बैतडीका स्थानीय तहमा मतदाता शिक्षा

बैतडीका स्थानीय तहमा मतदाता शिक्षा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी दिन उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । हरेक पालिकाले स्थानीयस्तरमा रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिएर मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिएको उनले बताए । समुदायस्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रमको अनुगमनसमेत पालिकाले नै गर्नेछ ।  आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम मङ्सिर १ गते सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । मतदाता शिक्षाले मतबदरको सङ्ख्या घटाउने फुँयालको दाबी रहेको छ ।

यस्तै जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मतदान गर्ने तरिकाबारे जानकारी दिनका लागि नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको र नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिइन लागिएको जनाइएको छ । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक÷एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाको लागि एकरएक गरेर चार मतपत्रमा छाप लगाउनुपर्नेछ ।

निर्वाचन आयोगले आगामी मङसिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने जनाएको छ । बैतडीमा प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको छ । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।