कैलालीमा उम्मेदवारका चुनावी प्रतिबद्धता : "आर्थिक विकास र रोजगारी"

कैलालीमा उम्मेदवारका चुनावी प्रतिबद्धता : "आर्थिक विकास र रोजगारी"

धनगढी । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ मा मिति नजिकिँदै गर्दा उम्मेदवारहरू चुनावी घोषणापत्र लिएर जनताको घरदैलोमा जान थालेका छन् । अहिले राजनीतिक र उम्मेदवारको चुनावी प्रतिबद्धताहरू पनि सार्वजनिक गरिरहेका छन् । कैलालीका पाँचवटा प्रतिनिधिसभा क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूको कडा प्रतिस्पर्धा हुने देखिएको छ । कैलालीको निर्वाचन क्षेत्र नं. ५ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त र नेकपा एमालेका नारदमुनि राना चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं। ४ मा कांग्रेसका प्रदेश अध्यक्ष वीरबहादुर बलायर र पूर्वमन्त्री तथा नेकपा एमालेका लेखराज भट्टको कडा टक्कर हुने चर्चा छ । क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी र पूर्वमन्त्री तथा एमालेका गौरीशंकर चौधरीको प्रतिस्पर्धा रहनेछ । क्षेत्र नं। २ मा संविधानसभा सदस्य तथा माओवादीका भगत बडुवाल र एमालेका झपट रावलको प्रतिस्पर्धा रोचक हुनेछ । क्षेत्र नं। १ मा पूर्वमन्त्री तथा कांग्रेसका रामजनम चौधरी र पूर्वमेयर तथा एमालेका तपेन्द्र रावलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं १ मा सांसद् रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट उनकी श्रीमती रञ्जिता श्रेष्ठ पनि चुनावी मैदानमा छन् । सो क्षेत्रका चारवटा पालिका जितेको नागरिक उन्मुक्तिको उम्मेदवारले समेत बाजी मार्न सक्ने धेरैको अनुमान छ । प्रतिनिधिसभाको निर्वाचनमा कडा प्रतिस्पर्धामा रहेको चर्चा पाएका उम्मेदवारहरूले आर्थिक विकास, औद्योगिक विकास, रोजगारी सिर्जना, पूर्वाधार विकासलगायतका एजेन्डा लिएर चुनावी मैदानमा छन् । तीमध्ये केही उम्मेदवारसँग पत्रकार मुकेश चौधरीले गरेको कुराकानीको सार 

"हरित सहरको रूपमा विकास गर्छौं" - डिल्लीराज पन्त
कैलाली–५ उम्मेदवार, नेपाली कांग्रेस

कैलालीको निर्वाचन क्षेत्र नं ५ का २१ वडामा पाँच वर्षभित्र खानेपानीको सुविधा, विद्युतीकरण, हरेक वडामा नमुना सामुदायिक विद्यालय, प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ मा प्राविधिक शिक्षालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सबै वडामा बालउद्यान र बाल मनोरन्जन स्थल, कम्तीमा पाँच ठाउँमा आधुनिक पार्क, अत्याधुनिक बसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, प्रत्येक वडामा विशेषज्ञ सेवासहितको स्वास्थ्य केन्द्र, प्रत्येक वडा, सार्वजनिक स्थल, बसपार्कमा सार्वजनिक शौचालय निर्माण गर्नेछौं । अव्यवस्थित सहरीकरण तथा बसोबासका साथै डुबान, अतिक्रमण र नदीकटानलाई एकीकृत दीर्घकालीन योजनामार्फत यस क्षेत्रको योजनाबद्ध समाधान गर्नेछु । पूरै क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सडक सञ्जाल विस्तार हाम्रो प्राथमिकता हुनेछ । कैलाली–५ लाई हरित सहरका रूपमा विकास गर्न प्रतिबद्ध छु । यहाँका वनजंगलको दीर्घकालीन व्यवस्थापन गर्दै वनलाई यस क्षेत्रका जनताको आर्थिक समृद्धिको आधार बनाउने गरी नीति र कार्यक्रम लागू गरिनेछ ।
कैलाली–५ मा जग्गाविहीन दलित, सुकुम्बासी, मुक्त कमैया तथा अव्यवस्थित बसोबासलाई एक वर्षभित्र जग्गाधनी पुर्जा उपलब्ध गराउँछु । धनगढी उपमहानगरपालिकाका वडा १३, ३, २, ९, १४, १८ र १९ हुँदै बग्ने मोहना नदी, वडा नम्बर १६, १७, ७ र १४ हुँदै बग्ने खुटिया नदी, वडा नम्बर १७ र १६ भएर बग्ने शिवगंगा नदी र कैलारी गाउँपालिका वडा ६ र ९ मा देवीगन्जदेखि घुराही नदी हँुदै वडा ६ भगतपुरसम्म आगामी पाँच वर्षभित्र तटबन्ध निर्माण गरिनेछ । उर्मा र फूलबारी तथा कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ को केन्द्रमा आगामी तीन वर्षभित्र २५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण मेरो प्राथमिकता छ ।
नेतुवा ताल, बेहडाबाबा, जाखौरताल, शिवपुरीधाम, कनरी पार्क, धुधुवा ताल र कोइलहिताललाई समेटेर एकीकृत बृहत्तर पर्यटन गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्नेछौं । रिङरोड तथा हुलाकी सडक र सहरी सघन सडकहरूको निर्माण पूरा गरिनेछ । धनगढी उपमहानगरपालिका–३ मा प्रस्तावित अन्तर्राष्ट्रियस्तरका अत्याधुनिक टर्मिनलसहितकोे बसपार्क निर्माण र वडा १९ मा बहुउद्देश्यीय कभर्ड हल निर्माण हाम्रो प्राथमिकता छ । यस क्षेत्रका कृषियोग्य जमिनको खण्डीकरण हुन नदिने नीतिसहित आवश्यकतानुसार कृषि तथा पशुपालन पकेट क्षेत्र विस्तारमा हाम्रो जोड रहनेछ । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापनाका लागि ठोस पहल गरिनेछ । युवाहरूलाई रोजगारीमा जोड्न संघीय तथा प्रदेश सरकारका साथै स्थानीय सरकारसँग समन्वय गरी युवा स्वरोजगार कोषको अधिकतम उपयोग गर्दै युवा स्वरोजगार सिर्जना गर्नेछौं । दलित अल्पसंख्यक, विपन्न समुदायको आर्थिक सुधारका लागि ठोस नीति र कार्यक्रम बनाइनेछ ।
फूलबारी २५ घरदेखि राजीपुरसम्मको सडक स्तरोन्नतिसहित कालोपत्रे गरिनेछ । बेनौलीदेखि गदरिया वडा नम्बर ९ जाने सडकमा पक्की पुल, हसुलियादेखि मसुरियासम्मको सडकको स्तरोन्नति, सुर्मीदेखि वनकट्टा सडकको झलारीमा पुल, बेनौली सडकको उर्मीदेखि सिमरानासम्मको सडक स्तरोन्नति, कोहिली स्कुलदेखि वनकन्दरी हुँदै वडा नम्बर ८ जोड्ने सडक निर्माण, घुराहा र घुरही कोहिली नदीमा पुल, २५ घर बसपार्कदेखि टाउनसम्म ढल निकाससहितको सडक कालोपत्रे, वडा नम्बर १९ को रिङरोडको स्तरोन्नतिसहित कालोपत्रे, डमौलिया गाउँ जाने शिवगंगा नदीमा पक्की पुल, बेडाबाबादेखि डमैलिया जाने सुरीनालामा पक्की पुल निर्माण प्राथमिकतामा छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ को फोहरमैला प्रशोधन केन्द्र, वडा ७ को प्रस्तावित ल्यान्डफिल साइटको डीपीआरअनुसारको कार्य अगाडि बढाउने र वडा १४, १८ र १९ ल्यान्डपुलिङ योजना लागू गरिनेछ ।

"नागरिकको आयस्तर उठाउने प्रयास गर्नेछु" - वीरबहादुर बलायर
कैलाली–४ उम्मेदवार, नेपाली कांग्रेस

पहाडी जिल्लाभन्दा कैलाली क्षेत्र नम्बर ४ को विकास निकै पछाडि परेको छ । अझै पनि कतिपय टोलमा बिजुलीको पोल छैन । अझै मानिसहरू अन्धकारमा बसिरहेका छन् । ती समुदायका लागि विद्युतीकरण सबैभन्दा पहिले आवश्यक छ । पहिलो काम विद्युतीकरण हुनेछ । तराईमा अझै गरिबी पनि बढिरहेछ । म आफैं पनि गरिब परिवारबाट आएको हुनाले पनि नागरिकहरूको आयस्तर उठाउने प्रयास गर्नेछु । मैले मेहनत र रगत–पसिना बगाएर आएको र पसिना र रगतको मूल्य थाहा भएकाले मसँग राजनीतिक ठूला महŒवाकांक्षा छैनन् । म कर्मशील मानिस, गरिबी न्यूनीकरण गर्नका लागि यहाँका युवाहरूको रोजगारीका लागि र यहाँको पूर्वाधार विकासका लागि आएको छु । यातायातको कनेक्टिभिटी अहिलेसम्म पनि नजोडिएको, अहिलेसम्मका नेताहरूले यहाँ राम्रोसँग आवागमनका लागि एउटा कल्भर्टसमेत राख्न नसकेको अवस्था देखिएको छ । यहाँका जनताको जनजीवनलाई सरल र सहज बनाउनका लागि जुन–जुन पूर्वाधार विकास गर्नुपर्छ, म त्यो काम पहिले गर्छु । राजनीति भनेकै जनताको जनजीवनमा सहज र सरलता ल्याउनु र उसको आर्थिक उन्नतिलाई अभिवृद्धि गर्नु हो ।
यहाँ कुनै पनि दलले सक्रियताका साथ कुनै पनि काम गरेको देखिँदैन । विगतमा यहाँबाट निर्वाचित भएकाहरूले मतदाताहरूको समस्या समाधानमा ध्यान दिएको देखिँदैन । जनता नेताभन्दा निकै टाढा देखिन्छन् । अब छिटोभन्दा छिटो म एउटा राजनीतिकर्मी र समाजसेवी भएका कारण म यहाँका मतदाताको मनमा बास गर्छु र चुनाव जितेर यी समस्याहरूलाई समाधान गर्छु । मेरो राजनीतिक जन्मथलो डोटी भए पनि म यहाँ आइसकेपछि जनताका समस्या अब बल्झिन पाउँदैन । समाधानतिर तुरुन्तै लाग्नेछु । यहाँको पार्टीले मलाई स्वीकार गरिसकेपछि म यहीं रहन्छु । निस्स्वार्थका साथ जनताको सेवा गर्नेछु ।

"मेरो पहलमा प्रदेश राजधानी गोदावरीमा आएको हो"- लेखराज भट्ट
कैलाली–४ उम्मेदवार, नेकपा एमाले

मैले क्षेत्र नं. ४ का लागि मात्रै उम्मेदवारी दिएको होइन । समग्र सुदूरपश्चिमको विकास र अधिकारका लागि मेरो उम्मेदवारी हो । समग्र प्रदेशको विकासका लागि उम्मेदवारी दिएको छु । यहाँको विकासका लागि मैले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउनुपर्छ भनेर पहल गरेको थिएँ । मैले यो प्रदेशको राजधानी यहाँ ल्याएको छु । तत्कालीन समयमा पहाडबाट मुख्यमन्त्री बनाउने र राजधानी यहाँ बनाउने निर्णय दृढतापूवक गरियो । प्रदेश सरकारले राजधानीलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने थियो । तर, त्यो गर्न सकेन । त्यो जनतासामु छँदै छ । विगतमा मैले यस्ता थुप्रै योजना सुरु गरेको थिएँ । ती योजनाहरू अहिलेसम्म पूर्ण हुन सकेका छैनन् । दोधारा चाँदनीको सुक्खा बन्दरगाह, मेडिकल कलेजलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने र पठनपाठनदेखि लिएर उपचार कार्य गराउन आवश्यक छ । हरैयामा विशेष आर्थिक क्षेत्र भनेर हामीले डिपिआर पूरा गरेका छौं । धनगढी–गोदावरीमा औद्योगिक क्षेत्र, डुडेझाडी औद्योगिक क्षेत्र, दैजी–छेला आर्थिकलगायत सेती लोकमार्ग, खुटिया दिपायल फास्ट ट्र्याक, उरै–ताक्लाकोट नाका बनाउने, महाकाली करिडोरजस्ता योजनाहरू दीर्घकालीन महŒवका छन् । यी योजनाहरूले यो क्षेत्रको व्यापार, पर्यटन र रोजगारीको क्षेत्रमा ठूलो योगदान दिन्छन् । यी योजनाहरू पूरा गर्नका लागि मेरो उम्मेदवारी दोहोरिएको हो ।
अब एमालेको सरकार आयो भने जनतालाई भूमिको मालिक बनाएर राजधानी निर्माण गर्ने कुरामा मेरो महŒवपूर्ण भूमिका रहन्छ । राजधानी यहाँ भइसकेपछि पहाडका जनतालाई पनि कसरी सुविधा दिने भन्ने कुरामा हामी लाग्छौं । अहिले राष्ट्रियताका लागि नेकपा एमाले आवश्यक छ । त्यही भएर अहिले म एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावी मैदानमा छु । यहाँका जनताको अधिकार, यहाँको औद्योगीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका लागि नागरिकले मलाई भोट हाल्न जरुरी छ । सुदृढ विचार र विकासको भिजन लिएर अगाडि बढेको हुनाले नागरिकले मलाई नै भोट दिन्छन् भन्नेमा विश्वस्त छु । विकासको लागि पार्टी विशेष मात्रै नभएर सम्पूर्ण जनता मसँग छन् । म सबैको साझा उम्मेदवार हुँ भन्ने लाग्छ । त्यो भएर यो क्षेत्रका जनताले पार्टीभन्दा पनि मेरो समर्पण र यो क्षेत्रप्रतिको योगदानलाई हेर्नेछन् ।

"प्रत्येक पालिकामा कृषि उद्योग स्थापना गर्न पहल"- कृष्णकुमार चौधरी
कैलाली–३ उम्मेदवार, नेकपा माओवादी केन्द्र

नेपालको संविधान २०७२ मा केही लेख्न छुटेका उत्पीडित समुदायको अधिकारहरू समेट्न प्रयास गर्ने पहिलो एजेन्डा रहन्छ । यहाँको विकास, सडक पूर्वाधारहरूको समस्या समाधान गर्ने दोस्रो प्राथमिकता रहन्छ । कैलाली क्षेत्र नं। ३ मा सबैभन्दा ठूलो समस्याको रूपमा बाढी प्रभाव र नदी कटान हो । यो समस्या समाधानका लागि पनि लाग्नेछु । यो क्षेत्रमा प्रायस् जनता कृषिमा आश्रित रहेका छन् । त्यसो भएको हुनाले कृषिलाई आधुनिकीकरण गर्ने, कृषि सिँचाइ र मलको व्यवस्थापन गर्ने र ठाउँठाउँमा कृषि उद्योगहरू सञ्चालन गर्ने विषय पनि पहिलो प्राथमिकतामा छ । क्षेत्र नं। ३ मा पर्ने तीनवटै पालिका ९घोडाघोडी, भजनी र कैलारी० मा एउटा–एउटा सरकारी स्वामित्वको ठूला कृषि उद्योग स्थापना गर्ने विषयमा पनि पहल गर्छु । प्रत्येक वडामा स्वास्थ्य केन्द्र बनाउने र प्रत्येक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सञ्चालन गर्न पहल गर्नेछु । राजनीतिलाई पेसाको रूपमा नभएर सेवाको रूपमा जनतालाई बुझाउने प्रयास गर्छु । राजनीतिलाई शुद्धीकरण गरी सेवाको रूपमा स्थापित गराउने मेरो लक्ष्य छ । राजनीतिक आडमा हुने भ्रष्टाचारलाई पूर्ण रूपमा निर्मूल गर्ने जोडबल रहन्छ । योजनामा कमिसनखोरी पूर्ण रूपमा अत्य गरी सुशासन कायम गर्नेछु । देशमा रहेको राजनीतिक प्रतिगमनलाई पूर्ण रूपमा अन्त्य गर्नका लागि भूमिका निर्वाह गर्नेछु । यसले गर्दा राजनीति सही ट्र्याकमा आउँछ भन्ने मेरो विश्वास छ ।
प्रत्येक पालिकामा कृषि उद्योग स्थापना गरी स्थानीय युवाहरूलाई रोजगारीमा सहभागी बनाउन सकिन्छ । पर्यटन प्रवद्र्धनका लागि ठाउँठाउँमा होमस्टे सञ्चालनका लागि सहयोग गर्नेछु । यो क्षेत्र थारु बहुल क्षेत्र भएको हुनाले थारु जातिको वेशभूषा, संस्कृति संरक्षणमा समेत सहयोग पुग्नेछ । यसले गर्दा सयौं मानिसको रोजगारी सिर्जना हुनेछ । शिक्षकहरूको समस्या समाधान गर्ने र शैक्षिक गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादनमा पनि जोड रहनेछ । युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गराउने विषयमा पनि पहल रहनेछ । यसका लागि प्रदेश र स्थानीय सरकारसँग हामीले पूर्ण रूपमा समन्वय गर्नेछौं ।

"कृषिमार्फत रोजगारी सिर्जना गर्नेछु"- गौरीशंकर चौधरी
कैलाली–३ उम्मेदवार, नेकपा एमाले

अधुरो रहेको सडक निर्माण मेरो पहिलो चुनावी एजेन्डा हो । हसुलिया–मसुरिया सडकमा अहिले टेन्डर भएको छ । बाँकी ठेक्का नभएको सडकलाई पनि निर्माणका लागि पहल गर्नेछु । लालबोझी पहलमानपुर सडकको पनि भर्खरै टेन्डर आह्वान भएको छ । त्यसको पनि काम अगाडि बढाउनेछु । सुखड–भजनी सडक पनि कालोपत्रे गर्ने काम अगाडि बढेको छ । त्यसको पनि काम सम्पन्न गराउने र बाँकी रहेका सडकहरू सबै कालोपत्रे गराउने योजना छ । कान्द्रा, कटैनी, डुडा नदीमा आगामी कार्यकालमा तटबन्ध गर्ने योजना बनाउँछु । प्रत्येक कृषिक्षेत्रमा कृषि मिटर वितरण गर्ने योजना ल्याउँछु । कुलो लाग्ने ठाउँमा सिँचाइ कुलोको व्यवस्थापन गर्नेछु । घुर्ही बाँध सिँचाइ आयोजना बनाउने पहल गर्छु । कुलो नलाग्ने ठाउँमा अटिजन बोरिङ र स्यालो ट्युबेल व्यवस्थापन गर्छु । किसानहरूलाई मल व्यवस्थापनका लागि पूर्ण रूपमा लागिपर्छु । कृषिको विकासका लागि ब्लाक, पकेट क्षेत्र, सुपरजोन विस्तार गर्ने योजना ल्याउँछु । कृषिलाई आधुनिकीकरण गर्न कृषियन्त्रहरू किसानलाई वितरण गर्नेछु । किसानका लागि कृषि बिमा कार्यक्रम ल्याउनेछु ।
प्रत्येक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल सञ्चालन गर्ने कार्यलाई पूर्णता दिइनेछ । त्यसपछि १५ शय्याको अस्पताललाई ५० शय्याको बनाउँदै लगिनेछ । हसुलियामा बहुमुखी क्याम्पस सञ्चालन गर्नेछु । राज्यमार्फत स्थानीय स्तरमै रोजगारीको ग्यारेन्टी गराइनेछ । उद्योगहरू सञ्चालनका लागि पहल गरिनेछ । युवा स्वरोजगारसम्बन्धी तालिम सञ्चालन गरी युवाहरूलाई स्वरोजगार बनाउन पहल गर्छु । क्षेत्र नं। ३ मा प्राविधिक शिक्षालय स्थापना गराउन पनि पहल गर्नेछु । बिचैपुरमा अहिले चारवर्षे सिभिल इन्जिनियरिङ क्लास चलिरहेको छ । थप त्यसमा इलेक्ट्रिक, मेकानिकल इञ्जिनियरिङ कोष पनि सञ्चालन गर्न पहल गर्नेछु । एक पालिका एक उद्योग ग्राम कार्यक्रमलाई सघन रूपमा सञ्चालन गर्न पहल गर्नेछु ।

"निर्यात गर्ने गरी औद्योगिक विकास गर्ने योजना छ"- भगत बडुवाल
कैलाली–२ उम्मेदवार, नेकपा माओवादी केन्द्र

संविधानमा आर्थिक समृद्धिका कुराहरू समेटिएको छ । सैद्धान्तिक हिसाबले समृद्धिको कुरा लेखिएको भए पनि जनतालाई सेवा दिने हिसाबले समृद्धि आउन अझै धेरै बाँकी छ । अबको दिनमा बिकासबाहेक कुनै एजेन्डा नै छैन । भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, स्वास्थ्य सुरक्षा, सांस्कृतिक उत्थानका कुराहरूको विकासमा हामीले पहिलेदेखि नै उठाउँदै आएका छौं । भौतिक पूर्वाधार विकासका कुराहरू गरेर अहिले हामीले हाम्रो सुगमतालाई बढाइरहेका छौं । जनतालाई अझै सहज हुने गरी भौतिक पूर्वाधार विकास गर्नुपर्छ । क्षेत्र नं। २ अलि बढी दुर्गममा रहेको हुनाले यो क्षेत्रमा पूर्वाधार विकासका कामहरू धेरै बाँकी छन् । म त्यसमा बढी केन्द्रित हुनेछु । स्थानीय तहको समन्वयमा भूमिसम्बन्धी समस्या समाधानको काम भइरहेको भए पनि पूर्ण भएको छैन । यो क्षेत्रमा सुकुम्बासीको समस्या पनि बढी भएको हुनाले कार्यकाल प्रारम्भ भएको एक वर्षमै सबै समस्या समाधान गरिसक्ने गरी काम गर्न पहल गर्नेछु । यो काम पूर्ण नभएको कारणले गर्दा नागरिकका अरू कामहरू ढिलो भइरहेको छ ।
आर्थिक विकासका लागि बढीभन्दा बढी ट्रेड हबहरू निर्माण गर्न सक्यौं, त्यसलाई त्यहीअनुसार मार्केटिङ गर्न सक्यो र त्यहीअनुसार बजार खोल्न सक्यौं भने आर्थिक समृद्धि नजिक छ । निर्यात गर्न सक्ने गरी औद्योगिक विकास जरुरी छ । आन्तरिक उत्पादनलाई वृद्धि गरी रोजगारी सिर्जना गर्न सकिन्छ । यसका लागि कानुनी बाधा र स्थानीय समस्या समाधान गर्न सकियो भने रोजगारी स्थानीय स्तरमा दिन सकिन्छ । यसतर्फ पनि मेरो ध्यान केन्द्रित भएको छ । सबैलाई सरकारी रोजगारी दिन सकिँदैन र यो सम्भव पनि छैन । आत्मनिर्भर आर्थिक विकासका लागि युवाहरूलाई बिजनेसमा सहभागी गराउन आवश्यक छ । यसका लागि स्थानीय स्रोतसाधन प्रयोग गरेर उत्पादन बढाउने र औद्योगिक विकास गर्नमा जोड दिनुपर्छ । यसैका निम्ति लाग्नुपर्छ भनेर मैले उम्मेदवारी दिएको छु । नागरिकको संसदीय प्रतिनिधिको हिसाबले मैले जितेपछि यही काम गर्नेछु ।