सुदूरपश्चिम प्रदेशमामा अठार उम्मेदवारको जमानत जफत

सुदूरपश्चिम प्रदेशमामा अठार उम्मेदवारको जमानत जफत

धनगढी  । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका १८ जना उम्मेदवारले एक सय भोट पनि पु(याउन सकेनन्। खासगरी विभिन्न साना पार्टीका र स्वतन्त्र उम्मेदवारले निर्वाचनमा सय भोट पनि पाउन नसकेका हुन्। 

उनीहरू सबैको जमानत जफत भएको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारीको क्रममा १० हजार रुपियाँ धरौटी राखेका थिए। सो धरौटी जोगाउनका लागि उम्मेदवारले सदर मतको १० प्रतिशत भोट प्राप्त गर्नुपर्ने थियो तर १८ जनाले एक सय पनि भोट कटाउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो। 

निर्वाचन आयोगका अनुसार एक सय भोट पनि पाउन नसक्नेमा कैलालीमा सबैभन्दा बढी सात जना उम्मेदवार रहेका छन्। कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवारी दिनुभएकी नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामीमगर (राना)ले जम्मा ४२ मत प्राप्त गर्नुभएको छ। क्षेत्र नं. ४ बाट उम्मेदवारी दिनुभएका नेपाल मजदुर किसान पार्टीकै सीताराम पण्डितले ६२ मत, नेपाल सङ्घीय समाजवादी पार्टीका भीमबहादुर थापामगरले ६१ मत प्राप्त गर्नुभएको छ। 

जनता प्रगतिशील पार्टीका मोहनदेव मिश्रले ४८, नेपालका लागि नेपाली पार्टीका मानबहादुर चौधरीले ९० मत, राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर शाहीले ५४ मत र लोकतान्त्रिक समाजवादी पार्टीका कमलेशकुमार चौधरीले ४८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ। 

कञ्चनपुरमा नेपाल मजदुर किसान पार्टीका नन्दादेवी जोशीले ९३ मत प्राप्त गरी सय पु(याउन सात मतको कमीले पछाडि रहनुभएको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार हरिनादेवी भट्टले ६७ मत, जनमत पार्टीका प्रेमसिंह बडालले ८७ मत प्राप्त गर्नुभएको छ। सोही जिल्लामै लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारीले ९१ मत प्राप्त गर्नुभएको छ। 

डडेल्धुरामा स्वतन्त्र उम्मेदवार लालबहादुर कठायतले ८५ मत प्राप्त गरेर अन्तिम स्थान प्राप्त गर्नुभयो। त्यस्तै बैतडीमा पनि नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाइँले ९० मत प्राप्त गरेर पुछारमा चित्त बुझाउनुभयो। कैलालीपछि दार्चुलामा सबैभन्दा बढी पाँच जना उम्मेदवारले एक सय मत पु(याउन सकेनन्। सो जिल्लामा नेपाल मजदुर किसान पार्टीका श्रीविश्वराज छलालले ७८ मत प्राप्त गर्नुभयो। 

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशीले ६५ मत प्राप्त गर्नुभयो। कैलालीमा ठूलो शक्ति बनेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशको पहाडी जिल्ला दार्चुलाबाहेक अन्य जिल्लामा उम्मेदवार उठाएको थिएन। यसैगरी दार्चुलामा राप्रपा नेपालका देवबहादुर बमले सबैभन्दा कम १३ मत प्राप्त गर्नुभयो। प्रतिनिधि सभा सदस्यतर्फ यो प्रदेशमा उम्मेदवारले प्राप्त गरेको सबैभन्दा कम मत पनि यही हो। 

सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक बाँकी सबै जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना भइसकेको छ। डोटी र अछाममा भने सबै उम्मेदवारले एक सय भोट कटाएका छन्। प्रदेशभरि एक सय नपाएकासहित धेरैजसो उम्मेदवारको धरौटी जफत भएको छ।