सुदूरपश्चिममा पर्यटन विकास : गुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

सुदूरपश्चिममा पर्यटन विकास : गुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागू गरेको जनाए पनि गुरुयोजनाले सुझाएका योजना बजेट विनियोजन भएको छैन । आर्थिक वर्ष २०७९÷८० देखि ०८९÷९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलङ्घन गरी गुरुयोजनामा नपरेका क्षेत्रमा पर्यटन क्षेत्रको बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका छैनन् । 

गुरुयोजनाले सुदूरपश्चिम प्रदेशमा १८ वटा गन्तव्यहरुको सम्भावना रहेको निष्कर्ष निकाल्दै सोका लागि पूर्वाधार निर्माण, त्यसको प्रवद्र्धन र पर्यटकका लागि आवश्यक सुविधा दिने संरचना निर्माण गर्न सुझाव दिएको छ । तर प्रदेश सरकारले ती योजनामा बजेट विनियोजन नगरी निजि र स–साना सामुदायिक मठमन्दिर निर्माण, भ्यूटावर निर्माणजस्ता शीर्षकमा बजेट विनियोजन गरेको छ । गुरुयोजनाले अछाममा रामारोशन, बैद्यनाथ धाम, बैतडीमा मेलौली भगवती मन्दिर, त्रिपुरा सुन्दरी मन्दिर, बझाङमा मोयना हिल भ्यू प्वाइन्ट, नेचुरल हट स्प्रीङ (तातोपानी), बाजुरामा बडिमालिकामा पर्यटकीय संभावना रहेको गुरुयोजनामा उल्लेख छ ।

त्यस्तै बाजुरा, बझाङ, डोटी र अछाममा खप्तड, डडेल्धुरामा आलीताल, अमरगढी किल्ला, गन्यापधुरा, दार्चुलामा अपी हिमाल बेस क्याम्प ट्रेक, डोटीमा छहरा झरना, सेती नदीमा ¥याफ्टिङ र कैलालीमा टीकापुर पार्क, भादा होम स्टे र घोडाघोडी ताल क्षेत्र पर्यटनको सम्भावना रहेको किटान गरिएको छ । सोही क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र पर्यटकलाई आवश्यक सुविधा विकास गर्न गुरुयोजनाले सुझाव दिएको छ । गुरुयोजनाले त्यसका लागि लाग्न सक्ने बजेट अनुमान र सोबाट हुनसक्ने लाभ समेत उल्लेख गरेको छ । तर प्रदेश सरकारको बजेटले गुरुयोजनाले तोकेका क्षेत्रलाई उपेक्षा गरेको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्रालयको पर्यटन सम्बन्धी योजना कार्यान्वयन गर्ने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ कैलालीको कार्यक्रम पुस्तिकामा चालु वर्षका अधिकांश योजनाहरु मठमन्दिर निर्माण, मर्मत, भ्युटावर, मन्दिरमा आश्रम निर्माणका छन् । मन्दिर निर्माण तथा मर्मतका ५ देखि १० लाखका दुई सय ९५ वटा योजना छन् । पर्यटन विकास गुरुयोजनाले सुझाएका योजनाहरु निकै कम समेटिएका छन् । मन्त्रालयका एक कर्मचारीले गुरुयोजना अनुसारका तयार गरेको कार्यक्रम रातो किताबमा पर्न नसकेको बताए । उनले मन्दिरमा मात्रै लगानी गर्नाले पर्यटन विकासमा टेवा पुग्न नसक्ने बताए ।

कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सम्भावना भएको पर्यटन क्षेत्र भए पनि प्रदेश सरकारको यस क्षेत्रको विकासका लागि कुनै योजना नल्याएको बताए । उनले साधारण खालका योजनाहरू मात्रै राखिएको बताउँदै भने, ‘सर्भेहरू गर्छौं भनिएको छ । बजेट विनियोजन भएको केही पनि योजना छैन ।’ संघका सदस्य रुपेश खड्काले कृषि, पर्यटन र जडिबुटीलाई केन्द्रीत गरेर बजेट ल्याउनु पर्नेमा प्रदेश सरकारले त्यस्तो नगरी चुनाव केन्द्रित बजेट ल्याएको आरोप लगाए । सरकारले ल्याएको बजेटले प्रदेशको पर्यटन विकास गर्न नसक्ने उनको भनाइ छ। 

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ कैलालीका प्रमुख भोजराज पाठकले भने गुरुयोजनाले सुझाएका केही योजनाहरु बजेटमा समेटिएको दावी गरे । चिसापानीदेखि खानीडाँडासम्म गुरिल्ला ट्रेल निर्माण, अपी हिमाल वेश क्याम्प पदमार्ग रिअडिट, खप्तड, रामारोशन, बडिकेदार, बैद्यनाथ, अपी नाप्पा क्षेत्रको पयर्टन विकासका योजनाहरु समावेश भएको उनले जानकारी दिए । गुरुयोजनाले पर्यटकीय क्षेत्रको सौन्दर्यकरण गर्न पार्क, गार्डेन, ट्रेकिङ ट्रेल निर्माण, पर्यटकका लागि बसोबास तथा खानाका लागि सुविधायुक्त होटेल निर्माण, होम स्टे सञ्चालन, पर्टयन प्रवद्र्धनका लागि राष्ट्रिय÷अन्तर्राष्ट्रिय मिडिया, पर्यटन व्यवसायीको भ्रमण, अन्तर्राष्ट्रियस्तरमा पर्यटन क्षेत्रको प्रचारलगायत क्षेत्रमा समेत लगानी गर्न गुरुयोजनाले सुझाएको छ ।

उपेक्षामा प्रसिद्ध धार्मिक स्थल  :

प्राकृतिक सौन्दर्यको छटा मानिएको बडिमालिका हरेक वर्ष जनैपूर्णिमामा मात्रै स्थान पाउने गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन गुरुयोजनामा परेको बडिमालिकामा प्रदेश सरकारले कुनै पनि पर्यटन पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छैन । प्रदेश सरकारले नै व्यवास्ता गर्दै आएको बडिमालिकालाई पर्यटन गन्तव्य बनाउने चर्चा गरिए पनि हालसम्म पर्यटन गन्तव्यको रुपमा विकास हुन सकेको छैन । लामो समयदेखि जनैपूर्णिमाको धार्मिक यात्राको गन्तव्यमै बडिमालिका सीमित भएको छ । यसलाई सदावहार पर्यटन गन्तव्य बनाउन सम्भाव्यता अध्ययन, गुरुयोजना निर्माण गरिए पनि सरकारहरुले योजना बनाइ बजेट विनियोजन गरेका छैनन् । जसले गर्दा बडिमालिका सिजनल धार्मिक यात्राको गन्तव्य बनेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको १० वर्षे पर्यटन गुरुयोजनाले पनि बडिमालिकामा पर्यटन विकासका लागि लागि पर्यटकको आवास गृह, खानेपानी, सुरक्षा, ट्रेकिङ्ग रुट चिन्ह र ट्रेकिङ्ग रुट सम्बन्धी सम्पूर्ण सूचना भएको बेवसाइट निर्माणलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएको छ । चालु आर्थिक वर्ष २०७९÷८० बाट लागु हुने गरी बनाइएको गुरुयोजनामा पहिलो वर्षदेखि नै सो कार्य प्रारम्भ गर्नुपर्ने उल्लेख छ । तर प्रदेश सरकारले चालु आर्थिक वर्षमा सो कार्यका लागि बजेटनै विनियोजन गरेको छैन । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठले गुरुयोजनाले पहिचान गरेको योजनामा यस वर्ष बजेट विनियोजन हुन नसकेको बताए । उनले आगामी आर्थिक वर्षमा प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए ।   

यसैगरी, प्रदेश सरकारले खप्तड बाबा मन्दिर, शैलेश्वरी मन्दिर, त्रिपुरा सुन्दरी मन्दिर, बडिकेदार मन्दिरमा धार्मिक पर्यटन विकास गर्ने लक्ष्य गुरुयोजनामा राखेको भए पनि गुरुयोजना लागू गरेको वर्षमै ती मन्दिरहरुको सौन्दर्यकरण, पर्यटन प्रवद्र्धन, स्तरोन्नतिलगायतका कार्यका लागि समेत बजेट विनियोजन गरेका छैन । पर्यटन विकासको संभावना भएका र गुरुयोजनाले प्राथमिकतामा राखेका क्षेत्रमा लगानी गर्नुको साटो अन्यत्र गरिने लगानीले सुदूरपश्चिमको पर्यटन विकासका उचित प्रतिफल दिन नसक्ने यहाँका पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन विकासको संभावना बोकेका क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा सरकारले काम गर्नुपर्ने उनीहरुको सुझाव छ ।