सधैँ हेपिए, च्यापिए तर काँग्रेस छोड्दिन, गठबन्धन मान्दिन: सुनिल भण्डारी

सधैँ हेपिए, च्यापिए तर काँग्रेस छोड्दिन, गठबन्धन मान्दिन: सुनिल भण्डारी

धनगढी। नेपाली काँग्रेसका नेता सुनिल भण्डारीले आफू सधैँ हेपिए, च्यापिए पनि काँग्रेस पार्टीबाट अलग नहुने बताएका छन् ।  बुधवार बिहान धनगढीमा पत्रकार सम्मेलनको आयोजन नेता भण्डारीले पार्टीले आफूमाथि अन्याएको पराकाष्ठा गरे पनि काँग्रेसमै रहने बताएका छन् । 

२०७४ सालको आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार रही हार व्यहोरेका भण्डारी मङ्सिर ४ गत सम्पन्न हुन गइरहेको निर्वाचनमा पनि सोही क्षेत्रबाट टिकट पाउनेमा ढुक्क थिए । यद्धपी काँग्रेसले डोटीबाट निर्वाचन लड्दै आएका काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरलाई टिकट दिएपछि उनी रुष्ट मात्रै भएका थिएनन् पार्टी छोड्ने अवस्थामा पुगेका मात्रै उनले एक दुई सार्वजनिक ठाउँमै स्पष्ट आशय समेत व्यक्त गरेका थिए । 

तर अहिले उनले आफ्नो जिम्मेवारी, नैतिकता र विवेकका आधारमा त्यो निर्णय नलिएको बताएका छन् । 

पछिल्लो १५÷२० दिन आफैले विश्लेषण गर्दा गणेशमान जस्तो अलग भएर बस्न नसक्ने अवस्थामा सिर्जना हुनुका साथै पार्टी भन्दा बाहिर बस्नुभन्दा पनि पार्टी भित्रै नातावाद, हैकमवाद गुटबन्दी विरुद्ध वाकी जीवन समर्पण गर्नु पर्छ भन्ने निर्णय गरेको बताएका छन् । 

 उनले पार्टीमा लाग्ने विचार गरेको बताए । उनले आगामी दिनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन लाग्ने बताए । उनले अघिल्लो पटक बाम गठबन्धन हुँदा आफूले पार्टीको साख बचाएको भन्दै अहिले पार्टीले आफूमाथि अन्याय गरेको समेत प्रस्ट पारे ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको समकक्षी रहेका भण्डारीले पार्टी भित्र असहमति अथवा फरक विचार राख्ने प्रयास गरेकै कारण त्यसको बद्ला मा पटक पटक, चरण चरणमा अपमानित समेत हुन परेकोमा दुःख व्यक्त गरेका छन् । 

पार्टीबाट अलग भएको भए जीवनको उत्तरार्धमा आफूलाई शान्ति मिले पनि आफूमाथि विश्वास गर्ने आस राखेका कैलालीका मात्र नभई सुदूरपश्चिम प्रदेशका काँग्रेस कार्यकर्ताहरू लाई निराश नपार्न नखोजेको उनले स्पष्ट पारेका छन् । 

यस्तै, नेता भण्डारीले पार्टी भित्र धेरै अपमान सहे पनि अहिले निर्वाचनको सन्दर्भमा कैलाली ५ का पार्टीका आधिकारिक उम्मेदवार डिल्लीराज पन्त लगायत काँग्रेसका सुदूरपश्चिम प्रदेश भरीका उम्मेदवारलाई सहयोग गर्न तयार रहेको दाबी गरेका छन् । 'मैलै पार्टी भित्र धेरै अपमानित हुनुपर्‍यो, तर काँग्रेस पार्टी भित्रै रहन्छु । पार्टी सुदृढीकरणमा लग्छु। काँग्रेसकै अहिलेका आधिकारिक उम्मेदवारहरूलाई विजयी गराउन अहम् भूमिका खेल्छु।' उनले भने । 

तर, गठबन्धनको सवालमा भने भण्डारीको फरक मत राख्दै भने, 'गठबन्धनको म विरोधी हो । गठबन्धन म मान्दिन । त्यही बाट स्पष्ट हुन्छ कि भोट माग्ने कुरा पनि भएन ।'