उम्मेदवार चिल्लो गाडीमा मतदाता त्रिपालमुनि

उम्मेदवार चिल्लो गाडीमा मतदाता त्रिपालमुनि

बैतडी  । निर्वाचनका बेला उम्मेदवार चिल्लो गाडीमा माइक जोडेर मीठामीठा चुनावी गीत बजाउँदै गाउँगाउँमा भोट माग्दै हिँडिरहेका बेला बैतडीका केही मतदाता त्रिपालमुनि रात बिताउँदै आइरहेका छन्। 

बैतडीको दुर्गम सिगास गाउँपालिकाका–९ का कैलाश धामीले भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएको छ। गाउँमा बस्ने घर नहुँदा उहाँ परिवारसहित भारतको पिथौरागढमा लामो समय ज्याला मजदुरी गरेर बस्नुभयो। भारतमै तीन छोराछोरी जन्मे। कोरोनापछि स्वदेश फर्किनुभएका उहाँसँग बस्ने घर नहुँदा त्रिपालमुनि रात बिताउँदै आइरहनुभएको छ। 

उमेरले ५८ वर्ष पुगिसक्नुभएका धामीको परिवारमा श्रीमती र तीन छोराछोरीसहित पाँच जनाको परिवार ११ वर्षदेखि त्रिपालमुनि बसिरहेको छ। घर बनाउने जग्गा भए पनि आर्थिक हैसियत कमजोर भएका कारण परिवारको लालनपालन गर्न मुस्किल भएको कैलाश धामीले बताउनुभयो। 

बैतडीको दशरथ चन्द नगरपालिका–६, टाक गाउँका भुवन महर र श्रीमती विमला महरसँगै चार बालबच्चा पनि त्रिपालमुनि बस्दै आइरहनुभएको छ। महर दम्पती पनि भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आइरहनुभएको छ। दशरथ चन्द नगरपालिका–२, देहिमाडौँका कृष्ण लावडको पनि बस्ने घर छैन। 

२०७३ सालमा घरमा चट्याङ लागेपछि उपचारकै क्रममा श्रीमतीको मानसिक अवस्था बिग्रिएपछि लावडसँग अहिले न बस्ने घर छ न त श्रीमतीको उचार गर्ने खर्च नै। पाँच वर्षअघि जनता आवासको घर बनाइदिने भनेर जितेर गएका उम्मेदवार अहिले पनि जनता आवासको घरको नारा लिएर गाउँमा भोट माग्न आएको उहाँले बताउनुभयो।  

सरकारले पटकपटक सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि आयोग गठन गरे पनि घर र आवास नपाएको अधिकांश सुकुम्बासीले गुनासो गरेका छन्। 

ओत लाग्ने घर र दसनङ्ग्रा खियाएर खाने सानो बारीसम्म नभएका हलिया र सुकुम्बासीले यो निर्वाचनमा पनि आफ्ना कुरा सुन्ने र काम गर्ने उम्मेदवारलाई भोट दिने मुक्तहलिया समाजका राजुराम भुलले बताउनुभयो। बैतडीमा करिब दुई हजार हलियासँग बस्ने घर नभएको उहाँले बताउनुभयो। 

बस्ने घर नहुनेलाई नेपाल सरकारले सहरी विकास तथा भवन डिभिजन कार्यालयबाट स्थानीय तहको सिफारिस र प्रदेश सभाका सदस्यको रोहवरमा जनता आवासका घर वितरण हुने भए पनि नेताको पहुँचका आधारमा कार्यकर्तालाई जनता आवासको घर पाउने गरेको आवासविहीन आनन्द गहतराजले गुनासो गर्नुभयो। 

१० वर्षदेखि जनता आवासको घरका लागि निवेदन दिए पनि आफ्नो नाम जनता आवासको घर पाउने सूचीमा नपरेको उहाँले बताउनुभयो।