कैलालीमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ करिब १९ हजार मत बदर

कैलालीमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ करिब १९ हजार मत बदर

धनगढी  । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कैलालीमा १८ हजारभन्दा बढी मत बदर भएको छ । गत साता भएको निर्वाचनमा कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा गरेर कुल १८ हजार ९७१ मत बदर भएको हो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा तीन हजार २८६ मत बदर भएको छ । यस्तै, निर्वाचन क्षेत्र २ मा तीन हजार ६६४, क्षेत्र ३ मा चार हजार २१, क्षेत्र ४ मा चार हजार १५३ र निर्वाचन क्षेत्र ५ मा तीन हजार ८४७ मत बदर भएको छ । सबैभन्दा बढी निर्वाचन क्षेत्र ४ मा मत बदर भएको देखिएको छ । यो निर्वाचन क्षेत्रमा मतदातासंख्या पनि बढी छ । 

कैलालीमा पाँच लाख ३५ हजार ५१४ मतदाता छन् । क्षेत्र १ मा एक लाख ६ हजार ७०३ मतदाता रहेकोमा ६४ हजार १६४ मत खसेको थियो । खसेकोमध्ये ६० हजार ८७८ मत सदर भएको थियो । 

यस्तै, क्षेत्र २ मा एक लाख चार हजार ९०६ मतदाता रहेकामा ६० हजार ६२९ मत खसेको थियो । ५६ हजार ९६५ मत सदर भएको थियो । यसैगरी, क्षेत्र ३ मा एक लाख सात हजार ६५९ जना मतदाता छन् । सो निर्वाचन क्षेत्रमा ६३ हजार ७४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ मत सदर भएको थियो । 

निर्वाचन क्षेत्र ४ मा एक लाख १० हजार ४५३ मतदाता रहेकामा ६३ हजार ३८६ मत खसेको थियो । खसेकोमध्ये ५९ हजार २३३ मत सदर भएको थियो । यसैगरी, एक लाख ५७ हजार ७९३ जना मतदाता रहेको क्षेत्र ५ मा ६५ हजार ६१३ मत खसेको थियो । खसेकोमध्ये ६१ हजार ७६६ मत सदर भएको थियो । 

बढीभन्दा बढी मत सदर गर्नका लागि निर्वाचन आयोगले हरेक पालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । यद्यपि, मतदाता शिक्षा पर्याप्त र प्रभावकारी नहुँदा मत बदर भएको टिप्पणी भइरहेको छ ।