बैतडीमा कांग्रेसद्धारा कोलीलाई पार्टीबाट निष्कासन, ऐरलाई स्पष्टीकरण सोधियो

बैतडीमा कांग्रेसद्धारा कोलीलाई पार्टीबाट निष्कासन, ऐरलाई स्पष्टीकरण सोधियो

नेपाली कांग्रेस बैतडीले दलित संघ बैतडीका अध्यक्ष रमेश कोलीलाई पार्टीबाट निष्कासन गरेको छ। कोलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेस बैतडीले जनाएको छ।

कांग्रेस बैतडीका अनुशासन समिति संयोजक देवराज जोशीले आगामी ५ बर्ष सम्म पार्टीको साधारण सदस्य समेत नरहने गरेर कोलीलाई कारवाही गरिएको बताए ।

पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारको मुख्य प्रचारकको भूमिकामा रहेको र स्पष्टीकरण सोध्दा समेत स्पष्टीकरण नदिएको भन्दै पार्टीको विधान अनुसार निष्कासन गरिएको जोशीको भनाई छ ।

पार्टीको आधिकारिक उम्मेदवारको विरुद्धमा लागेको, बागी उम्मेदवारलाई सहयोग गरेको, पार्टीको आचारण र अनुशासन विरुद्ध बोलेको उल्लेख गरिएको छ ।  यस्तै नेपाली कांग्रेसका पाटन नगरसभापति मानबहादुर ऐरलाई पनि स्पष्टीकरण सोधिएको छ।

पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी’उम्मेदवारलाई सहयोग गरेको भन्ने प्रमाण प्राप्त भएकाले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए। पार्टीको विधान विपरीत कार्य गरेको हो वा होइन ? त्यस बिषयमा ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।

स्पष्टीकरण पेश नगरेमा साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारवाही गरिने सचिव जोशीले बताए। कोली यसअघि नै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा खुलेर लागेका थिए। भने ऐरले आइतबार पत्रकार सम्मेलन मार्फत आफू स्वतन्त्र उम्मेदवारको पक्षमा रहेको बताएका थिए।