दरबन्दी अनुसार कर्मचारी पदपुर्ती नहुँदा काम गर्न असहज

दरबन्दी अनुसार कर्मचारी पदपुर्ती नहुँदा काम गर्न असहज

धनगढीः सात नम्बर प्रदेशमा दरबन्दी अनुसार पदपुर्ती नहुँदा प्रदेश सरकारलाई काम गर्न असहज बनेको छ। 
दरबन्दी अनुसार कमचारीहरुको पद पूर्ति नहुँदा प्रदेश सरकारले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न नसकेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। 

नयाँ दरबन्दी अनुसार प्रदेश ७ मा ४६४ जना कर्मचारीको दरबन्दी रहेको छ। यो प्रदेश सरकारका ११ ओटा मूल कार्यालय, मन्त्रालय र सचिवालयको लागि स्वीकृत दरबन्दी हो। जसमा केन्द्र सरकारले हालसम्म २०५ जना कर्मचारी मात्र खटाएको छ। 

यसरी खटाएका मध्ये ६ जना कर्मचारी प्रदेश ७ का कार्यालयमा अझै हाजिर नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विशन सिंह थापाले बताए। प्रदेश ७ का मूल कार्यालय र मन्त्रालयलाई अहिले १९९ जना कर्मचारीले चलाई रहेका छन्। केन्द्र सरकारले अझै दरबन्दी अनुसार २७७ जना कर्मचारी खटाउनै बाकिँ छ। 

उनले यसमा पनि केही थपघट हुनसक्ने सम्भावना रहेको जानकारी दिए। 'केही कार्यालय समेत थप्नु पर्ने माग अाएकाे छ,' उनले भने, 'कार्यालय समेत थप गर्नु परे कर्मचारी दरबन्दीमा थपघट हुने सम्भावना छ।' 

प्रदेश सरकारका समस्या बुझ्न र समन्वयका लागि गठित संघीय सरकारको टोलीसँग ७ नम्बर प्रदेश सरकारले दरबन्दी अनुसार कर्मचारीको पदपुर्ती गर्न माग गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन अधिकृत यज्ञप्रसाद भट्टराईले बताए। 

उनले कर्मचारीको अभावमा प्रदेश सरकारको सेवा प्रभाहमा समस्या आएकोले कर्मचारीको पदपुर्ती गर्न आग्रह गरिएको पनि जानकारी दिए। निर्वाचनपछि संघीय संरचनामा सरकार गठन भएको लामो समय भइसक्दा समेत कर्मचारी समायोजन हुन नसकेकोले कर्मचारी अन्यवलता बढेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

कर्मचारी अन्यवलता हटाउन सरकारले कर्मचारी समायोजनको प्रक्रिया सुरु गर्नुपर्ने मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका प्रवक्ता थापाले बताए।