तिहार विदामा ‘के घर के डेरा’को व्यापारमा उछाल

तिहार विदामा ‘के घर के डेरा’को व्यापारमा उछाल

तिहारको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ले हलमा दर्शकको चाप बढाउँदै लगेको छ । पहिलो दिन औसत अकुपेन्सी कायम गरेको फिल्म शनिवार देशभर हाउसफुल भयो । आइतवार भने फिल्मको व्यापार केही खुम्चियो । तर, सोमवारबाट तिहार-छठ विदा सुरु भएपछि फिल्मले व्यापारमा उछाल ल्याएको छ । यसको प्रमाण मंगलवारको व्यापार हो । 

मंगलवार विहानदेखि देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा फिल्मले प्राप्त गरेका शोजहरुमा दर्शकको उपस्थिति बलियो देखिएको छ भने राजधानीका अन्य ठूला मल्टीप्लेक्सहरु एफक्यूब, बिग मुभिज, वान सिनेमाज्, विएसआर, क्यूज सिनेमाज्, आइएनआई सिनेमाज्मा पनि दर्शकको चाप उल्लेख्य छ । मोफसलका मल्टीप्लेक्स तथा सिंगल स्क्रिनमा पनि अवस्था सुखद् छ ।

निर्देशक दीपेन्द्र के. खनालले फिल्मलाई मिलेको दर्शकको साथले आफू उत्साहित भएको बताए । उनले भने, ‘कुनै बेला राजेश हमाल, निखिल उप्रेती, विराज भट्टको फिल्म चल्दा हलमा जस्तो हुटिङ र सिठी बज्थ्यो, अहिले हलमा त्यही अवस्था छ । तिहार विदा सुरु भएसँगै हलमा दर्शक बढेका छन् भने व्यापारमा उछाल आएको छ । सम्भवतः केही दिनमा फिल्मको लगानी उठ्नेछ ।’

अभिनेता विपिन कार्कीले बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मले दर्शकको उत्साहजनक साथ पाउन सफल भएको बताउँछन् । उनले भने, ‘हलमा दर्शक रमाइलो गर्न जान्छन् । यो फिल्मले दर्शकलाई भरपुर रमाइलो प्रदान गर्न सक्ने सामर्थ्य राखेको छ । सोही कारण फिल्मले दर्शकको साथ मिलेको हो ।’ उनले आफ्नो चरित्र र अभिनयको प्रशंसा भएकोमा खुसी व्यक्त गरेका छन् ।  

फिल्ममा विपिनका अलावा दयाहाङ राई, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको यस फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।