प्रधानमन्त्री कप : लुम्बिनी र पुलिस तथा मधेस प्रदेश र प्रदेश-१ खेल्दै

प्रधानमन्त्री कप : लुम्बिनी र पुलिस तथा मधेस प्रदेश र प्रदेश-१ खेल्दै

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा मधेस प्रदेश र प्रदेश-१ बीच खेल हुनेछ ।

लुम्बिनी र पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा तथा मधेस प्रदेश र प्रदेश-१ को खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल अहिले साढे ९ बजेदेखि सुरु हुनेछन् । 

समूह ‘ए’ मा समान दुई खेलमा ४ अङ्कका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन् । समान १ खेलमा अङ्क जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र दुई खेलमा अङ्क नजोडेको सुदूरपश्चिम पुछारमा छ ।

त्यस्तै, समूह ‘बी’ मा दुई खेलमा ४ अङ्ककासाथ पुलिस क्लब शीर्ष र एक खेलमा २ अङ्क रहेको लुम्बिनी प्रदेश दोस्रो स्थानमा छ । दुई खेलमा दुई अङ्क रहेको प्रदेश-१ तेस्रो र तीन खेलमा अङ्क जोड्न नसकेको बाग्मती पुछारमा छ ।

आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश–१ रहेका छन् । 

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै, उपविजेताले ५ लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउनेछन् ।