, रातभरि खेल खेल्ने नसुत्ने गर्दा  दुरुपयोग धेरै भईरहेको समेत सहायक क्याम्पस प्रमुख देउवाले बताए । मोबाइल फोनको सही सदुपयोग हुन नसक्दा धेरै बालबालिका र युवाहरुको भबिश्य नै बबार्द हुन सक्ने भएको हुदाँ समयमै यसको निमुर्लिकरण तर्फ अभिभावकहरुको ध्यान जान आवश्यक रहेको बताए । 

पढ्ने बानीमा कमी 
विद्यालयमा अध्यापन गराएको विषय बस्तु बिद्यार्थिहरुले घरमा गएर दोहोर्यायर पढ्नु पर्छ मोबाइल प्रयोगका कारण दोहोर्यायर पढ्ने बानीमा कमी भईरहेको पद्म पब्लिक मुक्ती नारायण माध्यामीक बिद्यालय डोटीका प्रध्यानाध्यापक केशब राज ओझाले बताए ।  बिद्यालयमा पढेको कुरा बिद्यार्थिले कम्तीमा २४ घण्टा भित्र एक,दुई पटक दोहोर्यायर अध्ययन गर्दा सहजै रुपमा याद हुने हुन्छ कक्षा कोठामा बस्दा त विद्यार्थिहरुको ध्यान विषय बस्तुमा आकर्षण हुन्छ, सोधेको कुराको जवाफ दिन्छन, मोबाइलको प्रयोग पनि गदैनन तर बिद्यालयबाट घर गइसकेपछी मोबाइलमा ध्यान जाने गरेको कारण पढाएको कुरा बुझ्न, सम्झीनमा समस्या हुन सक्ने बताए । मोबालयको प्रयोग गर्नु नराम्रो बानी होईन मोबायलमा धेरै राम्रा कुराहरु,जानकारीहरु,पनि छन तर मोबायलाई कुन प्रयोजनमा प्रयोग गर्यो त्यो महत्वपूर्ण कुरा भएकोले सही सदुपयोग गर्न र गराउन सबैले ध्यान दिनुपर्ने समेत प्रअ ओझाले बताए । 


बाललत छुटाउन सकिन्छ  की ?
मोबाइल प्रयोगले गर्दा अन्य पुस्तामा भन्दा बालबालिकामा  विभिन्न नकारात्मक असर पर्ने गरेको देखिन्छ । निममीत मोबायलको प्रयोग अन्य नसा जस्तो छुटाउनै नसक्ने छुटाउदा बालबालिकामा दिर्घकालिन असर पर्छ भन्ने केही हुदैन् । मोबाइलको लत बसेको बालबालिका र अन्यलाई छुटाउनु भयो भने ब्रेनले पनि नियमित रुपमा काम गर्ने चिकीत्सकहरु बताउन्छन्  । मोबाइलको लत बसेका बालबालिकाहरुलाई एकै पटक लत घटाउन निकै गाह्रो हुन्छ । यदी कुनै  बालबालिकामा मोबाइल चलाउने लत बसेको छ भने एकै पटक छुटाउने कोसिस नगर्नुस् । एक घण्टा, आधा घण्टा गरेर विस्तारै मोबाइलको लत छुटाउन सकिन्छ । जसले गर्दा साथीसँग बोल्ने र  खेल्ने गर्न थाल्छन् भने  शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ । अभिभावकहरुले मोबाइलको सट्टा बालबालिकालाई खेलौना किनीदिने । चित्रहरु कोर्न, गित गाउँन, नाच्न लगाउन पनि सकिन्छ ।  यस्तै अभिभावकले आफ्ना छोराछोरीहरुलाई प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने, सामान्य रुपमा घरबाहिर घुमफेर गर्न लग्ने जस्ता कुराले पनि मोबाईलको लत छुटाउन सकिन्छ ।  कुरा बुझ्न सक्ने उमेर भएका बालबालिकाको हकमा भने मोबाईल हेर्दा कस्तो असर गर्छ भन्ने विभिन्न जानकारी मुलक कुराहरु देखाउन र भन्न सकिन्छ । यस्तै मोवाइल चलाउदा भएका समस्याहरु उदाहरण सहित बुझाएर लत हटाउन सकिन्छ । विद्यालयले पनि मोबाइल प्रयोगले बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा दैनिक रुपमा जानकारी गराउँदा थप सहयोग पुग्छ। 


    पछिल्लो समयमा मोबाइलको अत्यधीक प्रयोगले गर्दा बालबालिकामा नकारात्मक असर देखिन थालेपछी बालबालिकालाई मोबाइलबाट कसरी छुटकारा गर्न सकिन्छ भन्ने सवाल चासो र चिन्ताको विषय बनेको छ । अभिभावहरुले आफ्ना छोराछोरीहरुलाई कुन उमेर समुह सम्म मोबायलको प्रयोग  गर्न दिने वा नदिने , मोबायल प्रयोग गर्दा के के कुराहरु हेर्न र प्रयोग गर्न दिने भन्ने विषयमा समयमै निर्णय गरि कार्यान्वयन  गर्न नसके भविश्यमा पछुताउनु भन्दा अन्य कुनै विकल्प हुदैन् ।