सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाका ३२ मध्ये ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।
अब बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुरामा पनि आज मतदान भइरहेको छ ।
प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा आउन बाँकी रहेपनि ३० निर्वाचन क्षेत्रको नतिजा आइसक्दा नेपाली कांग्रेस ११ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ ।
प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह धामीसहित ११ जना निर्वाचित भएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । माओवादी केन्द्रबाट ८ जनाले जितेका छन् ।
जसमा कैलालीबाट रमेश धामी, डडेल्धुराबाट खगराज भट्ट, डोटीबाट शिवसिंह ओली, कञ्चनपुरबाट ओमविक्रम भाट, बझाङबाट भीम भण्डारी, दार्चुलाबाट मानबहादुर धामी र अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउद विजयी भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा ५ जना निर्वाचित भएका छन् । जसमा कैलालीबाट रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुसीराम चौधरी छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी, प्रकाश रावलसहित दुई जना निर्वाचित भएका छन् ।
यस्तै नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित हुने तीन जनामा वीरबहादुर थापा कञ्चनपुर र सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी छन् ।
डडेलधुराबाट स्वतन्त्र उम्मेदवार तारा जोशी पनि प्रदेशसभामा विजयी भएका छन् ।