डडेल्धुरा पुगेर देउवाले भने, 'धनगढी जाने बाटो चाक्लो चाहिन्छ, ठिकै छ त्यो पनि ल्याउँला केही छैन'

डडेल्धुरा पुगेर देउवाले भने, 'धनगढी जाने बाटो चाक्लो चाहिन्छ, ठिकै छ त्यो पनि ल्याउँला केही छैन'

धनगढी । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी जाने बाटो चाक्लो चाहिन्छ भन्छन् भने त्यो पनि ल्याउने बताएका छन् । उनले बिहीबार डडेल्धुराको अमरगढीमा आयोजित चुनावी सभामा बोल्दै यस्तो बताएका हुन् । 

देउवाले सुदूरपश्चिममा उग्रतारा, घटाल लगायतका थुप्रै देवी देउता रहेकोले तिनको पर्यटक भित्रिने तवरले  विकास गर्नु पर्ने बताएका छन् । 

त्यस्तै, प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई २ बजे उठाएर संसद् भङ्ग गरेको आरोप लगाएका छन् । 

“ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भङ्ग गर्नुभयो,” उनले भने, “त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ । यस पटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण भएको हुँ ।”

उनले उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोजेको बताएका थिए । “राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन,” उनले भने ।