पिङ खेल्दा खसेर १८ वर्षे युवकको मृत्यु

पिङ खेल्दा खसेर १८ वर्षे युवकको मृत्यु

लिंगेपिङबाट खसेर दैलेखमा १८ वर्षे युवकको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका– ६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर १८ वर्षे नवराज बोगटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले जानकारी दिए । 

पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मञ्चिएका उनी एक्कासि पिङबाट खसेका थिए । लगत्तै स्थानीयले उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख पुर्‍याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । 

दसैँ, तिहारजस्ता चाडमा पिङ हाल्ने र खेल्ने प्रचलन गाउँघरमा धेरै छ । पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गर्दै आएको छ ।