रौतहटमा आगलागी, एकै परिवारका ३ बालबालिकाको मृत्यु

रौतहटमा आगलागी, एकै परिवारका ३ बालबालिकाको मृत्यु

रौतहटमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।  गौर नगरपालिका १ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुन रहेका छन् । घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् ।

प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो । सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो ।

आगलागी भएको सूचना पाए लगतै गौर नगरपालिकाका मेयर शम्भु साह घटनास्थल पुगेका थिए । गौर नगरपालिकाको वारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।