धनगढीमा अझै रोकिएन पटका आतंक, प्रहरी प्रशासन बेखबर

धनगढीमा अझै रोकिएन पटका आतंक, प्रहरी प्रशासन बेखबर

धनगढी । हिन्दुहरूको दोस्रो महान पर्वको रूपमा रहेको तिहार यस वर्ष बिदाइ सँगारमा हुँदासमेत पटाकाको आतंक अझै रोकिएको छैन । उज्यालोको पर्वको रूपमा रहेको यो उमंगको पर्व पनि हो । 

लक्ष्मीको पूजा, झिलिमिली, रंगोली, र सजावटले तिहारमा रौनकता ल्याए पनि यसको एउटा अंग पटाका र आतेशबाजी बन्न पुगेको छ । नेपालको कानुनले प्रतिबन्ध लगाएको आतिसबाजी पटका भने नेपालमा अवैध रूपमा भित्रिएर पड्किने गर्छ । 

नेपाल सरकार र स्थानीय प्रशासन कार्यालयलेसमेत सूचना नै जारी गर्दे ओसारपसार र पड्काउनसमेत रोक लगाए पनि तिहारको अन्तिम दिन पनि ठुला-ठुला आवाजमा पटका पड्किरहेका छन् । भारतमा खुला रूपमा पाइने र पड्काउन समेत मिल्ने प्रावधान भएकोले सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारतबाट नै नेपालमा पटाका भित्रिने गर्छ । 

सुरक्षा निकायले समेत तिहारलाई लक्षित गर्दै सीमाबाट पटाका भित्रिन नदिन कडाइका साथ चेकजाँच गरे पनि पटाकाको आतंक तिहार आउनुभन्दा पहिलेबाट र भाइटिका सकिँदासमेत भइरहेको छ । सीमावर्ती क्षेत्रका सहर बजारमा मात्रै होइन गाउँ/गाउँ सम्म पटकाको आतंक रहेको छ । 

भारतबाट भित्र्याएर गैर कानुनी रूपमा बिक्री वितरण हुने गरेको छ । सजावटका पसल, किराना तथा जनरल स्टोर्सहरुमा लुकिछिपी बिक्री वितरण भएर यो आतंक अझै पनि रोकिएको छैन । कैलाली सहित अधिकांश जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि यत्रतत्र पटका पड्किएको आवाज सुनिएको छ ।

प्रशासनको बेवास्ताका कारण यस्ता गैर कानुनी क्रियाकलापले प्रशय पाएको छ । प्रतिबन्धित पटकाजन्य पदार्थ खुलेआम पड्काईरहँदा कैलाली प्रहरीले कसैलाई कारबाही गरेको छैन । 

विगतका वर्षहरूमा भारी मात्रामा पटाकाजन्य बस्तु बरामद गरे पनि यो वर्ष खासै प्रहरीले नियन्त्रण लिएको छैन । 

ठुला ठुला आवाजमा पटाका विस्फोट हुँदा समेत प्रशासन मौन रहेको स्थानीयहरूको भनाई छ । अरूलाई असर गर्ने, कान नै जाने गरी पटाका जथाभाबी रूपमा पडकाउदा वृद्ध र बालबालिकामा धेरै असर गर्ने गर्छ । 

पटाका जलाउँदा आँखा कानमा प्रत्यक्ष असर गर्ने  भए पनि सावधानी नअपनाई पटाका सँग खेल्दा निस्किने आवाज र धुवाँले दीर्घकालीन असर समेत गर्न सक्छ ।

रमाइलोका लागि ठुलो रकम खर्चेर पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको छ ।

तर प्रशासनको निर्देशन काजमा मात्रै सीमित हुँदा त्यसको असर भने परेको देखिँदैन ।