एमाले र कांग्रेस सुदूरपश्चिम केन्द्रित, प्रचण्ड गोरखामा

एमाले र कांग्रेस सुदूरपश्चिम केन्द्रित, प्रचण्ड गोरखामा

चुनावमा आफ्नो पक्षमा माहोल बनाउन दलहरुले देश दौडाहा सुरु गरेका छन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन प्रचार प्रसारका आमसभा, र्यालीलगायतका कार्यक्रम गर्न छुट दिएसँगै दलहरुले देश दौडाहा सुरु गरेका हुन् । 

चुनावी प्रचारप्रसारका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । बिहीबार नै धनगढी पुगेका ओली आज  सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभाको सुरुवात गर्ने भएका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । 

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

यता कांग्रेसका सभापति देउवा पनि गृह जिल्ला डडेलधुरामा व्यस्त छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् ।

प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी कात्तिक २० गते काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यतिवेला निर्वाचन क्षेत्र गोरखामा व्यस्त छन् । गोरखाको विभिन्न क्षेत्रमा आयोजन गरिएका चुनावी सभामा व्यस्त रहेका प्रचण्ड पनि कात्तिक २० गतेपछि गठबन्धनले आयोजना गर्ने प्रदेश सभाहरुमा व्यस्त हुने कार्यतालिका छ । 

अन्य दलका नेता तथा उम्मेदवारहरु मत माग्न मतदाताको घरदैलोमा पुग्दा देशभर निर्वाचनको माहोल बढेको छ । साथै निर्वाचन आयोगले पनि आचारसंहिता उल्लंघनका घटना बढ्न सक्ने भन्दै आफ्ना प्रतिनिधिहरुलाई अनुगमनमा तीव्रता दिन आग्रह गरेको छ ।